बागमती गाउँपालिकाका ६ घर डुबानमा

10.8k Shares

मकवानपुर । मकवानपुरका बागमती गाउँपालिकामा ६ घर डुबानमा परेका छन् । बागमती नदीमा आएको बाढी बस्तीमा पस्दा बागमती गाउँपालिका वडा नम्बर–४ पाँच पाण्डवका ६ घर डुबानमा परेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार रातिबाट परेको अविरल वर्षाका कारण बहाव बढ्दा बागमती नदीको बस्तीमा पसेको छ । प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार डुबानमा परेका घरका मानिस र मालसामान सुरक्षित स्थानमा सार्ने काम भइहरेको छ ।

यता सोमबारदेखि परेको अविरल वर्षका कारण पहिरो खस्दा बागमती–५ सिक्रे दोभानमा एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता छन् । पहिरोका कारण सिक्रे दोभानमा अक्कल बहादुर स्याङ्तानको घर बगाउँदा स्याङ्तानकी श्रीमती ५५ वर्षकी सन्त माया स्याङ्तानको मृत्यु भएको हो ।

पहिरोमा परि वर्ष ६० का स्याङ्तानसहित निजको छोरी वर्ष २२ की शिला पहरी, ज्वाइँ वर्ष २५ को जीवन पहरी, नाति वर्ष ४ को मिलन पहरी, नातिनी डेढ वर्षकी दिव्या पहरी र सिन्धुली हरिहरपुर–१ कोकटी बस्ने वर्ष १७ को पासाङ घिसिङ हराइरहेका छन् । उनीहरूको खोजी कार्य भइरहेको प्रवक्ता कार्कीले बताए ।

अविरल वर्षाको कारण मंगलबार बिहान ४ बजे बागमती–५ सिक्रे दोभानमा भल सहितको पहिरोले स्याङ्तानको घर बगाएको थियो ।

सम्बन्धित समाचार