विद्यालय खुल्ने सूचना पाएर विद्यार्थीहरू हर्सोल्लास र फुरुङ्ग भएका छन् । भौतिकरूपमा कक्षा कोठामा उपस्थित भएर, साथीहरूसँगै बसेर अनि शिक्षकहरूसँग प्रत्यक्ष कक्षा लिन पाउने आशामा उमङ्गित उनीहरू वर्ष दिनअघि थन्क्याएका आफ्ना विद्यालय पोसाक झिकेर नापिरहेका छन् । बिर्सिसकेका जुत्ता खोजेर खुट्टा घुसार्दै ठिक्क हुन्छन् कि साँघुरा भए भनेर जाँच्नमा व्यस्त देखिएका छन् । कतिपयलाई आफ्ना पोसाक र जुत्ता साना भएकाले नयाँ तयार गर्ने चटारो छ । विद्यालय जान आवश्यक पर्ने सबै सामग्री खोज्ने, जतनसाथ राख्ने गर्दै उनीहरू अबको विद्यालय खुल्ने दिन पर्खेर बसेका छन् ।
बालबालिको विद्यालय, लगभग एक वर्षदेखि भेट नभएका साथी अनि उनीहरूसँगको रमाइलो हाँसखेल सम्झेर कतिबेला विद्यालय पुगँु भन्दै हतारिइरहेका होलान् । यसैगरी अभिभावक पनि चिसो कोठामा दिनभर बसेर मोबाइल र ल्यापटपमा घोत्लिइरहेका छोराछोरीले त्यसबाट छुटकारा पाएर घाम ताप्दै खुला परिवेशमा किताब पढ्न पाउने भए भन्दै मख्ख भइरहेका छन् । दुवैथरीको उत्सुकता र उमङ्ग अस्वाभाविक छैन । किनभने कोरोना महामारीका कारण शैक्षिक गतिविधि अन्योलग्रस्त थियो । केही बालबालिकाले अनलाइन कक्षाको अवसर प्राप्त गरे पनि कतिपय भने त्यसबाट वञ्चित थिए । त्यसैले विद्यालय खुल्ने निर्णयलाई सकारात्मक सङ्केतका रूपमा लिइएको हुनुपर्छ ।
यो सकारात्मक सङ्केतभित्रका गहन चुनौतीलाई सायद हामीले बिर्सेका छौँ । विद्यालय अत्यन्त संवेदनशील क्षेत्र हो । यहाँ सामान्य लापरबाही भयो भने असंख्य बालबालिकामा नकरात्मक असर पर्छ । विद्यालयले भौतिकरूपमा कक्षा सञ्चालनका लागि सूचना सम्प्रेषित गर्दा मख्ख परेका हामी अभिभावक आफ्ना नानीहरूका विद्यालय पुगेर त्यहाँ कक्षा सञ्चालनका लागि केकस्तो सुरक्षा व्यवस्था गरेको छ त्यसको अनुगमन गरेका छौँ कि छैनौँ ? अहिले पहिलाकै अवस्थामा कक्षा सञ्चालन गरिनु जोखिमपूर्ण हुन्छ । विद्यालय प्रशासनले दाबा गरेजस्तो भौतिक दूरी कायम गर्नु त्यति सजिलो पक्कै छैन । सिट क्षमताभन्दा निकै बढी संख्यामा विद्यार्थी चढाएर लैजाने स्कुल बसहरूको व्यवस्थापन कसरी गरिँदैछ ? पहिलो जिज्ञासा यहीँबाट आरम्भ हुनुपर्छ ।
विद्यालय परिसरमा प्रवेश गर्नासाथ विद्यार्थीहरूबीच भौतिक दूरी कायम गर्न विद्यालयले केकति जनशक्तिको व्यवस्था गरेको छ ? साबिकको जनशक्ति हालको अवस्थामा पर्याप्त हुन सक्दैन । कक्षा कोठामा विद्यार्थीहरूबीच भौतिक दूरी कसरी कायम गरिँदैछ ? केहीबाहेक अधिकांश निजी विद्यालयहरूले स—साना कोठामा टनाटन विद्यार्थी राखेर पढाउने गरेकोमा अतिरिक्त कक्षाकोठा र सोहीअनुसार शिक्षकहरूको व्यवस्था