
डुम्रे – प्रसिद्ध धार्मिक स्थल देवघाट धाममा एक महिने महामहोत्सव चलिरहेको छ । महामहोत्सव लागेसँगै भक्तजनको आगमन बढ्दो छ । भीड बढेपछि जीर्ण अवस्थामा पुगेको झोलुङ्गेमार्फत आवतजावत गर्न भक्तजन बाध्य भएका छन् ।
तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुलबाट आवतजावतमा समस्या हुनाका साथै जोखिममा यात्रा गर्न भक्तजन बाध्य छन् । भीड धेरै हुँदा पुल चुँडिने जोखिम भएपछि आवतजावतका लागि सीमा तोकिएको छ ।
भक्तजनको भीडका कारण तोकिएको सीमा पार हुने गरेको स्थानीय बताउँछन् । जोखिम न्यूनीकरणका लागि एक पटकमा १०० जना मात्र आवतजावत गर्न स्थानीय प्रशासनले अनुमति दिएको छ । भीड बढी हुँदा अनुमति कार्यान्वयनमा आउन मुस्किल भएको छ । जोखिमबाट बच्नका लागि पुलको दुवैतर्फ प्रहरी परिचालन गरिएको छ ।