काठमाडौं । नेपाली कांग्रेसले सरकारले ‘सामाजिक सन्जाल व्यवस्थापन’ का नाममा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न लागेको भन्दै युवाहरुलाई सचेत हुन अपिल गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी यस्तो अपिल गरेका हुन् ।
प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘सरकारले व्यापक विरोधका बाबजुद् ‘सामाजिक सन्जाल व्यवस्थापन निर्देशिका’का नाममा संसद्मा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा ब्युँताउन लागेकोमा नेपाली कांग्रेस गम्भीर आपत्ति प्रकट गर्दछ ।’’
विज्ञप्तिमा सामाजिक सन्जाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा कसैको पनि विमति नरहने भए पनि विद्यमान कानुनभित्रै आवश्यक प्रावधान रहेको र त्यसैबाट नियमन हुन सक्ने उसको भनाइ छ । ‘‘थप व्यवस्था आवश्यक छ भने पनि बृहत्तर विमर्शबेगर, संसद् विघटन भएको समयमा निर्देशिकामार्फत जारी गर्नतर्फ लाग्नुले सरकारको नियतमाथि गम्भीर प्रश्न उब्जिएको छ,’’ विज्ञप्तिमा भनिएको छ, ‘‘कामचलाउ सरकारले नागरिक अधिकारलाई प्रभावित गर्ने गरी कुनै पनि कार्यकारी आदेशबाट निर्देशिकाहरु जारी गर्न हुँदैन, मिल्दैन र पाइँदैन ।’’
कांग्रेसले प्रस्तावित निर्देशिकाको प्रक्रिया अघि नबढाउन सरकारलाई चेतावनी दिँदै त्यो विषय आजको देशव्यापी प्रदर्शनमा समेत उठाउने बताएको छ । ‘‘सामाजिक सन्जालमा व्यक्त मतलाई सरकारी आवेगले कार्बाहीको दायरामा बाँध्ने तयारी अधिनायकवादतर्फको एक अर्को फड्कोको तयारी हो,’’ विज्ञप्तिमा भनिएको छ, ‘‘यसविरुद्ध समयमै सजग बन्न अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबैलाई आग्रह गर्दै नेपाली कांग्रेस सन्जाल प्रयोगकर्ता युवापुस्तालाई विशेष जागरुकताका लागि आह्वानसमेत गर्दछ ।’’