सेभ द चिल्ड्रेनले मनायो शताब्दी महोत्सव

1.9k Shares

काठमाडौँ । सेभ द चिल्ड्रेनले बालअधिकार प्रवर्धनसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय दस्तावेज जेनेभा घोषणापत्र जारी भएको १०० वर्ष पुगेको अवसरमा बालअधिकारको शताब्दी महोत्सव मनाएको छ । सेभ द चिल्ड्रेनका संस्थापक एग्लेन्टाइन जेबको नेतृत्वमा जारी भएको यो घोषणापत्रले विश्वभर नै बालअधिकार पैरवीका लागि ऐतिहासिक आधारशिला निर्माण गरेको थियो । बालअधिकारको क्षेत्रमा विश्वभर सेभ द चिल्ड्रेनले एक अग्रणी एवम् स्वतन्त्र संस्थाको रुपमा काम गर्दै आएको छ ।

नेपालमा सेभ द चिल्ड्रेनले बालअधिकार प्रवर्धनका लागि बालबालिकासँग चार दशक लामो यात्रा पूरा गरेको उपलक्ष्यमा एक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा सेभ द चिल्ड्रेन नेपाल र भुटानका राष्ट्रिय निर्देशक तारा क्षेत्रीले बालअधिकार सुनिश्चितताका लागि बालबालिका, समुदाय र नागरिक समाज संगठनहरुसँगको सहकार्य गर्दै आएको बताए ।

बालबालिकाहरुले जलवायु परिवर्तन सिर्जति विपद्हरुदेखि अनलाइनरअफलाइन जोखिमसम्मका चुनौतीहरूको सामना गरिरहेको अहिलेको समयमा बालबालिकाका अधिकारका लागि अझ बढी सहकार्य गर्न आवश्यक रहेको बताए । नेपालमा बालअधिकारलाई राष्ट्रको विकास र समृद्धिको आधार बनाउन संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारहरुसँग थप समन्वय र पहलका लागि आह्वान गरे ।

कार्यक्रममा ‘नेपालमा बालअधिकार अभियानः अवसर र भावी मार्गचित्र’ शीर्षकको अध्ययन प्रतिवेदन पनि सार्वजनिक गरिएको थियो । प्रतिवेदनले देशमा बालअधिकारको विकास क्रमलाई समीक्षा गर्दै आगामी प्राथमिकताहरू प्रस्तुत गरेको छ । उक्त दस्तावेजले बालबालिकामा रणनीतिक लगानी बढाउनुपर्ने र नेपालको बालअधिकार अभियानले हासिल गरेका उपलब्धिहरुलाई दिगो रुपमा कायम राख्न भावी पुस्ताका बाल अभियन्ताहरु तयार गर्नुपर्नेमा जोड दिएको छ ।

सम्बन्धित समाचार