सुर्तीजन्य करप्रति सरकार किन उदार ?

1.5k Shares

काठमाडौं । क्यान्सर, मुटुरोग र दमखोकीजस्ता नसर्ने तर भयावह रोगहरूको प्रमुख कारक चुरोट, बिँडी, खैनी, सुर्तीजस्ता धूमपान तथा सुर्तीजन्य पदार्थको बिक्रीवितरण र उपभोगलाई नियन्त्रण र नियमन गर्नु जनस्वास्थ्यका लागि अपरिहार्य भइसकेको छ।

मुख, घाँटी र फोक्सोको क्यान्सरको ९० प्रतिशत कारक पनि एक प्रकारको मन्द विषकै वर्गमा पर्ने यस्ता पदार्थको सेवन नै रहेको प्रमाणित भइसकेको अवस्थामा चुरोट तथा सुर्तीजन्य पदार्थको कर वृद्धिमा सरकार अनुदार हुनु भनेको जनस्वास्थ्यप्रति खेलबाड गर्नु हो।

क्यान्सर रोग विशेषज्ञ तथा नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टर हरिसिद्धिका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठका अनुसार यस्ता असाध्य रोग बढी खर्चिलो पनि हुने भएकाले आर्थिक अभावका कारण नेपालमा धेरैले उपचार नपाएर मृत्युवरण गरिरहेको अवस्था छ । उहाँ भन्नुहुन्छ– ‘रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिएकै राम्रो हो।’

विज्ञहरूका अनुसार सुर्तीजन्य पदार्थमा प्रत्येक वर्ष कम्तीमा १० प्रतिशतका दरले कर बढाउँदै लानुपर्छ। जसले गर्दा वार्षिक उपभोग दरमा ४ देखि ५ प्रतिशतले कमी आउनेछ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गरेको अनुसन्धानले पनि सुर्तीमा कर बढाउँदा उपभोग घटेको देखाएको छ।

चिकित्सकहरूका अनुसार चुरोट, सुर्ती, गुट्खा, खैनी, हुक्काजस्ता सुर्तीजन्य पदार्थ प्रयोगका कारण नाक, कान, मुख, घाँटी, फोक्सो, पिसाब थैली, आमाशयको क्यान्सर बढ्छ । सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि डब्ल्यूएचओले प्रतिपादन गरेको सुर्ती नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमा १ सय ७१ राष्ट्रसँगै नेपालले पनि सन् २००३ मै हस्ताक्षर गरिसकेको छ। आजको नेपाल समाचारपत्र दैनिकबाट 

सम्बन्धित समाचार