रजिस्टारले गरे मनपरी सरुवा, कर्मचारीको २४ घण्टे अल्टिमेटम

1.9k Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले नियम मिचेर उच्च तहका कर्मचारीको व्यापक सरुवा गर्नुभएको छ। कार्यभार सम्हालेको एक महिना बित्न नपाउँदै रजिस्ट्रार रिजालले व्यापक कर्मचारी सरुवा गर्नुभएको हो।

रजिस्ट्रार प्राडा रिजालले कर्मचारी प्रशासन महाशाखाका सहप्रशासक भीमबहादुर श्रेष्ठलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा काजमा खटाइएको छ। अवकाश हुन करिब ९ महिना बाँकी रहँदा श्रेष्ठलाई नियम विपरीत शिक्षण अस्पताल सरुवा गरिएको छ।

रजिस्ट्रार प्राडा रिजालको ठाडो हस्तक्षेपको विरोधमा कर्मचारीले अल्टिमेटम दिएका छन्। त्रिवि कर्मचारी सङ्घका अध्यक्ष छत्र कार्कीले रजिस्टार रिजालले गरेको निर्णय तत्काल फिर्ता लिन चेतावनी दिनुभएको थियो। कर्मचारीलाई सरुवा गरेको जानकारी पाए लगत्तै सङ्घ आबद्ध कर्मचारी रजिस्ट्रार रिजाल समक्ष पुगेका थिए।

सङ्घले रजिस्ट्रार रिजाललाई हिजो मंगलबार ४ बजेसम्म निर्णय फिर्ता लिन आग्रह गरेका थिए। सङ्घले निर्णय फिर्ता नगरे आज बुधबारबाट ज्ञापन पत्र बुझाएर आन्दोलन गर्ने चेतावनी दिएको छ। त्रिवि शिक्षक कर्मचारी सम्बन्धी नियम २०५० को उपनियम ५ को ३.३ मा ‘उमेरको कारण अनिवार्य अवकाश हुन एक वर्ष वा सो भन्दा कम अवधि बाँकी रहेका कर्मचारीलाई निजले सरुवा मागेको अवस्थामा बाहेक सरुवा गरिनेछैन’–उल्लेख छ।

सहप्रशासक श्रेष्ठको नोकरी अवधि करिब ९ महिना मात्र बाँकी छ। उच्च स्रोतका अनुसार रजिस्ट्रार रिजालले नेपाली कांग्रेस निकट कर्मचारीलाई भित्री घेरामा राखेर काम गर्न चाहेको आरोप कर्मचारीको छ। रजिस्ट्रार रिजालले सूचना महाशाखा प्रमुख योगेन्द्र दाहाललाई सहप्रशासकको जिम्मा दिनुभएको छ। दाहाल नेपाली कांग्रेस निकटका कर्मचारी हुन भने श्रेष्ठ एमाले निकटका कर्मचारी रहेको कर्मचारीको भनाई छ। आजको नेपाल समाचारपत्र दैनिकबाट 

सम्बन्धित समाचार