‘क्रोधको अर्थ अरुको गल्तीको सजाय आफूलाई दिनु हो’

क्रोध भयको विक्षिप्त रुप हो । क्रोधलाई रिसको रुपमा पनि बुझ्ने गरिन्छ । क्रोध यस्तो आवेग हो, जसले भित्रभित्र जलाई आफैलाई नष्ट गरिदिन्छ । क्रोध यस्तो अग्नि हो जसले क्षणभरमै जीवन खरानी बनाउँछ । चाणक्य भन्नुहुन्छ ‘क्रोधजस्तो तेज कुनै अग्नि छैन’ । धेरै क्रोधले मानिस विवेकहिन हुन्छ, अपराधी बन्छ, वास्तवमा असुर बन्छ । विद्वानहरु भन्नुहुन्छ ‘क्रोध हावाको त्यो वेग हो, जसले ज्ञानको ज्योतिलाई निभाईदिन्छ’ । क्रोधको अग्निमा डुबेको बेला आमाबुबा, छोरोछोरी, पतिपत्नी, भाई बहिनी, साथीभाई सबैको नाता पनि स्मरण हुँदेन, कुनै क्षतिको पनि मतलव हुँदेन । मानिस सबैभन्दा आक्रमक बन्छ । क्रोधको तरङ्गमा बग्ने मानिस कहिलेकहिले आफ्नै मातापितामाथि हातपात गर्न पछि पर्दैन । मानिसमा जब क्रोधका अग्नि शान्त हुन्छ, त्यसबेला उसमा पश्चाताप हुन्छ । क्रोधको ज्वालामा मानवता, नैतिकता, धर्म, संस्कार जलेर खरानी हुन्छ । क्रोधले आफ्नो, पराई कोही पनि शेष राख्दैन । त्यसैले भनिन्छ, ‘मानवको सबभन्दा ठूलो शत्रु नै क्रोध हो । विश्लेषकहरु भन्छन्, ‘असफलता र गुम्नुको परिणामको आवेग क्रोध हो’ । क्रोध आफै उत्पन्न हुने आवेग होइन । क्रोध मानिस आफैले उत्पन्न गर्ने व्यवहार हो । यो कुरामा विश्वास गर्न पक्कै गाह्रो होला । हामी भन्छौं ‘रिस आफै आउँछ र काबुमा राख्न निकै मुश्किल हुन्छ ।’ तर त्यसो होइन । मानिसले क्रोधलाई दुई अवस्थामा प्रस्तुत गर्छन् । पहिलो भय र अर्को निर्मयमा अथवा डर र निडरमा । सामान्य अवस्थामा मानिस क्रोधित हुँदैन । जब मानिसमा डरको अनुभूति हुन्छ, तब मानिस आक्रामक हुन्छ । मानिस डरबाट सुरक्षा खोज्छन्, डरको अन्त चाहन्छन् । डरको अन्तको लागि जस्तोसुकै हर्कत गर्न पनि तयार हुन्छन् । जस्तो कि भययुक्त बिरालो होस् या बाघ या सर्प उतिकै क्रोधित हुन्छन्, आक्रमक हुन्छन् । प्राणीलाई जसबाट अप्ठ्यारो महसुस हुन्छ, जसबाट नोक्सान हुने सम्भावना देख्दछ, त्यसबाट सुरक्षित हुनको लागि, आफूबाट टाढा भगाउनको लागि क्रोध प्रस्तुत गर्छन् । मानिसले भयलाई कमजोर बनाउन, दबाउन, शत्रुलाई गलत र आफूलाई राम्रो सावित गर्न, आफ्नो अपराध लुकाउन क्रोध प्रकट गर्छन् । यदि क्रोध आफै उत्पन्न हुने भए एकै समयमा एउटै स्थानमा एक जनासँग क्रोधित हुँदा अर्कोसँग शान्त हुन सक्दैन । यसले के प्रष्ट हुन्छ भने क्रोध नियोजित आवेग हो, आफै उत्पन्न हुने आवेग होइन । क्रोधको अर्को कारण आँट हो । जो आफूभन्दा कमजोर छ, जसलाई दपेट्न आँट हुन्छ, जसबाट नोक्सान हुँदैन भन्ने महशुस हुन्छ, मानिसले उसमाथि सजिलै क्रोध प्रस्तुत गर्छ । मानिस घरबाहिर आफूभन्दा बलियो, आफूभन्दा शक्तिशाली कसैले