लेखनाथ । सहकारी ठगीको उदाहरण बनेको कास्कीको पोखरा–४, बगाले टोलमा रहेको सूर्यदर्शन सहकारीमाथि अनुसन्धान जारी छ । सूर्यदर्शनमा प्रविधि, पहुँच र विभिन्न दृश्य/अदृश्य पात्र खडा गरी साढे १८ हजार बचतकर्ताको एक अर्ब ३५ करोड रकम अपचलन भएको छ ।
देशका मुख्य सहरमा सहकारी खोल्ने, त्यहाँ रकम जम्मा गरी आफ्ना तीन दर्जन कम्पनी र आफन्तका खातामा पठाएर योजनाबद्ध रूपमा ठगी गर्ने गीतेन्द्रबाबु (जिबी) राईको समूहको सिकार सूर्यदर्शनका बचतकर्ता परेका छन् । सूर्यदर्शनसहित जिबी समूहले चलाएका सहकारीले एउटै सफ्टवेयर प्रयोग गर्ने गरेको खुलेको छ ।
जिबीकै कम्पनी गोर्खा वेब लिङ्क प्रालिले बनाएको जिसिएच बैङ्किङ सफ्टवेयरमार्फत यी सहकारीको रकम परिचालन हुने गरेको थियो । जहाँसुकै बसेर, जुनसुकै सहकारीको रकम, जता पनि पठाउन मिल्ने यो सफ्टवेयरको दुरुपयोग गरी माग फाराम नै नभरी, आवश्यक कागजपत्रबिनै ऋण लगानी भएको देखिएको छ ।
त्यति मात्र होइन, राईका आफन्त, यो समूहले चलाएको गोर्खा मिडिया, त्यहाँका व्यावसायिक साझेदारका नाममा पनि सहकारीको रकम गएको देखिएको छ । यही मुद्दामा अहिले पूर्वगृहमन्त्रीसमेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक छविलाल जोशी कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ ।
कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्ले सहकारी ठगीमा अनुसन्धान भइरहेकोमा अब पूरक अभियोग लैजाने तयारी भएको बताउनुहुन्छ । अब सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरणमा पनि अभियोग दर्ता गर्ने तयारी छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन प्रकरणमा अहिले पुर्पक्षका लागि जेलमा रहेकासँग पनि फेरि बयान लिएको छ ।
पछिल्लो अनुसन्धानमा ठगीका नयाँ नयाँ स्वरूप उजागर भएका छन् भने बिगो पनि बढ्ने देखिएको छ । सेयर सदस्य र बचतकर्ताको रकम कहाँ गयो भन्ने तथ्यलाई केन्द्रमा राखेर अनुसन्धान भइरहेको काफ्लेको भनाइ छ । “बचत कहाँ गयो भन्ने कुरालाई केन्द्रमा राखेका छौँ । बयानमुखीभन्दा पनि प्रमाण देखाउँदै ‘भेरिफाइ’ गर्दै बयान लिएका छौँ । आवश्यक ठाउँमा बयानसँगै प्रमाण पनि संलग्न गरेका छौँ ।”
अनुसन्धानका क्रममा सहकारीको रकम अपचलनका लागि दृश्य/अदृश्य पात्र खडा गरिएको भेटिएको छ । ऋण दिएका व्यक्ति र कम्पनीको पूरा अभिलेखै राखिएको देखिँदैन । संसदीय छानबिन समितिको प्रतिवेदन, स्थानीय तहका प्रतिवेदनलाई सामग्रीका रूपमा लिएर सम्बन्धित निकायसँग आवश्यक कागज, प्रमाण झिकाएर अनुसन्धान जारी छ ।