स्कुलमा छैनन् सद्दे डेस्कबेञ्च, भुईंमै बसेर पढ्छन् विद्यार्थी

1.9k Shares

काठमाडौं । दार्चुलाको नौगाड गाउँपालिका–५ स्थित नौगडेश्री आधारभूत विद्यालयको कक्षा ४ मा पढ्ने सुन्दर रावल भाँचिएको डेस्कबेञ्चमा फलामे किला ठोकेर जोडजाम गर्दै थिए । अरु विद्यार्थी यत्रतत्र फालिएका डेस्कबेञ्च मिलाउँदै थिए ।

पढ्नुपर्ने समयमा डेस्कबेञ्च ठोकठाक गरिरहेका रावलले भने, ‘सबै पुरानो छ । भाँचिएको भएर किला ठोक्न लागेको हुँ ।’

शिक्षक र कार्यालय सहयोगी भने प्रधानाध्यापकको कोठामा गफिएर बसेका थिए भने यता विद्यार्थी कक्षा कोठामा शिक्षक कुरिरहेका थिए । १ देखि ५ कक्षासम्मका विद्यार्थीलाई एउटै कक्षामा राखिएको थियो । ‘सबै कक्षाको एकै ठाउँमा बसेका छौं । सर पढाउन आउनु भएको छैन,’ कक्षा कोठामा रहेका विद्यार्थीहरूले भने ।

डेस्कबेञ्च नहुँदा भुईंमा बसेर पढ्नु परेको दुःखेसो विद्यार्थीहरूले गरे । ‘पुरानै डेस्कबेञ्च  मर्मत गरेर विद्यार्थी राखेका छौं । नयाँ कतैबाट आएको छैन,’ प्रधानाध्यापक चन्द्रराम टमटाले भने, ‘विद्यार्थीलाई भुईंमा राख्नुपर्छ । कार्पेट छ तर, पुग्दैन ।’

विद्यालयमा कार्पेट बिच्छ्याइएको थियो तर धुलाम्मे थियो ।‘गाउँपालिकालाई भनेका छौं । अहिलेसम्म उपलब्ध भएको छैन,’ प्रधानाध्यापक टमटाले भने । तर, गाउँपालिका कार्यालयबाट नजिकै रहेको विद्यालयमा स्थानीय सरकारको नजर पनि परेको देखिँदैन ।

विद्यालयको भवन पनि चर्किएको छ । जोखिम मोलेर विद्यालय सञ्चालन गरिरहेको बताउँछन् प्रधानाध्यापक टमटा । ‘विद्यालयको भवन चर्किएको र कोठामा विद्यार्थी राख्न जोखिम छ । पालिकामा जानकारी गराएका छौं,’ उनले भने ।

सम्बन्धित समाचार