
एजेन्सी- गाजाक्षेत्रमा भएको एक हवाई हमलामा विद्रोही समूहका सैन्य कमान्डर मोहम्मद दिएफ मारिएको दाबी इजरायलले गरेको छ ।
इजरायली सेनाले बताएका अनुसार हमासका सैन्य प्रमुख मोहम्मद दिएफ १३ जुलाईमा गाजामा भएको एक एयर स्ट्राइकका क्रममा मारिएका हुन् ।
स्ट्राइकका क्रममा दिएफलाई खान युनुसको एक कम्पाउन्डमा इजरायली सेनाले निशाना बनाएको थियो ।
इजरायली सेनाले त्यसबेलै हवाई हमलामा एक अर्का हमास कमान्डर राफा सलेमेह पनि मारिएको जनाएको थियो । तर इजरायली सेनाले मोहम्मद दिएफको मृत्यु भएको पुष्टि गरेको थिएन ।
यसअघि बुधबार मात्रै हमासले आफ्ना शीर्ष राजनीतिक कमान्डर इस्माइल हनियाको इरानको राजधानी तेहरानस्थित निवासमा भएको हवाई हमलामा मारिएको जनाएको थियो ।
बुधबार जारी एक विज्ञप्तिमा हमासले तेहरानस्थित निवासमा भएको हवाई हमलामा हनिया र उनका सुरक्षागार्डको हत्या भएको जनाएको थियो ।
हनिया लामो समयदेखि कतारमा बस्दै आएका थिए । उनी केही वर्षदेखि गाजामा गएका थिएनन् । तर कतारबाट इरान पुगेका बेला उनी मारिए ।