नेपालमा लगानी गर्न पोल्यान्डलाई चेम्बरको आग्रह

1.5k Shares

काठमाडौं– निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्यान्डलाई आग्रह गरेको छ ।

नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपालका लागि दिल्लीस्थित पोल्याण्डका आवासीय कार्यवाहक राजदूत डा सवेस्टियन डोमजाल्स्कीबीचको भेटमा चेम्बरले पोल्याण्डलाई लगानी गर्न आग्रह गरेको हो ।

भेटमा चेम्बरका अध्यक्ष कमलेश अग्रवालले दुई मुलुकबीच आर्थिक सम्बन्ध विस्तारका लागि नेपालको ग्रीन हाइड्रोजनमा लगानी गर्न कार्यवाहक राजदूतसमक्ष आग्रह गरे ।

उनले नेपालमा अन्तर्राष्ट्रिय लगानीका लागि नीतिगत तवरमै सहजीकरण गरिने र लगानीको प्रतिफलको सुनिश्चितता गरिएको उल्लेख गरे । अध्यक्ष अग्रवालले नेपालको जलविद्युत्, पर्यटन, खानीलगायतका क्षेत्रमा लगानी गर्नसमेत डा सवेस्टियनसमक्ष आग्रह गरे।

उक्त भेटमा आवासीय कार्यवाहक राजदूत डा सवेस्टियनले नेपालको चिया र कफीको बजार सम्भावना खोज्न सकिने बताएका थिए । दुई देशबीचको कूटनीतिक सम्बन्ध निकै पुरानो भएकाले आर्थिक दृष्टिकोणले फाइदा खोज्नुपर्ने उनको भनाइ थियो । 

सम्बन्धित समाचार