
काठमाडौँ । सरकारले अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले समपूरक अनुदान सम्बन्धी कार्यविधि २०८१ र विशेष अनुदान सम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए ।
त्यस्तै सहलगानीसम्बन्धी कार्यविधि २०७७ र कोभिड १९ को महामारीबाट प्रभावित अतिविपन्न परिवार नगद हस्तान्तरण कार्यविधि २०७८ खारेज गर्ने निर्णय गरिएको उनले बताए ।
बैठकले एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाललाई मनोनयन गरेको छ भने जग्गा प्राप्ति तथा अचल सम्पत्ति अधिग्रहण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत प्रदान गरिएको सरकारका प्रवक्ता गुरुङले बताए ।
मन्त्रिपरिषद्ले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्ति गर्न गठित सिफारिस समितिको कार्यविधि ३५ दिन थप गर्ने निर्णय गरेको उनले बताए ।