अमेरिकाबाट सुरु भयो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन

2.6k Shares

न्यूयोर्क– सबैभन्दा धेरै पुरस्कार राशि भएको विश्वस्तरीय नेपाली गायन र नृत्यका रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन दुईको अडिसन अमेरिकाको ओहायोबाट सुरु भएको छ । संसारका ५ महादेशहरूमा पर्ने १२ देशका १४ शहरहरूमा तय गरिएका डिसनको सुरुवात अमेरिकाको कोलम्बसबाट जनवरी २५ र २६ मा भएको छ ।

अमेरिका र क्यानडाका नेपाली जातिका गायन र नृत्यका प्रतिभाहरू सम्मिलित एक भव्य समारोहका बीच आयोजक संस्था इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले पानसमा बत्ती बालेर शुभारम्भ गरेका थिए । विश्वभर छरिएर रहेका नेपाली जातिका कलाकारबीच प्रतिष्पर्धा गराइने यी दुबै शो का विजेताले १ करोड, उपविजेताले २५ लाख र तेस्रो हुनेले १० लाख पुरस्कार पाउने छन् ।

शुभारम्भका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै फाउण्डेसनका अध्यक्ष अधिकारीले संसारको जुनसुकै कुनामा बसे पनि आफ्‌नो मौलिक संस्कृतिलाई जीवन्त राख्न प्रयत्न गरिरहनु पर्ने बताए । उनले नेपाली जातिको अमूल्य संस्कृतिले नै आफूहरूलाई नेपाली बनाएको भन्दै यसलाई जोगाउन विश्वस्तरीय दुई शोहरु सुरु गरिएको बताए ।

नेपाली जातिको संस्कृतिलाई गीत, सङ्गीत र नृत्यका माध्यमबाट अर्को पुस्तासम्म पुस्तान्तरण गर्ने, यही माध्यमबाट नेपाली जातिको एकतालाई संसारभर मजबुत पार्ने र जहाँसुकै बसे पनि नेपाली जातिलाई नेपाल देशसँग जोड्ने उद्देश्यले गैरनाफामूलक संस्था फाउण्डेसनले शो आयोजना गर्दै आएको पनि उनले जानकारी दिए ।

अमेरिकाबाट सुरु भएको अडिसन युरोपका लण्डन र पोर्चुगल, जापानको टोकियो, चीनको हङ्गकङ्गमा फेब्रुअरी १५ र १६ मा हुँदैछ भने अष्ट्रेलियाको सिड्नीमा फेब्रुअरी २३, थाइल्याण्डको बैकक, युएईको दुबईमा फेब्रुअरी २२ र २३ मा हुने जानकारी पनि दिइयो ।

त्यसैगरी, कतारको दोहामा फेब्रुअरी २१ मा र भारतको मुम्बईमा मार्च १ र २ मा अडिसन हुने छन् । भारतको सिलगुडीमा मार्चको ८ र ९ तारिकमा अडिसन सम्पन्न गरेपछि नेपालका विभिन्न चार शहरहरू बिर्तामोड, पोखरा, नेपालगञ्ज र काठमाडौं अडिसन सम्पन्न गरी संसारभरबाट छानिएका प्रतिभाहरूलाई फाउण्डेसनले आफ्‌नै खर्चमा नेपाल लैजाने र बाँकी प्रतिष्पर्धालाई अघि बढाउने छ । दुवै शो हरु नेपाल टेलिभिजनबाट प्रसारण गरिने जानकारी पनि कार्यक्रममा दिइएको थियो ।

सम्बन्धित समाचार