कुशे औसी र पिता

‘पितृदेव भव’ पितालाई देवता सरह मानि आफना पिताको सम्झना, आदर, सम्मानका साथ कुशे औसी वा बुबाको मुख हेर्ने पर्व मनाइन्छ । कुशे औसीलाई गोकर्णे औशी, पित्री औशी, वा फादर्स डेको रुपमा लिइन्छ । यस दिन धार्मिक दृष्टिले हिन्दु धर्म अनुसार महत्वपूर्ण घाँस कुशलाई घरभित्र ल्याउने चलन छ । यो दिन पिता हुने र नहुने छोराछोरीहरुको लागि महत्वपूर्ण दिन हो । हरेक बर्षको भाद्र कृष्ण औंसीका दिन आफ्ना छोराछोरीहरुले पितालाई सम्झेर यो पर्व बुबाको आदर, सत्कार, कामना तथा सम्झनाका साथ मनाइने गरिन्छ ।
आफ्ना छोराछोरीप्रति आफूले खाई नखाई, आफू खाली खुट्टा हिँडेर पनि, आफूले बर्षमा एकसरो च्यातिएको लुगा लगाएर पनि आफ्नो छोराछोरीको पालनपोषण, शिक्षादिक्षाको लागि मरिहत्ते गरेर लागि पर्ने पितालाई आफ्नो छोराछोरीले बर्षको एक पटक सम्झना स्वरुप बाबुको मुख हेर्ने गरिन्छ । उक्त दिन बुबा हुनेले मिठो खानेकुरा, लत्ताकपडा, उपहार दिएर आप्mना पिताप्रति दया, आदर, सत्कार गर्दछन् । पिता नहुनेले पिताको सम्झनामा काठमाडौंको गोकर्णेश्वर, रसुवाको बेत्रावती, धरानको विष्णुपाण्डुका तथा अन्य धार्मिक क्षेत्रमा गई पिताको सम्झनामा श्राद्ध गर्ने, पिण्डदान गर्ने, पण्डितलाई सिदा दान दिने र तर्पण दिने गर्छन् । पिता हुने विवाहित छोरीले मिठा खानेकुरा र उपहारका साथ बुबालाई भेट्न माईत जाने गर्छन् ।
आफ्ना बालबच्चाको लागि आफ्नो हाँसो र आँसुलाई दबाएर, भविष्यमा आफ्ना बालबच्चाको मुहार फेर्ने आशले आफ्नो क्षमता अनुसार कर्म गरी, आफू भोकै बसेर पनि, ऋण काढेर भएपनि पढाइ दिने पिता भगवान मात्र होइन हाम्रा पथ प्रदर्शक, संरक्षक हुन् । त्यसैले बाल्मीकीले भनेका छन् ‘पिताको सेवा वा उनको आज्ञा पालना गर्नुभन्दा ठूलो अरु कुनै धर्माचरण हुँदैन ।’ पिताले आफ्ना छोराछोरीप्रति गरिने दयामाया, प्रेम, स्नेहलाई वर्णन गरेर साध्य छैन । उनी आफ्ना छोराछोरी कहिले नबिग्रियोस भन्ने चाहन्छन् । भबिष्यमा असल र राम्रो व्यक्ति भएर देश समाजको सेवा गरी नाम कमाओस् भन्ने चाहन्छन् । घर परविारको तथा आफ्नो स्याहारसुसार र सेवा गरोस् भन्ने चाहन्छन् । यस्तै—यस्तै ईच्छा आकांक्षा बोकेर आफ्नो दायित्वलाई बढी भन्दा बढी छोराछोरीप्रति समय दिई हुर्काउने, पढाउनेतर्फ संधै लागि परेका हुन्छन् ।
त्यसैले पिता एक छत हो । जसको आश्रयमा सन्तान हुर्कन्छन् । पिता सन्तानको पालनपोषण र संरक्षणका पर्याय हुन् । सन्तानका आवश्यकताहरु पूरा गरिदिने माध्यम हुन् । पिता शिशुका लागि उल्लास हुन् । किशोर एवं जवानका लागि सर्वोत्तम प्रेरक एवं पथप्रदर्शक हुन् । वयस्क र प्रौढका लागि अनन्त आशिर्वाद हुन् ।
