मोटोपनबाट पीडित हुनुहुन्छ ? जाने कि, जिम खाना

1.4k Shares

न मोटो न दुब्लो । ठिक्कको, चिटिक्कको सुन्दर र आकर्षक शरीरको चाहना कसलाई पो नहोला र ? तर सबै कुरा सोचे जस्तो भइदिँदैन । बाटोमा हिँड्दा देखिन्छ सहरका धेरै मानिस भुँडी बढ्ने रोगबाट पीडित छन् । उनीहरूलाई भ्यात्त बाहिर निस्केको भुँडीले असहज तुल्याइरहेको छ । हरेक वर्ग, उमेर समूहका मानिस सुन्दरताप्रति चासो राख्छन् । स्वास्थ्य एवं सुन्दरताको प्रमुख शत्रु हो मोटोपन । खासगरी ४० कटेका महिला तथा पुरुषहरू मोटोपनबाट पीडित देखिन्छन् । त्यसैले त हरेक बिहान मर्निङवाक गर्नेदेखि योग र जुम्बा चहार्ने मात्र होइन जिम गर्न धाउनेहरूको संख्या बढ्दै छ । त्यसरी चहार्नेको एउटै उद्देश्य हुन्छ–आफूलाई आकर्षक बनाउने, पेट घटाउने, स्लिम बन्ने ।
के यो सम्भव छ ? पक्कै छ । प्रयास गरे पूरा नहुने केही कुरो छैन । तर यसका लागि उचित उपाय अपनाउनुपर्छ भन्छन् भलु भैरब जिम एण्ड फिटनेस सेन्टरका सञ्चालक जीवन गरी ।
दक्षिण एसियाली बडी बिल्डिङ च्याम्पियनसिपमा काँस्य पदक जितेका उनी २०५५ सालमा छैटौं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताका विजेता हुन् । गिरीले मिस्टर नेपाल, मि. हिमालय, मि. काठमाडौं, मि. लुम्बिनी, मि. एभरेष्ट जस्ता प्रतियोगिता जितेर शारीरिक सुगठन तथा फिटनेसका क्षेत्रमा आफ्नो नाम चक्काइसकेका छन् ।
भारतको बम्बेमा भएको वल्र्ड पावर लिफ्टिङ फेडेरेसनको बैठकले गिरीलाई एसिया उपाध्यक्ष चयन गरेको छ । काठमाडौंमा तीनवटासहित पाँचवटा जिम सञ्चालन गरिरहेका गिरीले बुटवल र सुनुवलमा शाखा खोलेका छन् । ‘काठमाडौं बाहिरको जिम तथा फिटनेस त्यहींका भाइहरूलाई शाखा दिएको हुँ’, उनले भने, ‘त्यो सञ्चालनका लागि आवश्यक पर्ने आर्थिक तथा व्यवस्थापनको पाटो त्यहीँबाट नै जुटाइएको छ ।’
‘पछिल्लो समय स्वास्थ्यप्रति मानिस सचेत बन्दै गएका छन् । शारीरिक परिश्रमको अभावमा मानिसमा विभिन्न प्रकारका समस्या देखिन थालेपछि मानिस स्वास्थ्यप्रति सचेत बन्दै गएका हुन्’, गिरी भन्छन्, ‘पछिल्लो पुस्ताका लागि शारीरिक तन्दुरुस्ती र गठिलो शरीर निर्माणका लागि सहरबजारमा फिटनेस क्लब र जिम सेन्टर खुल्ने क्रम जारी छन् ।’
नेपालभर २ हजार भन्दा बढी जिम छन् । काठमाडौं उपत्याकामा करिब ५ सय जति फिटनेश सेन्टरहरू खुलेको छन् ।
जिम तथा फिटनेश सेन्टरमा सबै वर्गका मानिसहरू आउने गर्छन् । तर कोरानाका कारण भने अहिले कोही आएको अवस्था छैन गिरीले भने, ‘तीनवटा फिटनेश सञ्चालनका लािग मासिक ३ लाख जति खर्च लाग्छ । कोभिड–१९ का कारण जिमहरू बन्द छन् । प्रशिक्षक, कर्मचारीको तलब तथा घर भाडाले हामीलाई तनाव दिइरहेको छ ।’
बिहान ५ बजेदेखि राति १० बजेसम्म खुल्ने जिम सेन्टरमा एकैपटक ५० जनाभन्दा बढीले सेवा लिन सक्नेछन् । ‘गर्मी याममा जिम गर्न आउने मानिसहरू संख्या जाडो महिनाको तुलनामा धेरै नै हुन्छ’, गिरीले भने, ‘जिमको सिजन भनेको गर्मी याम नै हो ।’
महिनाको एक हजार देखि ३ हजार रुपैयाँमा शुल्क तिरेर स्वस्थतर्फ सचेत मानिस जिम जाने गरेको अनुभव गिरीको छ ।
भलु भैरब जिम तथा फिटनेश सेन्टरले सदस्यहरूलाई एक महिना, ३ महिना, ४ महिना र वर्ष दिनकोे फिटनेस प्याकेज उपलव्ध छ ।
भलु भैवर फिटनेश सेन्टरमा शारीरिक व्यायामका लागि अत्याधुनिक उपकरण जडान गरिएका छन् । जुम्बा, एरोबिक तथा फिटनेश, सावर सेवा यहाँ उपलब्ध छ । ‘जिम सेन्टर भित्र पनि कोही जुम्बा मात्रै गर्न आउँछन् । कोही दगुर्न मात्रै आउँछन्’, गिरीले भने, ‘युवतीहरू बढी मात्रामा शरीर तन्दुरस्त बनाउन आउँछन् । शारीरिक परिश्रम गर्दा मुटु रोगलाई राम्रो हुन्छ । रक्तचाप, मधुमेय रोगका बिरामीलाई राम्रो गर्छ । व्यायम गर्दा पाचन शक्ति बढ्छ । पाचन शक्ति बढेपछि कोरोनो भाइरस लाग्ने खतरा कम हुन्छ ।’
जन्मथलो कपिलवस्तु भएकाले कपिलबस्तुको तिलौराकोटमा बडी बिल्डिङ प्रतियोगिता गर्ने गरेका उनले सुनाए । भने, ‘बुद्ध जन्मस्थल तिलौराकोटको व्यापक प्रचार गर्ने उद्देश्यले नै मैले यो प्रतियोगिता गरेको हुँ । यो प्रतियोगितामा भलु भैरब जिम भित्रका खेलाडीले शारीरिक सुगठनमा भाग लिन्छन् ।’
शरीरको तौल घटाउनुको अर्थ शरीरबाट क्यालोरीको मात्रा घटाउनु हो । त्यसका लागि नियमित शारीरिक अभ्यासका साथै खानपिनमा पनि विशेष ध्यान दिनुपर्छ । ‘खानपिनमा त्यस्ता खाद्य पदार्थलाई समावेश गर्नु पर्छ, जसले क्यालोरी पनि घटाओस् र शरीरमा नकारात्मक प्रभाव पनि नपरोस्’, शरीर स्वस्थ्य राख्न चाहने युवालाई गिरीको सुझाव छ ।
माछा अथवा सेतो मासु । दूधबाट बनेका चिल्लोरहित खाद्यपदार्थ प्रयोग गर्दा शरीर फिट राख्न सकिन्छ खानामा ताजा सागसब्जी तथा फलफूलको मात्रा बढाउन सके शरीर तन्दुरुस्त राख्न सकिन उनको अनुभव छ ।

सम्बन्धित समाचार