
काठमाण्डौ – माध्यमिक शिक्षा परीक्षा (एसईई) को केन्द्र राख्न न्यूनतम विद्यार्थी सङ्ख्या तोकेपछि परीक्षा केन्द्र टाढा हुने जोखिम बढेको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शिक्षा विकास तथा समन्वय इकाईलाई पत्र पठाएर न्यूनतम विद्यार्थी सङ्ख्या रहनेगरी मात्रै परीक्षा केन्द्र तोक्न भनेपछि समस्या पर्ने भएको हो ।
बोर्डका अनुसार दुर्गम र हिमाली क्षेत्रमा एउटा परीक्षा केन्द्रमा कम्तीमा एक सय ५० जना, पहाडी क्षेत्रमा दुई सय ५० जना तथा तराई/मधेस र काठमाण्डौ उपत्यकामा कम्तीमा तीन सय जना विद्यार्थी रहने गरी केन्द्र निर्धारण गर्नुपर्छ । तर हिमाली क्षेत्रमा एक सय ५० र पहाडी क्षेत्रमा दुई सय ५० विद्यार्थी जुटाउन धेरै विद्यालयका लागि एउटै परीक्षा केन्द्र तोक्नुपर्ने हुन्छ ।
सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा रहेका तीनवटा माध्यमिक विद्यालयमा गरी ७१ जना मात्रै विद्यार्थी छन् । सङ्ख्या नपुगेर गाउँपालिकाभर परीक्षा केन्द्र नहुँदा विद्यार्थीहरु परीक्षा दिन झन्डै १० घण्टा टाढा सदरमुकाम पुग्नुपर्छ । सोलुखुम्बुकै खुम्बुपासाङल्हमु गाउँपालिकामा पनि एउटा परीक्षा केन्द्र राख्न विद्यार्थी पुग्दैनन् । यस्तो समस्या अरू धेरै पालिकामा रहेको छ ।