काठमाडौं । मुलुकका विभिन्न स्थानहरुमामा डायलासिस सेवा उपलब्ध गराउँदै आएको हेल्थ केयर फाउन्डेसनले लुम्बिनीमा पनि आज बिहीबारदेखि डायलासिस सेवा संचालन भएको छ ।
लुम्बिनीको इन्टरनेशनल बुद्धिष्ट फाउण्डेशनको भवनमा राष्ट्रिय मृगौला उपचार केन्द्रले डायलासिस सेवा विस्तार गरेको हो । सो डायलासिस सेवाका लागि चुजि फाउन्डेशन मलेसियाले चाहिने सम्पूर्ण उपकरणहरु उपलब्ध गराएको छ ।
हेल्थ केयर फाउन्डेसनद्वारा संचालित राष्ट्रिय मृगौला उपचार केन्द्र बनस्थलीमा ४२ मेशिनबाट डायलासिस सेवा संचालन गर्दै आइरहेको छ भने धापाखेलस्थित सुमेरु अस्पतालमा १५ वटा मेसिनबाट डायलासिस सेवा उपलब्ध हुँदै आइरहेको छ । त्यस्तै, हेल्थ केयर फाउन्डेसनद्वारा राजधानी बाहिरका जिल्लाहरुमा तनहुँ जिल्ला अस्पतालमा ९ वटा, रत्ननगर अस्पताल चितवनमा ६ वटा, गोल्छा आँखा अस्पताल विराटनगरमा ६ वटा, तामाकोशी अस्पताल मन्थलीमा ५ वटा मेशिनबाट डायलासिस सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
आज बिहीबारबाट थप सेवा लुम्बिनीको इन्टरनेशनल बुद्धिष्ट फाउन्डेशनको भवनमा ६ वटा मेशिनबाट डायलासिस सेवा उपलब्ध गराइने भएको छ । आज बिहीबार र शुक्रबार डायलासिस सेवा निःशुल्करुपमा गरिने भएको छ । यो भेगमा भएका डायलासिस चाहिने मृगौला रोगीहरुले सेवा उपलब्ध गर्न अन्य ठाउँमा जानु नपर्ने भएको छ । अन्तर्राष्ट्रिय सहयोग पाएर यस भेगका स्थानीय नर्सिङ स्टाफहरुलाई नै विशेष तालिम दिएर यो सेवा निरन्तर संचालन गरिने छ भने यो भेगमा डायलासिस सेवा संचालन भएपछि मृगौला बचाउ अभियानको विभिन्न कार्यक्रम संचालन गरिने हेल्थ केयर फाउन्डेसनका अध्यक्ष तथा सुमेरु अस्पतालका वरिष्ठ उपाध्यक्ष ऋषिकुमार काफ्लेले बताउनुभयो । यसै सिलसिलामा हेल्ड केयर पाउन्डेशनका वरिष्ठ उपाध्यक्ष एवम् सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले पनि यो शिविर र डायलासिस सेवामा स्वयम् उपस्थित हुने बताउनुभएको छ ।
मृगौला रोगीले लुम्बिनीमा नै डायलासिस सेवा लिन पाउने भएपछि बुद्धिष्टको केन्द्र बिन्दु भएका कारण मृगौला रोग लागेर डायलासिस गरेका बुद्धिष्टहरुले यो सेवा लिँदै लुम्बिनी भ्रमण गर्न पाउने भएका छन् । अझ लुम्बिनीमा निकट भविष्यमै अन्तर्राष्ट्रिय हवाई सेवा उपलब्ध हुने भएपछि विदेशी मृगौला रोगी बुद्धिष्टहरुले लुम्बिनी भ्रमण गर्दै डायलासिस सेवा लिन पाउने अवसर पाउने भएका छन् ।