
काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसले जिल्ला नेतृत्वलाई संगठन र समसामयिक सन्दर्भमा ‘पढाउन’ कास्कीको पोखरामा जम्मा गरेको छ । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत् कांग्रेसले ७७ वटै जिल्लाका सभापतिहरूलाई ‘पढाउन’ पोखरा बोलाएको हो ।
दुई दिनसम्म चल्ने ‘पढाइ’का लागि कांग्रेसले सभापतिहरूसँगै जिल्ला प्रशिक्षण शाखा प्रमुखको जिम्मेवारीमा रहेका ७७ वटै जिल्लाका उपसभापतिहरूलाई पनि पोखरा बोलाएको छ । कांग्रेसका दुई उपसभापतिमध्ये एक जनालाई जिल्ला प्रशिक्षण शाखा प्रमुखको जिम्मेवारी हुन्छ ।
पोखराको केसी क्याटरिङमा ‘जिल्ला सभापति र जिल्ला प्रशिक्षण शाखा प्रमुखहरूका लागि संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण’ उद्घाटन समारोहमा सभापति शेरबहादुर देउवाले प्रमुख अतिथिका रूपमा र प्रतिष्ठानका प्रमुख एवम् उपसभापति पूर्णबहादुर खड्काले सभापतिका रूपमा सम्बोधन गरे ।
कांग्रेस कास्की सभापति किशोरदत्त बरालले स्वागत गरेको अभिमुखीकरण उद्घाटन समारोहमा सहभागी केन्द्रीय कार्यसमितिका पदाधिकरी, केन्द्रीय सदस्यलगायत नेताहरूलाई यथास्थानमा आशन गराइएको छ ।