‘जनता बाढीमा डुब्दा मन्त्रीहरू, सांसद्‌ तथा पार्टीका नेताहरूले फोन नै उठाएनन्‌’ : भण्डारी

1.9k Shares

काठमाडौं – नेपाली कांग्रेसका सांसद्‌ शंकर भण्डारीले प्राकृतिक विपद्को समयमा पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरू, सांसद्‌ तथा पार्टीका नेताहरूले फोन नउठाएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा उनले लगातारको वर्षापछि गएको बाढीपहिरो र डुबानले नागरिक समस्या पर्दा उद्धार तथा राहतका लागि सांसद्‌ र नेताहरूले गरेको फोन कांग्रेसकै मन्त्रीहरूले नउठाएको भन्दै आपत्ति जनाएका हुन् ।

‘नेपाली कांग्रेसका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूले सांसद्‌ तथा पार्टीका नेता एवम् जिल्ला सभापतिहरूको समेत फोन नउठाएको, सुझाव तथा माग नसुनेको भन्ने जस्ता गुनासाहरू सबैतिरबाट आएका छन्,’ भण्डारीले भने, ‘माननीय मन्त्रीहरू पार्टीप्रति जवाफदेही हुने संस्कारको विकास हुनुपर्दछ । मन्त्रीहरूले आफ्नो कार्यशैलीमा तत्काल सुधार गरी सांसद्‌ तथा पार्टीका नेताहरूको राय सल्लाहबमोजिम काम गर्न सुझाव दिन चाहन्छु ।’

सांसद्‌ भण्डारीले सम्भावित प्राकृतिक विपद् तथा जोखिमको पूर्वसूचना प्राप्त भएको अवस्थामा जोखिम तथा क्षति न्यूनीकरणका लागि यथेष्ट समय उपलब्ध हुँदा पनि सरकारको तर्फबाट गरिएका तयारी अत्यन्त फितलो तथा अपर्याप्त देखिएको बताए । ‘विपद् व्यवस्थापनमा समन्वय र जवाफदेहितामा गम्भीर अभाव देखियो,’ उनले भने ।

भण्डारीले ललितपुरको नख्खु खोला किनारको टहरोमाथि उद्धारको याचना लामो समय गर्दा उद्धार हुन नसकेको घटनाले विश्वव्यापी चर्चा पाएको भन्दै उक्त घटनाले नेपालको राज्य संयन्त्र कमजोर र गैरजिम्मेवार रहेको सन्देश विश्वभर फैलिएको दाबी पनि गरे ।

उनले विपद्को समयमा सरकारले संघीय राजधानी काठमाडौंमै जनधनको सुरक्षा गर्न नसकेको भन्दै सरकारको आलोचना गरे । भण्डारीले विपद्को समयमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट सोमबार व्यक्त अभिव्यक्तिहरू समय सुहाउदो नदेखिएको भन्दै कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाको ध्यानाकर्षण गराए ।

सम्बन्धित समाचार