दसैं बिदामा बैंकहरुले शाखा नखोल्ने

काठमाडौं । यो वर्ष दसैंको सार्वजनिक बिदामा बैंक नखुल्ने भएका छन् । विगतमा दसैंको सार्वजनिक बिदामा केही सीमित शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आएका बैंकहरुले यो वर्ष भने बिदामा बैंकिङ सेवा प्रदान नगर्ने भएका हुन् ।
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल यो वर्ष दसैं बिदामा बैंकिङ सेवा प्रदान नहुने सम्भावना रहेको बताउँछन् । “कोरोना संक्रमण पछि बढ्दै गएको र बैंकमा ग्राहकको चहलपहल पनि कम हुँदै गएको तथा बैंकहरुको एटीएम पनि चलेको र डिजिटल च्यानल पनि भएकाले खोल्न आवश्यक छैन भन्‍ने कुरा आएको छ,” अध्यक्ष दाहालले भने, “हाम्रा शाखाहरुबाट पनि ग्राहकको भिड कम भएको कुरा आएको छ, एटीएम चलिहाल्छ, डिजिटल च्यानल छँदै छ, २/४ जना ग्राहकका लागि काउन्टर नै किन खोल्नु हामी व्यवस्थापन गर्छौं भन्ने प्रतिक्रिया शाखाबाट आएको छ, त्यसैले यो वर्ष दसैं बिदामा बैंक खोल्न जरुरीजस्तो देखिँदैन ।”
बैंकर्स संघले औपचारिक रुपमा निर्णय नगरे पनि बैंकहरुले यो वर्ष  दसैं बिदामा बैंकिङ काउन्टर नखोल्ने तयारी गरेका छन् । बैंकहरुमा कोभिडको संक्रमण बढेको अवस्थामा यो बिदाले पनि नियन्त्रणमा केही सहज पनि हुने र डिजिटल बैंकिङलाई प्रोत्साहन गरेको अवस्थामा सार्वजनिक बिदामा ठूलो कारोबार नहुने बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्मा बताउँछन् । उनले सानो कारोबार डिजिटल च्यानलबाटै गर्न सकिने अवस्थामा दसैं बिदामा बैंकहरुले काउन्टर नखोल्ने भएको बताए ।
नेपाल राष्ट्र बैंकसँग समन्वयन भइरहेकाले राष्ट्र बैंकको स्वीकृतिपछि संघले जानकारी गराउने पनि शर्माले बताए । बैंकिङ सेवा बन्द गर्दा राष्ट्र बैंकको स्वीकृति आवश्यक पर्ने भएकाले छलफलपछि निर्णय गरिने उनको भनाइ छ । एटीएम र डिजिटल च्यानलबाट कारोबार गर्नसमेत उनले सबैलाई आग्रह गरे ।


तपाइको प्रतिक्रिया दिनुहोस्