मोरक्कोमा विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या २१०० नाघ्यो

3.2k Shares

मोरक्को, २५ भदौं । छ दशक यताकै सबैभन्दा ठूलो भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार १२२ पुगेको छ ।

अल हाउस प्रान्तमा सबैभन्दा बढी १ हजार २९३ जनाको मृत्यु भएको छ। भूकम्पमा २ हजार ५९ जना घाइते भएका छन् । जसमध्ये १ हजार ४ सय ४ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । 

भूकम्पले ऐतिहासिक सहर माराकेश र आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । भूकम्पबाट अति प्रभावित दुर्गम क्षेत्रमा उद्धार कार्य जारी छ । यस्तो अवस्थामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जनाईएको छ । सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । 

यसैबीच विश्व स्वास्थ्य संगठनले भूकम्पबाट तीन लाख मानिस प्रभावित हुने अनुमान गरेको छ । मोरक्कोमा ६ दशकयताकै सबैभन्दा भीषण भूकम्पपछि जताततै विनाशका संकेतहरू देखिएका छन् । अस्पताल बाहिर शवको थुप्रो छ । 

उता, विनाशकारी भुकम्पबाट बाँचेका मानिसहरू भग्नावशेषमा आफ्ना प्रियजनहरूको जीवन खोजिरहेका छन्। मोरक्को सरकारले सेनाको सहयोगमा पीडितहरूलाई खाना र पेय पदार्थ पुर्‍याउने घोषणा गरेको छ। राजा मोहम्मद चतुर्थको निर्देशनमा सेनाले भग्नावशेषबाट मानिसहरूलाई उद्धार गर्न विशेष खोज अभियान चलाइरहेको छ

मोरक्कोको गृह मन्त्रालयले ग्रामीण क्षेत्रका माटोका घरहरू पूर्ण रूपमा ध्वस्त भएको बताएको छ। भग्नावशेषका कारण साँघुरो सडकहरु बन्द भएका छन् । अस्पतालबाहिर करिब १० जनाको शव छरिएको छ र आफन्तहरू अन्तिम संस्कारको लागि पर्खिरहेका छन् । 

स्मरण रहोस गत शुक्रबार राति यस उत्तर अफ्रिकी देशमा ६.८ रेक्टर स्केलको भूकम्प गएको थियो । यस भूकम्पमा हालसम्म दुई हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार सन् १९६० मा देशमा गएको शक्तिशाली भूकम्पमा १२ हजार मानिसको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार