शिक्षण प्रणालीमै सुधारको खाँचो

12.7k Shares

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डद्वारा बिहीबार प्रकाशित २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा आधाभन्दा बढी परीक्षार्थी अनुत्तीर्ण भएका छन् । बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी कुल परीक्षार्थीमध्ये ४७.८६ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।

सहभागीमध्ये ५२.१४ प्रतिशत विद्यार्थीको नतिजा नन ग्रेडेड (एनजी) आएको छ । यस पटक परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । एनजी समूहमा परेका दुई लाख ४२ हजार ३१३ जना विद्यार्थीका लागि तत्काल कक्षा ११ मा भर्ना हुने बाटो बन्द भएको छ तर तीमध्ये एक वा दुई विषयसम्म एनजी ल्याएका परीक्षार्थीलाई बोर्डले ग्रेडवृद्धि परीक्षाको मौका दिने छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव दीपक काफ्लेले एसइईको नतिजाले विद्यालय शिक्षाको समग्र शिक्षण प्रणालीलाई नै सुधार गर्नुपर्ने सन्देश दिएको बताउनुभयो । बोर्डका उपाध्यक्षसमेत रहनुभएका काफ्लेले छिट्टै परीक्षा बोर्डको बैठक बसेर प्रश्नपत्र निर्माणदेखि परीक्षा प्रणाली सुधारको विषयमा छलफल गरिने नतिजा सार्वजनिक कार्यक्रममा बताउनुभयो । यो पटकदेखि बोर्डले परीक्षार्थीको प्राप्ताङ्क अनुसार उच्च अङ्क ल्याउनेलाई जिपिए ३.६० देखि ४ सम्म र सबैभन्दा कम ल्याउनेलाई एनजीसहित सात समूहमा राखेर नतिजा प्रकाशन सुरु गरेको हो । 

यो व्यवस्था अनुसार परीक्षार्थीलाई सात वटै विषयमा कुल सय पूर्णाङ्कमध्ये ७५ अङ्कको सैद्धान्तिक परीक्षा र २५ पूर्णाङ्कको आन्तरिक मूल्याङ्कन विधि (प्रयोगात्मक विधि) बाट अङ्क प्रदान गरिएको थियो । नतिजा प्रकाशन गर्दा पनि सैद्धान्तिक र आन्तरिक मूल्याङ्क दुवै खण्डको प्राप्ताङ्क अनुसार फरक फरक ग्रेड प्रदान गरिएको छ । आजको गोरखापत्र दैनिकबाट 

सम्बन्धित समाचार