
काठमाडौं- नेपाली महिला फुटबलर सावित्रा भण्डारीले फ्रेन्च महिला लिग (डिभिजन वान फेमिन) मा इए गुइगाम्पाका लागि गोल गरेकी छिन्। उनले शनिबार राति लिल विरुद्धको खेलमा फ्रेन्च लिगमा डेब्यू गोल गरेकी हुन्।
युरोपियन लिग खेल्ने पहिलो नेपाली फुटबलरको इतिहास बनाएकी सावित्राले चौथो खेलमा गोल गरेकी हुन्।
वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेकी सावित्राले अतिरिक्त समयमा गोल गर्दै टिमलाई २-० को सफलता दिलाइन्। गुइगाम्पका लागि पहिलो गोल एन्टोनिए स्टारोभाले ५२औं मिनेटमा गरेकी थिइन्।
भर्खरै साउदी अरेबियामा सम्पन्न वाफ वुमन्स च्याम्पियनसिपमा नेपालका लागि खेल्दै उनी फ्रान्स फर्किएकी थिइन्। यही खेललाई ध्यानमा राख्दै सावित्राले बिहीबार जोर्डन विरुद्धको फाइनल खेल समेत छाडेकी थिइन्।