गर्नु पनि तिनका लागि त्यति सहज देखिँदैन । यसैगरी शौचालय तथा धारा, पानीको व्यवस्था कसरी गरिएको छ ? विद्यार्थीहरूबीच भौतिक दूरी बनाउन सर्वाधिक कठिनाइ शौचालय तथा धारा पानीको प्रयोगमा नै देखिनेछ । किनभने छोटो समयको विश्राममा उनीहरूले यसको प्रयोग गरिसक्नुपर्ने हुन्छ । सदाझैँ ठेलमठेल गर्दै जाने उनीहरूलाई नियन्त्रण कसले गर्ने ? त्यसपछिको समस्या चमेनागृह र खेलमैदानमा देखिनेछ । अधिकांश विद्यालयहरूमा खुला चौर तथा व्यवस्थित चमेनागृह छैन । विद्यार्थीहरूले खाजा कहाँ र कसरी खान्छन् सोको निरीक्षणका लागि पनि अतिरिक्त जनशक्तिकै आवश्यकता पर्नेछ ।
यतिबेला विद्यालय खोल्ने निर्णयलाई एउटा प्रयोगका रूपमा लिइँदैछ । विद्यालय खोल्ने र कुनै कठिनाइ आएमा वा बालबालिका संक्रमित भएमा पुनः बन्द गर्ने ! तर, मननीय के छ भने – विद्यालय प्रयोगशाला होइनन् । एउटा विद्यालयमा असंख्य बालबालिका हुने हुँदा एकदुई जना संक्रमित भए पनि विद्यालयलाई खासै असर नपर्ला । तर, अभिभावकका लागि त तिनै एकदुई बालबालिका नै सम्पूर्ण हुन् ! उनीहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्न गयो भने त्यसको जिम्मेवारी वा उपचारको व्यवस्था कसले गर्ने ? के यससम्बन्धमा विद्यालय प्रशासन र अभिभावकहरूबीच समझदारी भएको छ ? आज एउटा प्रयोग गर्ने नतिजा सोचेजस्तो नआए भोलि अर्को प्रयोग गर्दै जाने प्रयोगशालाका रूपमा विद्यालयलाई हेरिनुले महामारीको जोखिम नियन्त्रित भइनसकेको अवस्थामा थप जोखिम निम्त्याउन सक्छ ।
महामारी नियन्त्रणको अनिश्चितताका कारण ढिलोचाँडो शैक्षिक क्षेत्र सुचारु त गर्नैपर्ने हुन्छ । त्यसैले तत्कालका लागि विश्वविद्यालय, कलेज तथा एघार–बाह्र कक्षाहरू सञ्चालन गर्दै गएर फागुनको अन्तिम साताबाट माथिल्ला कक्षाहरूबाट विद्यालय सञ्चालन गरिँदै जानु प्रभावकारी हुनेथियो । अहिलेको चिसो, दिन तथा साँझ–बिहान देखिएको असन्तुलित तापक्रम स्वास्थ्यका दृष्टिले प्रतिकूल मानिन्छ । बालबालिका विद्यालयबाट फर्केपछि नुहाउनेधुने कार्य पनि हाल सहज देखिँदैन । संक्रमणबाट जोगिनका लागि गर्नुपर्ने सरसफाइ प्रभावकारी बनाउन पनि कठिन देखिन्छ । यसप्रकारका जटिलताहरूप्रति आँखा चिम्लेर सरकारले कर उठाउन, विद्यालयले शुल्क उठाउन तथा केही अभिभावकहरूले आफ्ना बालबालिकालाई नियन्त्रण गर्न नसकेका कारण तत्कालै विद्यालय खोल्न गरिएको निर्णय व्यावहारिक देखिँदैन । आवश्यक सम्पूर्ण तयारीबिना विद्यालय सञ्चालन गरिनु बालबालिकाहरूको स्वास्थ्यमाथि प्रयोग गर्नका लागि विद्यालयलाई प्रयोगशाला बनाइनु हो । समयमै सम्बन्धित निकायको बुद्धि फिरोस् ।
तपाइको प्रतिक्रिया दिनुहोस्