एनएमबि बैंकले १०.७५ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्ने

2.1k Shares

काठमाडौं/एनएमबि बैंक लिमिटेडले चैत २१ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १० दशमलव ७५ प्रतिशत ब्याजदर रहेको ‘एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत–२०८९/२०९०’ नामको ऋणपत्र निष्काशन गर्न लागेको हो ।

प्रतिकित्ता रू १ हजार मूल्य अंकित दरको रू.४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र बैंकले निष्काशन गर्न लागेको हो । कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात रू २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिने र बाँकी ४० प्रतिशत अर्थात रू १ अर्ब ६० करोड बराबरको १६ लाख कित्ता सर्वसाधारणमा विक्री गरिने जानकारी बैंकले दिएको छ । 

सर्वसाधारणमा बाँडफाँट गरिने ४० प्रतिशत ऋणपत्रमध्ये ५ प्रतिशत दरको ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएकोमा ४५ हजार कित्ता ऋणपत्र बाँडफाँट गरि सकिएको छ । सामूहिक लगानीकोषमा वितरण हुन नसकेको बाँकी कित्ता ऋणपत्र समेत सर्वसाधारणमा विक्रीमा आउन लागेको हो ।

यो ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्ताका देखि अधिकतम १६ लाख कित्तासम्म माग गर्न सक्नेछन् । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

यो ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई न्यून कर्जा जोखिम रहेको संकेत इक्रा एनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । निश्चित व्याजदर र अवधि तोकेर जारी गरिएको यो ऋणपत्र खरीदकर्ताहरूका लागि तोकिएको ब्याजदर  प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिने बैंकले जानकारी दिएको छ । 

सम्बन्धित समाचार