एकै पालिकाका ६४ जनामा क्यान्सर र मिर्गौला रोग

10.9k Shares

काठमाडौ । गोरखा जिल्लाको गण्डकी गाउँपालिकाका ६१ जनामा क्यान्सर र १५ जनामा मिर्गौला फेल भएको कारण खोज्न सरकारले कार्यदल गठन गरेको छ । ती सबै २०६५/६६ देखि आधुनिक तरकारी खेती गरिरहेका किसान रहेका कारण तरकारी खेतीमा हालिएको विषादीका कारण त्यस्तो रोग लागेको प्रारम्भिक अनुमान छ ।

खेतीमा प्रयोग हुने अधिक विषादी नै त्यसको कारण रहेको दाबी गरिएपछि कृषिमन्त्री रामनाथ अधिकारीले प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोख्रेलको संयोजकत्वमा कार्यदल गठन गर्नुभएको हो । अहिले कार्यदलले गण्डकी गाउँपालिकामा अध्ययन गरी प्रतिवेदन तयार गर्दै छ । उक्त घटनालाई नै पुष्टि गर्ने आधार देखाउने गरी गण्डकी प्रदेशकै नवलपुरको हुप्सेकोटमा त्यस्तै खेती गर्नेमा क्यान्सरका रोगी अधिक फेला परेका छन् । हुप्सेकोट गाउँपालिकामा मात्र व्यावसायिक तरकारी खेती गर्ने ६४ जनामा क्यान्सर र मिर्गौला रोग लागेको स्वास्थ्य शाखा हुप्सेकोटले जनाएको छ । तीमध्ये १४ जना एउटै वडा (वडा नं. १ को जुगेपानी क्षेत्र) का रहेका हुप्सेकोट स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । यसअघि गत वर्ष डडेलधुराको अमरगढी नगरपालिकामा पनि एकै गाउँका सात जनामा क्यान्सर लागेको र एक जनाको मृत्यु हुँदा त्यस्तै खोजी भएको थियो तर त्यसको गम्भीर अध्ययन भएन । 

हुप्सेकोटको कहाली 

हुप्सेकोटमा विभिन्न उमेर समूहका र कार्यप्रकृतिका कृषक विषादीको जोखिममा काम गर्छन् । तीमध्ये जुगेपानीका दिनेश सोमै मगरलाई २६ वर्षमै दुई थरी क्यान्सर भइसकेको छ । उहाँ तीन वर्षभन्दा बढी वैदेशिक रोजगारी रहेर स्वदेश फर्केपछि तरकारी खेतीमा लाग्नुभएको हो तर तरकारी खेती थालेको डेढ वर्षमै मलद्वारको र पछि ढाडको हड्डीमा क्यान्सर भयो । उहाँ आफैँ त्यसको कारण तरकारी खेतीको विषादी नै मान्नुहुन्छ । विषादी प्रयोग गर्न नजानेरै क्यान्सर भएको अनुमान गर्दै त्यसको आधार धेरै जना त्यस्ता किसानलाई क्यान्सर र मिर्गौलाको रोग लागेको उहाँले बताउनुभयो । 

उहाँको आशङ्कालाई बल दिने गरी छिमेकी ६५ वर्षीय हरिमाया थापा र ६४ वर्षीय ताराबहादुर विक दुवै क्यान्सर पीडित हुनुहुन्छ । विक १५ वर्षदेखि विषादीको प्रयोग गर्दै तरकारी खेतीमा लाग्नुभएको हो । उहाँलाई तीन वर्षअघि पिसाब नलीमा क्यान्सर देखियो । 

विकले पनि सोमेले जस्तै अर्का किसान प्रेमबहादुर रजाली पनि क्यान्सर लागेरै चार वर्षअघि बितेको स्मरण गर्नुभयो । ६६ वर्षीय टेकबहादुर विकले चाहिँ मिर्गौलामा क्यान्सर भएपछि एउटा मिर्गौला फालेर जीवन धान्दै हुनुहुन्छ । तरकारीमा प्रयोग गर्ने विषादीकै कारण यति ठुलो सङ्ख्यामा किसानलाई मिर्गौला र क्यान्सर रोग लागेको हुप्सेकोट स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद सापकोटाले बताउनुभयो । किसानले प्रयोग गरेका विषादी, प्रयोग गर्ने विधि, प्रयोग गर्दा अपनाइएको असावधानी र एउटै क्षेत्रका व्यावसायिक किसानलाई मात्र यो रोग लाग्नुले विषादीकै कारण क्यान्सर र मिर्गौलाको रोग लागेको निष्कर्षमा आफूहरू पुगेको उहाँको विचार छ । आजको गोरखापत्र दैनिकबाट 

सम्बन्धित समाचार