कोरोना नियन्त्रणमा सरकारले नीजि क्षेत्रलाई दोष दिन नमिल्ने : डा. रिजाल

काठमाडौं, साउन २६ । बरिष्ठ चिकित्सक डा. भोला रिजालले सरकारले करको लोभमा लकडाउन खुकुलो बनाएको टिप्पणी गरेका छन् । अहिले लकडाउन लगाउनु पर्ने बेलामा झन खुकुलो बनाइको र लगाउनु नपर्ने बेलामा लगाईएको उनको भनाई छ ।
“करको कारणले लकडाउन खुलाएको हो की जस्तो लाग्यो, लकडाउन लगाउनु पर्नेमा खोलियो, नलगाउनु पर्नेमा लगाइयो, मैले यो कुरा पहिलेदेखि नै पटक—पटक भन्दै आएको छु ।” उनले भने ।
डा. रिजालले कोरोना नियन्त्रणका लागि सरकारले पर्याप्त प्रयास र बुद्धिमत्तापूर्ण निर्णयहरु गर्न नसकेको बताए । उनले कोरोना नियन्त्रण तथा व्यवस्थापनको जिम्मेबारीमा रहेका व्यक्तिहरुमा व्यवस्थापकीय क्षमता कमजोर देखिएको टिप्पणी गरे ।
बरिष्ठ चिकित्सक रिजालले कोरोना नियन्त्रणमा सरकारले नीजि क्षेत्रलाई दोष दिन नमिल्ने दावी गरे । कोभिड विषेश अस्पताल भनेर एउटालाई तोक्ने अनि अर्काले गरेनन् भनेर भन्न नमिल्ने उनको तर्क छ ।
“नीजि क्षेत्रलाई कुनै जिम्मेबारी नै दिएको छैन, उनीहरुले के गर्ने भन्ने बारेमा स्पष्ट नै छैन, अनि कसरी उनीहरुलाई दोष दिन मिल्छ?” डा. रिजालले प्रश्न गरे ।
सरकारी स्वास्थ्य सेवाले नपुगेपछि नीजि क्षेत्रलाई प्रयोग गर्न भने कुनै बाधा नरहेको र नीजि अस्पतालहरु तयार नै रहनु पर्ने उनको भनाई छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्