गरेको अपमान, गाली, बेईज्जतमा क्रोध प्रस्तुत गर्न आँट नगरी सहेर घर आएर पत्नी, छोराछोरी, परिवारमाथि क्रोध प्रस्तुत गर्छन् । कार्यालयमा गल्तीबिना नै हाकिमको क्रोध सहन्छन् तर आफूभन्दा तल्लो कर्मचारीमाथि क्रोध प्रस्तुत गर्छन्, यसको कारण नोक्सान हो । शक्तिशालीसँग क्रोधित हुँदा तत्काल आफ्नो नोक्सान हुने सम्भावना हुन्छ, त्यसैले क्रोध प्रस्तुत गर्दैनन् तर पत्नी, छोराछोरी, आमाबुबा, आफूभन्दा तल्लो कर्मचारीबाट तत्काल नोक्सान हुने सम्भावना नभएकै कारण क्रोध प्रस्तुत गर्छन् । यी कुराहरुले क्रोध मानिसले आफैले उत्पन्न गर्ने आवेग मात्र हो भन्ने कुरा प्रमाणित हुन्छ । यदि त्यसो होइन भने क्रोध जुनसुकै अवस्थामा जोसँग पनि प्रस्तुत हुनुपर्ने हो तर हुँदैन । त्यसैले क्रोध मानिसले आफ्नो अनुकुलता खोज्ने नियोजित हतियार हो भन्दा फरक नपर्ला । क्रोधलाई नियन्त्रण गर्न सकिन्छ र जरुरी पनि छ ।
साना नानीहरु पनि आफूलाई अप्ठ्यारो महसुस हुँदा, आफूलाई हानी नोक्सानी हुने सम्भावनाको अनुभूति हुँदा त्यसबाट बच्नको लागि रोई चिच्याई क्रोध प्रस्तुत गर्छन् । कोही आँखा जुधाएर प्रतिद्वन्द्वीलाई कमजोर बनाउने प्रयासस्वरुप क्रोधित हुन्छन् । किशोरावस्थाका छोराछोरीहरु परिवारसँग नबोल्ने, खाना नखाने, एकान्त बसेर क्रोध देखाएर आमाबुबाप्रतिको असन्तोष व्यक्त गर्छन् या आफ्नो इच्छा पूरा गर्न प्रयास गर्छन् । कोही सामान बिगारेर, फुटाएर, फालेर, आफ्नै टाउको ठोकेर, भित्तामा हानेर, सिसा फुटाएर रिस प्रकट गर्छन्, कोही आक्रमक भएरै रिस प्रस्तुत गर्छन् । क्रोधले आफ्नो नोक्सान पु¥याउने भएकोले धेरै व्यक्ति क्रोधपछि पश्चाताप गर्छन् । अहंकारीले मनमनै गल्ती महसुस गरे तापनि खुलेर स्वीकार गर्ने हिम्मत चाहिँ गर्दैनन् । 
क्रोधको जननी इच्छा हो, कामना हो, भय हो । जब मानिसको इच्छामा बाधा पुग्छ, जब मानिसको कामना असफल हुन्छ, जब मानिसको आशक्ति अधुरो हुन्छ, त्यसबेला मानिसमा भय उत्पन्न हुन्छ । जब भय सामुन्ने हुन्छ, तब मानिस क्रोधित हुन्छन् । छोरोछोरीले आफ्नो आदेशलाई बारम्बार मतलव गरेन भने क्रोध उन्पन्न हुन्छ ।  पति या पत्नी आफ्नो अनुकुल भएन भने क्रोध उत्पन्न हुन्छ । प्रेमी प्रेमिकाले विश्वासघात ग¥यो भने क्रोध उत्पन्न हुन्छ । हातैको गाँस गुम्यो भने क्रोध उत्पन्न हुन्छ । यी सबै आशक्ति हुन् । यी सब आशक्तिका कारण मानिसले क्रोध प्रस्तुत गर्छन् । आमाबुबाले छोराछोरीलाई तह लगाउन भनेर क्रोधको सहायता लिन्छन् । उनीहरुले धोका दिनेलाई किनारा लगाउन पनि क्रोध नै प्रस्तुत गर्छन् । उनीहरु बाधा उत्पन्न गर्नेलाई क्रोधकै सहाराले पन्छाउने प्रयास गर्छन् । तर विद्वानहरु भन्छन् ‘यो भ्रम हो । क्रोध समस्याको समाधान