
के देश प्रचण्डले चलाएका छन् ? चलाएका छन् भने उनलाई कालोबजारीले आतंक सृजना गरिरहेको जानकारी हुनपर्ने हो । देश उनले चलाएका हुन् भने एनसेल माफियाले अरबौंको कर छली गरेको सूचना अजियाटाले ८० प्रतिशत शेयर विक्री गर्नुपूर्व नै जानकारी हुनुपर्ने हो । राज्यको जासुसी संयन्त्र नै उनको मातहतमा थियो भने यति ठूलो घटना पहिल्यै नै थाहाहुनुपर्ने हो । अर्थमन्त्री डा. प्रकाशरण महतले त एनसेल विक्रीबारे जानकारी नै नभएको अभिव्यक्ति दिएका थिए । योभन्दा गैर जिम्मेवार अरु के हुनसक्छ । देश यसकारण प्रचण्डको हातमा छैन । त्यसो हो भने कस्को हातमा छ ? देश माफिया र कालोबजारी गर्नेहरुको हातमा छ । उनीहरु नै कर्मचारीतन्त्र र अदालतसम्म प्रभाव पारेर देशमा आर्थिक आतंक सृजना गरिरहेका छन् ।
लाखौंलाई रोजगारी दिने सहकारीहरु योजनावद्ध तरिकाले डुबाइएका छन् । देशमा ३० हजारभन्दा बढी सहकारीमध्ये आधाभन्दा बढी संकटमा पुगेका छन् । अधिकांशले कर्मचारी घटाएका छन् । लाखौंलाई रोजगारी दिएका सहकारी डुबाउने आर्थिक नीति नै मुख्य कारण देखिएको छ । स्वास्थ्य सेवामा भ्रम फैलाएर सस्ता नारा उठाउने डा. गोविन्द केसीले आतंक नै सृजना गरिदिए । उनको लहलहैमा केही नेताहरु लाग्दा देशमा चिकित्सा क्षेत्रका शैक्षिक संस्थाहरु बन्द भए । हजारौंले रोजगारी गुमाए भने विद्यार्थीहरु धमाधम विदेशिए । देशको अरबौं रकम वार्षिक विदेश गइरहेको छ । देशले ठूलो क्षति भोगेको छ अहिले ।
देशमा निर्माण कार्य सुस्त छ । भएकाहरुमा पनि विदेशी कम्पनीले दोहन गरिरहेका छन् । मेलम्चीका नाममा आधा खर्बभन्दा बढी सकिइसकेको छ तर काठमाडौं काकाकुल छ । फाष्ट ट्रयाकमा झण्डै दुई खर्बको लागत निस्किइसकेको छ । तर, समयमा निर्माण सकिने छाँट छैन । बरु सेनाभित्र भ्रष्टाचार मौलाएको छ । सेनाभित्र माफियाहरुको चलखेल चल्ने खतरा बढिसकेको छ । देशको महत्वपूर्ण निकायमा भ्रष्टाचार मौलाएमा डरलाग्दो अवस्था सृजना हुनसक्छ ।
उपभोक्ताको भान्छा निकै महङ्गिएको छ । बजारमा हरेक हप्ता जाँदा मूल्य आकाशिएको हुन्छ । कृत्तिम अभाव सृजना गरी जनता आतंकित भइसकेका छन् । अपराध मौलाएको छ । तर, राज्य सञ्चालन गर्ने यसबारे बेवास्ता गर्दै गणतन्त्रविरुद्ध षड्यन्त्र भयो भन्दै ध्यान अन्यत्र मोडिरहेका छन् । प्याजको मूल्य कालिमाटी तरकारी बजारले प्रतिकेजी १४५ सम्म र आलुको अधिकतम् ३५ रुपैयाँ सम्म तोकेको छ । जुन अफसिजनमा भन्दा बढी मूल्य हो । सर्वसाधारणले त आलु धार्नीको १३० र प्याज प्रतिकेजी १८० सम्म तिरिरहेका छन् ।
आलु प्याजको मूल्य दशैंतिहार यता आकाशिएकै छ । हरियो केराऊ त बजारमै छैन जस्तो गरी अभाव सृजना गरियो । चिनी चाडबाडमा १५० बनाएर बेच्ने व्यापारीले बल्ल १३० सम्म झारेका छन् । उपभोक्ताको भान्छामा दैनिक आवश्यक यस्ता सामाग्रीको मूल्य बढ्नुमा कालोबजारी नै हो । यसमा राज्यको नियामक निकाय आँखा चिम्लिएर बसेको छ । सत्तामा रहेका दलहरु चुपचाप छन् भने प्रतिपक्षीहरुलाई ठूला कुरा गर्दैमा फुर्सद छैन । उपभोक्ता मूल्यवृद्धिले आक्रान्त हुँदा सरकारी रवैयाको विरोध गर्नुपर्ने प्रमुख प्रतिपक्षी एमाले नेता केपी शर्मा ओली मेची महाकाली यात्रा भन्दै दौडधूपमा लागे ।
देश कालोबजारीको हातमा गइसकेको प्रमाण हो कृत्तिम मूल्यवृद्धि गराउने गिरोह र तिनले जे गर्दा पनि चुप बस्ने नेता । नियमनकारी निकायमा कालोबजारीले नै कर्मचारी सरुवा गरेर लगेपछि आँखा चिम्लिइ दिइहाल्छन् । दुई व्यक्तिले कुनै सामान खरिद विक्री गर्दा राज्यले थाहापाउने गरी बिल भरपाई बनाइन्छ । राज्यलाई त्यो रेकर्ड बुझाउनुपर्ने हुन्छ । तर, देशमा ३ खर्ब मूल्यको एनसेल खरिद विक्री हुँदा राज्यले जानकारी नै छैन भनिदियो । यो हदसम्मको अभिव्यक्तिले माफियाराजको पुष्टि गर्छ । ६० अर्बको कर छली प्रकरणमा राज्यका जिम्मेवार व्यक्तिहरु नै मिलेमतोमा संलग्न देखिएका छन् ।
सञ्चार क्षेत्रमा माफियाले कर्मचारीको मात्र नभई नेताको समेत सेटिङ गरेको तथ्यहरु खुल्दै गएका छन् । घटनालाई सामसुम पार्न छानविन समिति गठन गरिएको छ । रोचक त यो छ कि एनसेलबाट लाभ लिने व्यक्ति नै छानविन समितिमा रहेका छन् । प्रतिपक्षी दल केही बोलिरहेका छैनन् । सबैले चुनाव खर्च पाएको विषय आइसकेको छ । यसरी माफियाले नै देशको बागडोर भित्र भित्रै हातमा लिएको देखिन्छ । पात्रहरु जो जो सत्ताभित्र र बाहिर रहेपनि देश माफियाको इशारामा चलिरहेको छ । जसका कारण देशले ठूलो नोक्शानी भोगिरहेको छ ।