
काठमाडौं– नेपाल विद्युत प्रधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ शुक्रबार काठमाडौंमा आयोजित पूर्वाधार पत्रकार समाजको तेस्रो साधारणसभामा अतिथिका रुपमा निम्त्याइएका थिए । त्यहाँ उनी सिमेन्ट उद्योगीहरुप्रति आक्रोशित रुपमा प्रस्तुत भए । सिमेन्ट उद्योगीहरुले मूल्य बढाएर कालोबजारी गरेको घिसिङको आरोप छ ।
सिमेन्टको मूल्य एकैपटक २०० रुपैयाँ बढाएको विषयलाई लिएर कालोबजारीको संज्ञा दिँदै कुलमानले आक्रोश पोखेका हुन् ।
कुलमानको अभिव्यक्तिको साक्षी भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल थिए । मन्त्री दाहाल प्रमुख अतिथि भएको कार्यक्रममै कुलमानले उद्योगीप्रति आक्रोश पोखेका थिए ।
कुलमानभन्दा अगाडि नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले मन्तव्य दिएका थिए । रविले सिमेन्ट उद्योगमा अहिले लोडसेडिङ भएका कारण केही महिना अगाडिसम्म ४०० रुपैयाँमा पाइने सिमेन्ट अहिले बढेर ७०० रुपैयाँसम्म पुगेको बताएकाम थिए । उनले यसमा कुलमान घिसिङ र मन्त्री दाहालको ध्यानाकर्षणसमेत गराए ।
‘अहिले सिमेन्ट उत्पादकहरुले के भनिरहेका छन् भने, अघोषित लोडसेडिङ भएको छ । त्यसले गर्दा पनि हाम्रो उत्पादन लागत बढेको छ भन्ने गरेका छन्’, अध्यक्ष सिंहले कुलमानलाई सुनाउँदै भने, ‘त्यसले गर्दा २ महिना अगाडि ४०० रुपैयाँमा सिमेन्ट पाइन्थ्यो, अहिले ७१० रुपैयाँ पुर्याइएको छ ।’
निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह
सिंहले थपे, ‘अहिले सिमेन्ट उद्योगमा लाइन काटेका कारणले गर्दा, आम उद्योगीहरु बाध्य भएर ७१० रुपैयाँमा सिमेन्ट बेच्न बाध्य भएका छन् ।’
कुलमानले नेपालको नियम कानुन केही पनि नमानेको भन्ने आशयको अभिव्यक्ति दिँदै सिंहले नेपालको कानून पूर्वधारमैत्री भएको बताए । निर्माण व्यवसायीहरुका अगुवा सिंहले भनेको त्यही कुराको जवाफ कुलमानले मञ्चबाटै दिएका हुन् ।
गत असोजमा आएको बढीले ४०० मेघावटको तामाकोशी जलविद्युत आयोजना बिग्रिएको, कालीगण्डकीको एउटा आयोजना बन्द भएको र अर्को ५०० मेघावाटको आयोजना पनि बन्द भएका कारणले गर्दा विद्युत कम भएको कुलमानले स्पष्टीकरण दिए ।
उनले भने, ‘यतिका आयोजना बन्द हुँदा पनि हामीले लोडसेडिङ हुन दिएका छैनौँ । बिहानको पिक आवर र बेलुकाको पिक आवरमा उद्योगीलाई कम चलाउनुहोस् है भनेको हो ।’
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल
कुलमानले आक्रोशित हुँदै थपे, ‘२–४ महिना, २–४ घण्टा विद्युत कम आयो भनेर सिमेन्टको मूल्य बढाउन पाइन्छ ? सिमेन्टको लागतमध्ये ७ देखि बढीमा १० प्रतिशत मात्र विद्युतमा खर्च लाग्छ, ९० प्रतिशत खर्च अन्य कुरामा हुन्छ । विद्युत २ घण्टा पाइएन भनेर सिमेन्टमा सय रुपैयाँ बढाउन पाइन्छ ?’
उनले अगाडि भने, ‘उद्योग कहिल्यै पनि २४ घण्टा चल्न सक्दैन। हामीले भारतलाई बेच्नु परेका बेला उहाँहरु बिजुली २४ घण्टा चलाउनु हुन्न । जब हामीले उताबाट मगाउनुपर्ने बेला हुन्छ, तब उहाँहरुलाई २४ घण्टा विद्युत चाहिन्छ।
कुलमानले अझ थपे, ‘उद्योग दैनिक १६–१७ घण्टाभन्दा बढी चल्दै चल्दैन। दिउँसो दिएको छ, राति दिएको छ। अहिले ५०० मेघावाट कम भएकाले गर्दा तपाईहरुले मिलाउनुस् भन्दा यत्रो हल्ला ? यो लोडसेडिङ होइन, यो प्राविधिक समस्या हो।’
अबको १० दिनभित्र तामाकोशी आउने र अहिलेको समस्या समाधान हुने घिसिङले बताए। उनले भने, ‘विद्युतलाई देखाएर सामानको भाउ बढाउन पाउँदैनन्। यो गलत हो। यो कालोबाजारीअन्तरगत पर्छ ।’
अहिले केही प्राविधिक कारणले गर्दा मात्र उद्योगमा केही घण्टाको लोडसेडिङ हुने गरेको जिकिर गरे । उनले भने, ‘लोडसेडिङ भयो भन्नासाथ र विद्युत प्राधिकरण घाटामा गयो भन्नसाथ खुशी मनाउने जमात पनि छ । लोडसेडिङलाई देखाएर कसरी आफूले कमाउने भन्ने गरेका छन्।’ यति बोलेर कुलमान कार्यक्रमस्थलबाट बाहिरिएका थिए।
कार्यक्रममा बोल्दै स्वतन्त्र उर्जा उत्पादक संघका अध्यक्ष गणेश कार्की
कुलमान हिँडेपछि कार्यक्रमलाई सम्बोधन गर्दै स्वतन्त्र उर्जा उत्पादक संघ, नेपालका अध्यक्ष गणेश कार्कीले कुलमानप्रति असन्तुष्टि पोखे ।
तर, कार्कीले पनि कुलमानकै भनाइमा सही थाप्दै सिमेन्टको मूल्यवृद्धिलाई कालोबजारीको संज्ञा दिए । ‘सिमेन्टको मूल्य त्यसरी बढाउनु भनेको त्यो कालोबाजारी हो’, कार्कीले भने, ‘त्यस्तालाई कारबाही गर्न मन्त्रीज्यूलाई आग्रह गर्छु ।’
उनले भने, ‘त्यसरी मनपरी तरिकाले मूल्य बढाउने हो भने हामी विद्युत उद्योगीले पनि मूल्य बढाउनुपर्छ, अन्यथा हामी पनि विद्युत उत्पादन रोक्छौँ पूर्वाधार मन्त्री दाहालले बताए ।