
काँक्रेविहार– कर्णालीका पाँच जिल्लामा यातायात सेवा अवरुद्ध भएको छ । पहिरो तथा खोलामा पानी बढेका कारण यातायात सेवा अवरुद्ध भएको प्रदेश प्रहरी कार्यालयले सुर्खेतले जानकारी दिएको छ ।
भेरी करिडोरभित्र पर्ने डोल्पाको त्रिपुरासुन्दरी–१ छलगाडमा खोलामा पानी बढेका कारण यातायात सेवा ठप्प भएको छ । त्यस्तै त्रिपुरासुन्दरी नगरपालिका–५ साङलेखोलामा पहिरो कारण साना यातायातका साधन मात्र सञ्चालनमा छन् ।
त्रिपुरासुन्दरी–९ चुँगाडमा ट्रक फस्न गएपछि यातायात सेवा ठप्प भएको छ भने भेरी करिडोरकै रुकुमपश्चिमको आठबिसकोट–६ रिजिगारमा खोलामा पानी बढेपछि आवतजावत ठप्प भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
भित्री सडकअन्तर्गत रुकुम–पश्चिमको मुसिकोट–३ माझमीमा पहिरो गएका कारण सडक अवरुद्ध भएको प्रहरीको भनाइ छ । त्यस्तै बाँफिकोट गाउँपालिका–तीन÷चार को बीचमा रहेको छिनखेत–पिपल जोड्ने सडक खोलामा पानी बढेका कारण अवरुद्ध भएको छ ।