बागमतीका करिब ३ लाख किशोरीलाई एचपीभी खोप लगाइँदै

1.7k Shares

हेटौँडा । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत बागमती प्रदेशका करिब ३ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने भएको छ । मंगलबारदेखि सुरु हुने अभियान अन्तर्गत प्रदेशका २ लाख ९८ हजार ३०५ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप लगाइने भएको हो ।

अभियानको औपचारिक उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले हेटौँडा–१० स्थित ज्ञानदा माध्यमिक विद्यालयबाट बिहान ११ः ३० बजे सुरु गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अभियान अन्तर्गत मुख्यमन्त्री लामाले उक्त विद्यालयमा खटिएका प्राविधिकहरूलाई खोप हस्तान्तरण गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका निर्देशक नरेन्द्र झाका अनुसार राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत २२ माघदेखि ६ फागुनसम्म प्रदेशका १३ जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई एचपीभी विरुद्धको खोप दिइने भएको हो । उनले प्रदेशका १३ जिल्लाका विद्यालयमा अध्ययनरत ६ कक्षादेखि १० कक्षासम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई उक्त खोप दिन लागिएको बताए ।

विद्यालय र खोप केन्द्रहरूबाट उक्त खोप दिइनेछ । खोप अभियान सञ्चालनका लागि ८ हजार ७३६ स्वयंसेवक र ४ हजार ३२४ जना कर्मचारी खटाइने भएको छ ।

सम्बन्धित समाचार