
काठमाण्डौ – बाग्मती प्रदेशका सभामुख भुवनकुमार पाठकको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । भोलिका लागि बोलाइएको प्रदेशसभा बैठकलाई सहज बनाउने र दलहरूबीच सहमति कायम गर्ने उद्देश्यले आज दिउँसो ३ बजे सभामुख पाठकले बैठक आह्वान गर्नुभएको हो ।
प्रदेशसभाको हिउँदे अधिवेशन यही माघ १८ गते मात्र शुरू भएको थियो । बैठकमा तीन वटा विधेयक पेश गर्ने भनिए पनि दलहरूबीच विशेषगरी बजेट कार्यान्वयनका विषयमा सहमति नजुट्दा विधेयक पेश हुन सकेनन् ।
यही कारण आउँदो बैठकलाई प्रभावकारी बनाउन सभामुख पाठकले सर्वदलीय छलफलको पहल गर्नुभएको हो ।
सत्तापक्षमा रहेका नेपाली कांग्रेस र नेकपा (एमाले) ले सरकारले अघि सारेका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै आएका छन् । प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) तथा अन्य दलहरूले बजेट खर्चको पारदर्शीता र प्रभावकारिता सुनिश्चित गर्नुपर्ने माग अघि सारेका छन् ।