समग्र स्वास्थ र योग

यस पत्रिकाको नाम जसरी खोजतलास छ, अहिले कोभिड १९ को महामारी भन्ने हल्लामा सबै मानिसले खोजतलास र चिन्तन गर्नु पर्नै महत्वपुर्ण बिषय नै निरोगी आनन्दित भएर बाच्ने बाटो के हो  त ?  शारीरिक समस्या र मानसिक बन्धन बाट मुक्त हुन को लागि अब मानिसले कुन बाटो रोज्ने हो भन्ने विषयमा चिन्तन गर्नुपर्ने भएको छ । त्यसको सहि र उत्तम उपाय ‘योगमार्ग’ नै हो ।

योग शास्त्र मानिसलाई सम्पूर्ण रुपमा निरोगी र आनन्दित राख्ने बाटो देखाउनको लागि आजभन्दा हजारौ वर्षदेखि आविष्कृत विज्ञान हो । महर्षी पतञ्जली यस विज्ञानका आविष्कारकर्ता र प्रस्तोता हुन् । योगशास्त्र अनुसार “योगः चित्त वृत्ति निरोध” हो अर्थात् योगशास्त्र अनुसार चित्त अर्थात् मनमा आउने विकारको नाश हुनु नै योग हो । चित्त वृत्ति निरोध हुनु नै योग हो । वास्तवमा योग दुःख मुक्तिको शास्त्र हो, मोक्षको शास्त्र हो, भ्रम नाश गर्ने शास्त्र हो । योग शास्त्र अनुुसार दुःखको कारण चित्तको वृत्ति हो । संक्षेपमा भन्दा दुःख भन्नाले मन परेको नहुनाले र मन नपरेको हुनाले हुन्छ त्यो दुवै भावको अभाव हुनु नै दःुख बाट मुक्त हुनु हो । मानिस साँच्चिकै निरोगी र आनिन्दत हुन, बन्धनबाट मुक्त भई स्वतन्त्र मानिसको ढाँचा कायम रहनु पर्छ । मानशिक बन्धनबाट मुक्त हुनको लागि योगशास्त्रमा अष्टागयोगको चर्चा गरिएको छ । ती हुन् :

१. यम, २. नियम, ३. आसन, ४. प्राणायाम, ५. प्रत्याहार, ६. धारणा, ७. ध्यान, ८. समाधी

यी मध्ये यम र नियम महत्वपूर्ण छन् ।

यमका पनि ५ वटा अंग छन् । ती हुन्ः

१. अहिंसाः मन, वचन र कर्मबाट कसैको कुभलो नचिताउँने ।

२. सत्यः जे हो त्यो हो र जे होइन त्यो होइन भनेर बुझ्ने ज्ञान सत्य हो ।

३. अस्तेयः चोरी नगर्नु ।

४. ब्रम्हचर्यः आनन्दको लागि यौन संसर्ग नगर्नु ।

५. अपरिग्रहः आवश्यकता भन्दा बढी केही पनि नथुपार्नु ।

नियमका ५ अंगहरु

१. सौचः शारीरिक सफाई र मानसिक सुद्धिकरण ।

२. संतोषः असन्तुष्ट नहुनु ।

३. तपः गर्नुपर्ने काम टुङ्गोमा पुग्ने गरी निरन्तर रुपमा गर्नु ।

४. स्वाध्यायः स्वःअध्ययन गर्नु ।

५. ईश्वर प्रनिधानः क्लेश, कर्म, विपाक र आषयबाट मुक्त भई ईश्वरले जस्तै कर्म गर्नु ।

यम, नियमको सही पालना नगरिकन आसन र प्राणायामले मात्र योग सिद्ध हुन सक्दैन ।  यम, नियमको अंगहरुलाई व्यावहारमा पालना गरेपछि इन्द्रियहरु बसमा भई प्रत्याहार सिद्ध हुन्छ  र त्यसपछि मात्र धारणा, ध्यान, समाधिसम्म पुग्न सकिन्छ ।

यी ८ मध्ये ६ वटा साधनहरु प्रत्यक्ष मनलाई बन्धन मुक्त गर्ने उपायसँग सम्बन्धित छन् भने २ वटा आसन र प्राणायामले शरीरलाई प्रशिक्षित गर्दै मनलाई पनि ठेगान लगाउने साधन हुन् ।

श्रीमद्भागवत गीतामा “योगः कर्मशु कौशलम्” भनिएको छ । हरेक कर्मलाई कुसलता पूर्वक गर्नु नै योग हो । गीतामा योगलाई ३ भागमा विभाजन गरी बुझिन्छ । जसमा १. ज्ञान योगः सत्य कुरा जान्नु, २. भक्ती योगः जानेको सत्यप्रति अटल र इमान्दार रहनु र ३. कर्म योगः जानेको सत्यप्रति अटल रहनु कर्म योग हो । जानेको सत्य प्रति अटल रहेर कर्म गर्नु नै समग्र योग हो । यी मध्ये कुनै एक खण्ड मात्रको रुप योग हुन सक्दैन ।

