खेलकुद क्षेत्रमा आफ्नालाई काखा, अरुलाई पाखा लगाउने प्रवृत्ति हटाउनुपर्छ ः बस्याल

मेहनत, लगनशिलता र सहनसिलताले नै मानिसले आफ्नो लक्ष्यमा पुग्न सकिने उदाहरण बनेकी छिन् तेक्वान्दोकी खेलाडी नन्दा बस्याल । 
पछिल्लो समय बस्यालको मेहनत र तेक्वान्दो खेलको तिरन्तरताले राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा मनोनित गरेर उनलाई न्याय भएको र आफू सो पदको लागि सक्षमसमेत भएको बस्याल बताउँछिन् ।  
आजभन्दा करिब ३६ वर्ष अगाडि सुर्खेतको विरेन्द्रनगर—६ मा जन्मिएकी नन्दा बस्यालले बहुप्रतिभावान नारीको रुपमा आफूलाई परिचित गरिसकेकी छिन् । नन्दा खेलकुद, कलाकारितादेखि लिएर समाजसेवामा पनि निरन्तररुपमा लागि रहेकी छिन् । तेक्वान्दोकी फाइड डान नन्दाले आफ्नो जीवनमा धेरै अप्ठ्यारा बाटोहरु पार गर्दै अहिले यो ठाउँमा आउन सफल बनेको बताउँछिन् । 
३०—३५ वर्ष अगाडिको समाज अहिलेको जस्तो थिएन । छोरीलाई खेलकुद, नृत्यलगायत अन्य गतिविधिमा सहभागी हुन चानचुने कुरा थिएन । छोरीलाई खेलकुद, नृत्यलगायत अन्य गतिविधिमा सहभागि हुन प्रोत्साहन गर्नुको सट्टा हतोत्साहित गरिन्थ्यो । छोरी भनेको अर्काको घरमा जानुपर्छ भन्ने हेतुलेमात्र हेर्ने गरिन्थ्यो नन्द बताउँछिन् । 
त्यतिबेलाका अवस्थामा पनि मलाई मेरो हेरेक गतिविधि र मेरा इच्छालाई मार्न अन्य परिवारका सदस्यले अबरोध खडा गरे पनि मेरो इच्छा आकांक्षालाई मर्न नदिन मेरो आमाले हरेक पल साथ दिनुभएकै कारणले पनि म अहिले यो ठाउँसम्म आइपुगेको हुँ, नन्दा बताउँछिन् । नन्दा सानै उमेरदेखि नै खेलकुद, नृत्य, गायनसँगै पढाईलाई पनि सँगै लगेकी नन्दाले तेक्वान्दो खेल खेलेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा देशको नाम चिनाउनसमेत सफल बनेकी छिन् । 
कक्षा ४ मा अध्ययन गर्दादेखि नै तेक्वान्दो खेल्न सुरु गरेकी नन्दाले विद्यालयमा हुने हरेक कार्यक्रममा आफू सहभागी बन्दै आइन् । आफू सहभागी हुने अधिकांश कार्यक्रमहरुमा आफू कहिले दोस्रो हुन नपरेको स्मरण गर्छिन् । यसले आफूलाई खेलकुद र कलाकारिता क्षेत्रमा लाग्न थप प्रेरणा मिलेको नन्दा बताउँछिन् ।
तेक्वान्दो खेल खेल्ने क्रममा काठमाडौंमा आई खेल्दाको अनुभव सुनाउँदै नन्दा भन्छिन्, ‘आफ्नो क्षमता हुँदा हुँदै पनि काठमाडौंमा खेल्दा आफू सधैं पछाडि पर्नुपथ्र्यो, त्यसको कारण भनेको आफूलाई कसैको सहयोग नहुनु । आफ्नो सर्पोटर नहुँदा हरेक खेलहरुमा निर्णायकले जानीजानी आफूलाई हाराउने गर्थे ।’ निर्णायकहरुले आफ्नालाई काखा र अरुलाई पाखा लगाउने प्रवृत्ति निर्णायकहरुले गर्ने गर्थे । त्यस्तो हेपाहा प्रवृत्तिका कारण तेक्वान्दो खेल सुधारका लागि यस्तो प्रवृत्ति जरैबाट उखेल्नुपर्छ भन्ने उद्देश्यका साथ निरन्तर लागि परिन र अहिले निर्णयकको रुपमा आफूलाई उभ्याउन सफल बनेकी छिन् ।
नन्दा पछिल्लो समय राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य बन्नुका साथै तेक्वान्दो संघको महिला विभाग प्रमुख समेत रहेकी छिन् । तेक्वान्दो संघको महिला विभाग प्रमुख भएपछि नन्दाले सबै खेलकुद क्षेत्रका महिला नेतृहरुबीच प्रतियोगितासमेत गराएको बताउँछिन् । 
संघर्षै संघर्षबीच आफ्नो प्रगतिका बाटोहरु बनाउँदै आएकी नन्दाको भावी योजना सामाजिक कार्यमा लागि विगतमा आफूले भोगेका समस्याहरु अरु महिला दिदी बहिनीहरुले भोग्न नपरोस् भन्ने उद्देश्यका साथ काम गर्दै अगाडि बढ्ने रहेको छ । 
सोही उद्देश्यका साथ ‘सिस्टर नेपाल’ नामक एक संस्थामा अध्यक्षको भूमिका निर्वाह गरी कार्य गर्दै आइरहेकी छिन् । सो संस्थाले महिलाहरुलाई सकारात्मक कार्यमा हौसला प्रदान गर्नदेखि विभिन्न महिलासँग सम्बन्धित कार्यक्रमहरु गर्दै आइरहेको छ ।
खेलकुद, सामाजिक कार्यसँगै अब्बल कलाकारको रुपमा पनि नन्दा परिचित भइसकेकी छिन् । कलाकारिता क्षेत्रमा नन्दाले आफ्नो ख्याती कमाइसकेकी छिन् । गायिका, नायिका, नृत्य निर्देशक हुँदै निर्देशकसम्मको परिचय नन्दाले दिइकेकी छिन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्