होइन, बल्कि क्रोध आफैमा ठूलो समस्या हो । मानिसले क्रोधलाई अरुकै कारण, अरुकै लागि भनेर प्रस्तुत गर्छन् तर आफू जल्छन् । त्यसैले विद्वानहरु भन्छन् ‘क्रोधको अर्थ अरुको गल्तीको सजाय आफूलाई दिनु हो’ । मानिसले जबसम्म इच्छा, आकांक्षा, आशा त्याग्न सक्दैन, तबसम्म क्रोधबाट मुक्ति सम्भव छैन । हिंसा, ईष्र्या, अहंकार, घृणा, षड्यन्त्र जस्ता विकारहरु क्रोधकै कारण उत्पन्न हुन्छन् । जसले मानिसलाई पतन गराउँछ, पलभरमै जीवन खरानी बनाउँछ । सबै ध्वस्त पारिदिन्छ । अन्ततः जीवनको दुःखद अन्त हुन्छ । अतः क्रोध दुःखको कारण हो ।
एउटा प्रसङ्ग छ । वडा दशैंका महाअष्टमीको दिन बिहानै घरघरमा खसी काट्ने हिन्दू चलन अनुसार खड्गबहादुरको घरमा पनि यसपालि खसी काट्ने सुरसार भयो । खड्गबहादुरको पत्नी आँगनकै छेउतिर पानी तताउने तरखरमा थिइन् भनेतीन वर्ष र पाँच वर्षका दुईटा छोराहरु रहरले हेरिरहेका थिए । खड्गबहादुरले छिमेकीको सहयोगमा घरकै खुकुरीले खसी ढालेछन् । खड्गबहादुरको परिवारमा यसपालिको दशैं रमाईलोसँगै बित्यो । दशैं सकेपछि खड्गबहादुर सधैैजस्तो आफ्नो काममा हिँड्न थाले भने खड्गबहादुरको पत्नी पनि खेतबारीको काममा लाग्न थालिन् । एकदिन खड्गबहादुर काममा निस्केपछि खड्गबहादुरको पत्नी घरभन्दा अलि परको इनारमा लुगा धुन गईन् । घरमा दुई दाजुभाई खेल्दै थिए । खेल्दाखेल्दै दाजु चाहिँले दशैंमा बाबाले खसि काटेको खुकुरी भेटाएछ र भाईलाई खसी बनाएर काटेछ । भाई रगताम्य भई छट्पटिएको देखेर चिच्याउन थाले । छोरा चिच्याएको सुनेर आँत्तिएर आमा दौडेर घरमा आएर हेर्दा कान्छो छोरालाई जेठो छोराले खुकुरीले काटेको देखेपछि क्रोधित आमाले नजिकैको चिरपटले जेठो छोरालाई हानिन् । चिरपटले टाउकोमा लागेपछि तत्कालै जेठो छोरा नि ढल्यो । दुईटै छोराहरुको मृत्युको आवेगले विक्षिप्त बनेकी आमाले दुईटै छोराहरुलाई बोकेर इनारमा हाम्फालेर आत्महत्या गरिन् । बेलुकी खड्गबहादुर कामबाट घरमा पुग्दा रगतै रगत देखेपछि उसको होसहवास गुम्यो । खड्गबहादुरलाई घटनाको कुनै जानकारी थिएन । उनी रुँदै, चिच्याउँदै रगतको छिटा हेर्दै गए । खड्गबहादुर इनारमा पुगेर हेर्दा सबै परिवारको लाश देखेपछि अस्थिर बनेर घरमा आएर झुण्डिएर आत्महत्या गरे । खुकुरीलाई केटाकेटीले नभेटिने ठाउँमा व्यवस्थापन नगरेको सानो भुलले गर्दा ठूलो अप्रिय घटना घट्न पुग्यो । यो घटना देखेपछि क्रोध अनियन्त्रित हुँदा आमाबाट अर्को गल्ती हुन गयो । उनी गल्तीको पश्चातापमा आत्महत्या गर्न पुगिन् । अकल्पनीय अवस्था देखेपछि खड्गबहादुरले पनि मनको आवेगलाई स्थिर गर्न नसक्दा आफ्नो जीवनलाई समाप्त गर्न पुगे । अन्ततः एउटा सुखी परिवारको दुःखद अन्त भयो । क्रमशः
 


तपाइको प्रतिक्रिया दिनुहोस्