
काठमाडाैँ – रुसको राजधानी मस्कोको एक अत्याधुनिक आवासीय भवनमा सोमबार भएको विस्फोटमा परी एक व्यक्तिको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएका छन् ।
रूसी सरकारी सञ्चारमाध्यमका अनुसार आक्रमणमा पूर्वी युक्रेनका एक पूर्व बक्सिङ अधिकारी आर्मेन सार्किसियन पनि घाइते भएको बताइएको छ । सार्किसियनले किएभविरुद्ध लड्न बटालियन स्थापना गरेका थिए । युक्रेनविरुद्ध पूर्ण आक्रमण सुरु गरेदेखि नै रुसमा हत्या र रहस्यमयी विस्फोटका शृङ्खलाबद्ध आक्रमण भइरहेका छन् ।
‘विस्फोटमा परी एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्’, स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै रूसी समाचार संस्था तासले जनाकारी गराएको छ, ‘घाइतेको अवस्था गम्भीर छ।’
युक्रेनको पूर्वी सहर गोर्लिभ्कामा पृथकतावादी बक्सिङ महासङ्घका प्रमुख सार्किसियनको विस्फोटमा परी मृत्यु भएको रुसी सञ्चारमाध्यमले सुरुमा बताए पनि उहाँ घाइते अवस्थामा रहेको बताइएको छ ।