
कास्की – गण्डकी प्रदेशमा यस वर्ष ४ अर्ब १७ करोड २७ लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ । कृषि विकास निर्देशनालयको प्रारम्भिक तथ्याङ्कानुसार ६६ हजार ५ सय ७८ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । प्रदेशका ९ वटा जिल्लामा ५ हजार ७ सय ३ हेक्टरमा सुन्तला उत्पादन भएको निर्देशनालयका कृषि अर्थ विज्ञ मनोज पौडेलले जानकारी दिनुभयो ।
वर्षेनि सुन्तलाखेतीको क्षेत्रफल विस्तार पनि भइहेको छ । देशमै सबैभन्दा धेरै सुन्तलाखेती हुने स्याङ्जाले वर्षेनि उत्पादनको ठूलो हिस्सा ओगट्छ । गण्डकीमा मुस्ताङ र मनाङ जिल्लामा भने सुन्तलाखेती हुँदैन । किसानले पाउने प्रतिकिलो सुन्तलाको औसत मूल्य ६७ रुपैयाँका आधारमा उत्पादनको कुल मूल्य निर्धारण गरिएको कृषि अर्थ विज्ञ पौडेलले जानकारी दिनुभयो । शुरूमा केही कम मूल्य परे पनि पछिसम्म बोट र चिस्यान केन्द्रमा राखेर बेच्ने किसानले सुन्तलाको भाउ बढाउँदै लैजान्छन् ।
जिल्लागत रूपमा पनि सुन्तलाको औसत मूल्य फरक–फरक रहेको छ । किसानको बगैँचाबाट बजारमा आएपछि पाउने बिक्री मूल्यको त लेखाजोखा नै नहुने निर्देशनालयले जनाएको छ । जिल्लाहरूले पठाएको प्रतिवेदन र तथ्याङ्क विश्लेषण गरेर प्रदेशभरिको उत्पादन सार्वजनिक गर्ने गरिएको हो । नयाँ बोटले फल दिन थाल्नु, उत्पादन क्षेत्र विस्तार, बगैँचाको सही व्यवस्थापनजस्ता कारणले सुन्तला उत्पादनमा वर्षेनि वृद्धि हुँदै आएको निर्देशनालयले जनाएको छ ।
मुस्ताङ र मनाङबाहेक प्रदेशका ९ वटा जिल्लामा गरी कुल ८ हजार ५ सय १६ हेक्टरमा सुन्तलाखेतीले ओगटेको छ । रोगकीराको प्रकोप, कलमी बिरुवाको अभाव, बगैँचा व्यवस्थापन, सुन्तला टिप्नेदेखि सुरक्षित भण्डारण र ढुवानी, बजारको अभावजस्ता समस्या सुन्तला किसानले बेहोर्दै आएका छन् । बोट सुकेर मर्ने रोग, औँशे किरालगायतले पनि सुन्तलाखेतीमा क्षति पुर्याउने गरेको छ ।