इलाममा उत्पादित जडीबुटीको तेल विदेशसम्म

1.7k Shares

इलाम – इलाममा उत्पादित जडीबुटीको तेल विदेश निर्यात हुने गरेको छ । माईजोगमाई गाउँपालिकामा रहेको नित्यराज दहालको उद्योगमा उत्पादित तेल विदेश निर्यात हुन थालेको हो । दहालले १३ वर्षअघि स्थापना गरेको यस उद्योगबाट गएको वर्षदेखि तेललगायत स्थानीय जडीबुटी विदेश निर्यात हुन थालेको बताउनुभयो । उहाँले विशेषगरी फ्रान्समा यहाँबाट उत्पादित वस्तु जाने गरेको जानकारी दिनुभयो ।

पाती, धूपी, मेन्था, धसिङ्गरेलगायत स्थानीय जडिबुटीबाट तेल निकालिने गरिएको र त्यसमध्ये पाती, मेन्था र धूपीबाट प्रशोधित तेल विदेश निर्यात हुन थालेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार विदेशीले नेपाली प्राकृतिक वस्तु मन पराउने गरेका छन् । त्यसैले मागअनुसार उत्पादन भइरहेको उहाँले बताउनुभयो ।

धूपीको तेल किलोको दुई हजार पाँचसय, तीतेपातीको तेल किलोको छ हजार, मेन्थाको तेल किलोको सात हजार र धसिंगरेको तेल किलोको सात हजार रुपैयाँमा बिक्री हुने गरेको छ । दहालले ३५ रोपनी जमिनमा यस्ता विभिन्न वनस्पतिको खेती गर्दै आउनुभएको छ ।

यहाँबाट उत्पादित तेल रुघाखोखी, घाँटी दुखेको बेला प्रयोग गर्ने, चोट लागेको ठाउँमा मालिस गर्ने र हाडजोर्नीको समस्या भएका, ढाड दुखेका बिरामीहरूले यसको बढी प्रयोग गर्ने गरेको दहालको भनाइ छ । 

सम्बन्धित समाचार