पिता देह मात्र होइनन् उनी प्रेरणा हुन्, भाव हुन् । पिता जसले सन्तानको सुख र कल्याणका लागि हरसंभव प्रयास गर्छन् । आफ्नो प्राणलाई बाजीमा राखेर सन्तानको लागि जस्तोसुकै खतरासँग खेल्छन् । सन्तानको लागि आफ्ना इच्छा आकांक्षा तथा अन्य कुराको त्याग गर्छन् । पिताको महत्व यति धेरै छ कि सन्तानले त्यसलाई बोध गर्न सक्नुपर्छ ।
पिताको उपस्थितिले सन्तानलाई अदृश्य संकटबाट मात्र बचाउँदैन, एक अपूर्व सुरक्षा पनि बोध गराउँछ । खासगरी परिवारमा पिता एक संरक्षक, आदर्श, र मागदर्शकको रुपमा रहन्छ । उहाँ पूज्यनीय हुन्छ । तर आधुनिक समाजमा एकल परिवार बढ्दै गईरहेको छ । जति पहिला पितालाई सन्तानले मान्थे यो घट्दो क्रम छ । साँच्चै भन्ने हो भने कतिपय परिवारमा पितालाई आदर्श, मार्गदर्शक मान्नुभन्दा बोझको रुपमा लिने प्रवृत्ति बढ्दै गइरहेको छ । वृद्ध असहाय पिताको सम्पति आप्mनो अधिकार भित्र साख्ने अनि पितालाई हेय दृष्टिले हेर्ने वृद्धाश्रम पठाउने, सँगै बस्दा पनि पितालाई उचित सम्मान गर्ने, सरसल्लाह लिने, उचित रेखदेख गर्ने, उपचार गर्ने, औषधि पानी दिने कुरामा सन्तानहरु टाढिँदै जाने व्यवहार देखिदै आईरहेको छ ।
सायद आमाले बच्चा जन्माईसकेपछि अभिभावकविहीन जस्तो अर्थात् बुबाआमाले छोराछोरीप्रति कुनै दायित्व ननिभाउने हो भने त्यसबेला ती बच्चाको भबिष्य कस्तो होला त्यो हामीले बुझ्न सक्दछौं । अवश्य पनि स्याहार बिनाको र पथप्रदर्शक बिनाको बच्चाको स्थिति कस्तो हुन्छ रु घर, विद्यालयमा पाउनुपर्ने ज्ञानविनाको बच्चाको स्थिति कस्तो हुन्छ यो भनि रहनु नपर्ने हुन्छ । यसको श्रेय पितामा नै जान्छ । त्यसैले पितालाई कहिले पनि भुल्नु हुँदैन । आफ्नो जीवनका धेरै समय, मेहनत आफ्ना परिवारका लागि वलिदान गर्ने पिता अमूल्य योगदान दाता हुन् ।
मोह, सुखशान्तिलाई त्यागि निस्वार्थ भावनाले सन्तानको लागि कर्तव्य पालनाको दायित्व बोकी हिँड्ने पितालाई दैनिक रुपमा सम्झनु नै धर्म हुन्छ । पिताको योगदानलाई नसम्झने, आदर नगर्ने छोराछोरी जतिसुकै ज्ञान, क्षमता र हैसियतमा उच्च रहे तापनि, जतिसुकै सुन्दर रहेतापनि, परिश्रमी भए तापनि पिताप्रति उ ऋणी हुनेछ । पिता भगवान हुन्, उहाँको प्रशंसा शब्दले गर्न सक्दैनौं । पिताको मायालाई जति उपमा दिएपनि यी सबै थोरै हुनेछन् । यी सबै अमूल्य छन्, महान छन् । आफ्नो सन्तानको लागि निस्वार्थ पे्रम, ममता, त्यागप्रति सँधैसँधै छोराछोरीले सलाम गर्नुपर्छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्