अष्टाङ्ग योग र गीता योग दुबैको उद्देश्य हानोपाय शास्त्र (दुःख निवारण शास्त्र) हो, मोक्ष शास्त्र हो । मोक्षको लागि आहार विहार बिचार सम्बन्धी सत्य ज्ञान हुनुपर्छ । आहार विहार विचार सम्बन्धी सत्य ज्ञानयोग भएपछि त्यसमा अटल रहेर भक्ती योग गर्दै आहार विहार र विचारलाई कर्ममा उतार्नु पर्छ । त्यस अवस्थामा मात्र मोक्ष सिद्ध हुन्छ, निरोग आनन्दको अवस्था कायम हुन्छ ।

यस प्रकार अष्टाङ्ग योगले विहार र विचारलाई उचित गराउने योगदान गर्दागर्दै पनि मानविय स्वास्थ्यको प्रमूख आधार आहारको बारेमा चर्चा त्यति नगरेको कारणले अहिले योगको नाउँमा जोगी भएर आठ ठाउँमा शरीर बङ्गाएर, उल्टोपाल्टो आसन गरेर भाङ गाजा खाएर योगासन गरेर ”योग“ गरिरहेका मान्छेहरु भेटिनु योगको नाममा विकृति नै हुन् । योगले व्यक्ति र समाजलाई व्यबहारिक रुपले माथि उठाउनु पर्छ । तसर्थ योगको विकृतिबाट मुक्त हुनको लागि योगमा उचित आहार, विहार र विचारबारे चर्चा गरेर त्यसलाई व्यबहारमा उतार्ने काम हरेक योगीले गर्नुपर्छ । उचित आहार विना व्यायाम र ध्यानले मात्र मानिसको शारीरिक र मानसिक स्वास्थ्य ठिक गर्न सम्भव छैन, दुःख मुक्तिको लागि संभव छैन । त्यसैले योगलाई आसन र प्राणायामको रुपमा मात्र नबुझी उचित आहार विहार र विचारको संयोजन हो भनी बुझ्नु पर्छ ।

आहार कस्तो हुनुपर्छ

हामीले खाने आहार सुपाच्य, रेशादार, छोका्रबोक्रा सहितको प्राकृतिक आहार हुनुपर्छ । जसमा हरिया ताजा तरकारी, फलफुल अंकुरित अन्न सहितको शाकाहारी आहार नै मानवको उचित आहार हो । यो कुरा मानिसले आफ्नो शरीरलाई मापदण्ड बनाएर के खाँदा शरीरलाई ठिक र के खाँदा शरीरलाई बेठिक भन्ने कुरा बुझ्न सक्छ ।

यसै अनुरुप उचित आहार विहार विचारको ज्ञान दिँदै समग्र मानिसलाई निरोगी र आनन्दित पु¥याने उद्देश्यले सुमेरु योग व्यायाम शालाको स्थापना २०६४ सालमा भएको हो । प्रकृति प्रेमी समूहद्वारा संचालित यस सुमेरु व्यायामशालाले हजारौं मानिसलाई रोग र दुःखबाट मुक्त हुने काम गरिरहेको छ र यसै अनुरुप विहान योग व्यायाम पनि संचालन भइरहेको छ ।

अहिले कोभिड १९ महामरीको भनेर जुन अवस्था भइरहेको छ यस्तोमा आर्थिक संंकट र मानसिक रुपमा डर र त्रासको अवस्था छ । यस्तो बेलामा भाइरससँग लड्न पनि शरीरको रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्न पनि योग र उचित आहारको महत्व उत्तिकै छ । अहिले भर्खरै लकडाउन आंशिक रुपमा खुलेको छ । अब के होला भन्ने चिन्ता अधिकांशमा मानसिक अशान्तिको रुपमा आउने र आत्महत्याको घटनाहरु बढीरहेको बेलामा आफुलाई शारीरिक रुपमा लचिलो, दरिलो बनाउँन र मानसिक रुपमा शान्त, स्थिर, संयमित र धैर्यवान बनाउँन योगसँगै उचित आहार, विहार र विचारको महत्व पनि धेरै छ । यसको लागि सुमेरु योग व्यायामशालाले आफ्ना सदस्यहरुलाई आफ्नो स्वास्थ्य आफ्नै हातमा कसरी लिने, आफ््नो स्वस्थ्यको जिम्मेवारी आफै कसरी लिने  भन्ने कुराको सही सल्लाह दिँदै आएको छ साथै शारीरिक र मानसिक दुबै रुपमा सबल र सक्षम हुने प्रेरणा पनि दिँदै आएको छ ।

(डंगोल योग तथा उचित आहार विहार विचार प्रशिक्षक हुनुहुन्छ)


तपाइको प्रतिक्रिया दिनुहोस्