१३ वटा पुल, २१ किलोमिटर सडकसहित २५ अर्बको क्षति

1.7k Shares

काठमाडौं । गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण १३ वटा पुल र २१ किलोमिटर सडक बगाएको छ । यसबाट राज्यलाई २५ अर्ब रुपैयाँबराबरको क्षति पुगेको छ ।

विभिन्न स्थानमा गएको पहिरो पन्छाइएपछि र अस्थायी बाटो बनाउन थालिएपछि बीपी लोकमार्गबाहेकमा यातायात सञ्चालनमा आएको छ । सडक विभागका अनुसार सोमबारसम्ममा पृथ्वी लोकमार्ग, काठमाडौं–हेटौंडा र हेटौंडा–धरान चतरा जोड्ने तीनवटा सडक सञ्चालनमा आएका छन् ।

त्रिभुवन राजपथअन्तर्गत हेटौंडा–भैंसे सडक र सिमभञ्ज्याङ–पालुङ–नौबिसे सडकमार्ग पनि सोमबार बिहानदेखि सुचारु भएको छ ।

सडक विभागका प्रवक्ता तथा उपमहानिर्देशक उमेशबिन्दु श्रेष्ठका अनुसार बीपी लोकमार्गका विभिन्न ठाउँमा पक्की सडक र पुल बगाएका कारण अस्थायी रूपमा सञ्चालनमा ल्याउन पनि कठिन भएकाले तत्काल खुल्न सक्ने सम्भावना कम भएको छ । सो सडकमा १ हजार ४ सय मिटर सडक नै भासिएको छ ।

पृथ्वी लोकमार्गमा पहिरो पन्छाउँदै गर्दा अलपत्र यात्रुलाई आपत्कालीन रूपमा सुरुङमार्ग हुँदै काठमाडौं ल्याइएको थियो । बीपी लोकमार्गमा भने केही हेलिकोप्टरबाट र अधिकांश हिँडेर गन्तव्यतर्फ लागेका थिए ।

यसैबीच, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पछिल्लोपटकको प्राकृतिक प्रकोपबाट भौतिक पूर्वाधार क्षेत्रमा साढे २५ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको जानकारी दिए ।

भौतिक तथा पूर्वाधार मन्त्रालयले हालसम्म संकलन गरेको विवरणनुसार सडक, बाटो, पुल, झोलुंगे पुल र अन्य भौतिक क्षेत्रमा गरी साढे २५ अर्बभन्दा बढीको क्षति भएको उनको भनाइ छ । राष्ट्रिय स्तरका सडक र पुलमा मात्रै २ अर्ब ६७ करोडको क्षति पुगेको र ४२ सडकखण्ड अझै अवरुद्ध रहेका बताइएको छ । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार