काठमाडौँ - अनुसन्धानको क्षेत्रमा काम गर्ने विश्वचर्चित गार्टनर इङ्कको तथ्याङ्क अनुसार सन् २०२४ मा विश्वभर ५० खर्ब अमेरिकी डलर (छ हजार ६५० खर्ब रुपियाँ) भन्दा बढी रकम सूचना प्रविधिसम्बन्धी सेवाका लागि खर्च हुने छ । जुन अघिल्लो वर्षको तुलनामा आठ प्रतिशतभन्दा बढीको वृद्धि हो । आगामी वर्षमा विश्वभर सूचना प्रविधिका लागि हुने खर्च थप रफ्तारमा विस्तार हुने अनुमान उक्त संस्थाको छ ।
औद्योगिक विकासको चौथो संस्करण मानिएको यो समय सूचना प्रविधिले नेतृत्व गरेको विश्वबजार हो, जहाँ तीव्र गतिको इन्टरनेटलाई आधारभूत पूर्वाधार मानिएको छ भने सूचना प्रविधिसम्बन्धी सिपलाई उच्चकोटिको क्षमता । आर्टिफिसियल इन्टेलिजेन्स, मसिन लर्निङ, डिप लर्निङ, आइओटी जस्ता पछिल्ला विकासले अबका हाम्रा गतिविधि निर्धारण गर्ने छन् । सूचना प्रविधिको यही व्यापकताले हाम्रा परम्परागत व्यवहारहरू डिजिटल व्यवहारमा रूपान्तरण भएका छन् । मानिसको परिचय र स्वभावको मूल्याङ्कन डिजिटल ‘फुटप्रिन्ट’ का आधारमा स्थापित हुन थालेका छन् । विगतमा गर्ने कामको ढर्रा बदलिएर डिजिटलाइज्ड बन्दै छ । समग्रमा व्यक्तिगतदेखि संस्थागत धेरै गतिविधिहरू सूचना प्रविधिको आड भरोसामा सञ्चालित छन् । सूचना प्रविधिमा बढ्दो अभ्यस्तताले यसमा हुने खर्च स्वाभाविक रूपले बढेको छ । गार्टनरले भविष्यमा यस्तो गतिविधिमा खर्च थप बढ्ने अनुमान त्यसै गरेको होइन ।
मुख्य रूपमा युवा पुस्ताले नेतृत्व गरेको सूचना प्रविधिको विश्वव्यापीकरणको यो प्रभावबाट नेपाल अलग रहने त कुरै भएन, बहुल जनसङ्ख्या युवा जमात रहेको यो देश बरु त्यसबाटै आर्थिक लाभको सम्भावना खोतलिरहेको छ । सिपप्रधान रहने भएकाले सूचना प्रविधिसम्बन्धी पेसा व्यावसायिक मात्र छैन, मुलुकभित्रको उतारचढावबाट मुक्त छ । विश्वभर नै सूचना प्रविधिसम्बन्धी अधिकांश काम सीमाविहीन अवधारणामा आधारित भएकाले संसारका कुनै पनि देशको काम अर्को जुनसुकै देशबाट सम्भव बनेको छ । यही सहजताको उपयोग यतिबेला नेपाली युवाले प्रयोग गरिरहेका छन् । ‘आउटसोर्स’ भनिने यस्तो काम व्यक्तिगत (फ्रिलान्स) अथवा संस्थागत दुवै तवरबाट गर्न सकिने भएकाले यसमा सहजता थपिएको छ । त्यसैले विश्वबजारमा सूचना प्रविधिसम्बन्धी खर्च बढ्दै जाँदा त्यसको लाभको कुनै हिस्सा नेपालले प्राप्त गर्न सक्ने प्रबल सम्भावना मात्र होइन, तुलनात्मक सस्तो र युवा जनशक्तिसहितको श्रम उपलब्ध भएकाले बलियो श्रम बजार पनि यो देश बनेको छ । सूचना प्रविधिसँग सम्बन्धित विश्वस्तरीय सिप नेपालमा उपलब्ध छ भन्ने बलियो प्रमाण पनि छ । हार्वर्ड विश्वविद्यालयले अनुसन्धान कार्यका लागि प्रयोग गर्ने ग्रोथल्याबको तथ्याङ्क अनुसार नेपालले निर्यात गर्ने सेवा तथा वस्तुमध्ये २४.४३ प्रतिशत हिस्सा सूचना प्रविधिकै छ । सन् २०२१ को तथ्याङ्क भए पनि बढ्दो बजार र हरेक वर्ष बजारमा भित्रिने हजारौँ युवाको उपस्थितिले निर्यातको यो हिस्सा बढेको स्वाभाविक अनुमान गर्न सकिन्छ । अनुसन्धानकै लागि कहलिएको आइआइडीएसको सर्वेक्षण प्रतिवेदनले पनि सन् २०२२ मा नेपालले ६३ अर्ब रुपियाँ बराबरको सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गरेको देखाउँछ, जुन नेपालको तत्कालीन कुल गार्हस्थ उत्पादनको १.४ प्रतिशत र कुल विदेशी मुद्रा सञ्चितिको ५.५ प्रतिशत हुन आउँछ । प्रतिवेदनको सर्वेक्षण नमुनामा अटाएका सूचना प्रविधिसम्बन्धी कम्पनी, सेवा र फ्रिलान्सरहरूबाट प्राप्त विवरणका आधारमा प्राप्त उक्त निर्यात तथ्याङ्कबाहेक त्यसमा नसमेटिएको हिस्सा पनि बाँकी नै छ । खास गरी करको दायराभित्र नआएका र सोझै भुक्तानी लिने कम्पनी तथा फ्रिलान्सरहरूको हिस्सा पनि ठुलो छ, जसबारे औपचारिक तथ्याङ्क नभए पनि केही अर्ब रकम यीमार्फत भित्रिने अनुमान गर्न सकिन्छ । औपचारिक र अनौपचारिक दुवै माध्यमबाट आइटी सेवा निर्यात गरिरहेकाको बढ्दो गतिले यसबाट प्राप्त हुने आम्दानी दुई वर्षभित्रै सहजै एक खर्ब रुपियाँ नाघ्ने देखिन्छ । आजको गोरखापत्र दैनिकबाट