शेयरबजार १९ दिनमा ४२० अङ्कले घट्यो, किन घटिरहेको छ बजार ?

2.9k Shares

काठमाडौं – गएको साउन ३१ गते बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४३ अङ्कले बढेर तीन हजार विन्दुमा पुग्यो । सो दिन उच्चतम ३०३६ विन्दुसम्म नेप्से परिसूचक पुग्दा लगानीकर्तामाझ खुशीको माहोल छायो । छोटो समयमै बजार एक हजार अङ्कले बढ्दा लामो समयदेखि प्रताडित लगानीकर्तालाई राहत मिल्यो ।

नेप्से परिसूचक तीन हजार विन्दु पार गर्दा लगानीकर्ताको खुशीको सीमा नै थिएन । कतिपय लगानीकर्ताले केक काटेर उत्सव नै मनाए । बजारका जानकार तथा लगानीकर्ताहरूले शेयर बजारमा उछाल आउने र यसअघि २०७८ साल भदौ २ गते बनाएको ३२०० को विन्दु समेत पार गर्ने घोषणा गर्न थाले ।

चोक, बजार र चिया पसलदेखि भट्टीसम्म शेयर बजारको चर्चा चुलियो । कारोबार रकमले नयाँ रेकर्ड बनाएसँगै समसामयिक मामिलाको केन्द्रमा शेयर बजार रह्यो । बढ्दो बजारमा छिट्टै धन कमाउने अपेक्षा लिएर सयौँ नयाँ लगानीकर्ता पनि दोस्रो बजारमा प्रवेश गरे ।

तर, साउन ३१ गतेयता एक महिना अवधिमा शेयर बजार निरन्तर ओह्रालो लाग्यो । साउनको अन्तिम कारोबार दिन ३०००.८१ रहेको नेप्से परिसूचक एक महिनामा ४२० अङ्कले घटेर २५८०.७६ विन्दुमा आइपुगेको छ ।

एक महिनामा १९ दिन शेयर कारोबार हुँदा दैनिक औसत २२ अङ्कले नेप्से घटेको हो । बजार घटेसँगै करोबार पनि दैनिक रूपमा घट्दो छ । तीन हजार विन्दु पुग्दा एकै दिन २९ अर्ब ३० करोड रुपैयाँसम्म कारोबार भई नयाँ रेकर्ड बनाएको बजार एक महिनाभित्रै दैनिक ६–७ अर्ब रुपैयाँ कारोबारमा खुम्चिएको हो ।

भदौमा १९ दिन शेयर बजार खुल्दा २ खर्ब ४५ अर्ब ७७ करोड ९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । दैनिक औसतमा १२ अर्ब ९३ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ ।

किन घटिरहेको छ शेयर बजार ?

सबै कुरा सकारात्मक हुँदा पनि बजार घट्नुमा चलखेल भएको हुनसक्ने बजारका जानकार छोटेलाल रौनियार बताउँछन् । ‘बजारमा सबै पोजेटिभ देख्छु । सबै नेगेटिभ हल्लाहरू मात्र छन् । क्यापिटल गेन ट्याक्स बढाउने भन्ने हल्ला सुनिरहेको छु’, रौनियारले भने, ‘हल्ला कहाँबाट फैलाउछन्, त्यो थाहा हुँदैन । यस्तै खालका विभिन्न नेगेटिभ हल्लाहरू फैलाइन्छन्, अनि बजार घटाउँछन् ।’

बजार जहिले पनि आधा घण्टाअघि घट्नु शंकास्पद भएको रौनियारको भनाइ छ । ‘बजारमा कहिँकतै बदमासी भइरहेको हो कि भन्ने पनि लागिरहेको छ । तीन हजार पुग्दा जुन परिस्थिति थियो– आज पनि शेयर बजारलाई प्रभाव पार्ने परिस्थिति उस्तै छ,’ रौनियारले भने, ‘मौद्रिक नीति परिवर्तन भएको छैन, बैंकको ब्याजदार घट्ने क्रममा छ, तरलता बढ्दो छ ।’ नकारात्मक कुराहरू बढी मात्रामा भएकाले अहिले बजार घटेको रौनियार बताउँछन् ।

‘अस्ति संसदमा बहस चल्यो, त्यसले पनि बजार घट्यो’, रौनियारले थपे, ‘क्यापिटल गेनमा लामो समयको लागि ७ प्रतिशत र छोटो समयको लागि १० प्रतिशत भन्ने हल्ला चलिरहेको छ ।’ अनावश्यक हल्ला बढी चल्ने र टीएमएस बिग्रिने कारणले गर्दा पनि अहिले बजार घटिरहेको उनको भनाइ छ ।

सम्बन्धित समाचार