हरिराम महर्जन ‘ठेचो’
चिन्ता ः चिन्ता भविष्यप्रतिको अविश्वास हो । चिन्ताको जननी पनि इच्छा नै हो । जब आउँदै गरेको भविष्य आफ्नो सोच अनुकुल हुने सम्भावना देख्दैन, भविष्यमा आउने प्रतिकुल परिस्थितिसँग सामना गर्ने सामथ्र्य हुँदैन तब मनमा उठ्ने बेचैनी तरङ्ग नै चिन्ता हो । चिन्ता एक किसिमको शंका हो । चिन्ता कुनै अपराधबोधको कारण हुने छटपटी हो । त्यसैले विद्वानहरू भन्छन् ‘चिन्ता भनेको कल्पना हो । चिन्ता डरकै स्वरूपमा उत्पन्न हुने मनको विकार हो । चिन्ता र भयको स्वरूप उस्तैउस्तै हुन् । संसारमा कोही पनि मानव चिन्ताबाट मुक्त छैन । मानिस संघर्षमय जीवनमा कहिले सफल त कहिले असफल हुन्छ । मानिसलाई सफलतामा पनि चिन्ता असफलतामा पनि चिन्ता हुन्छ । नेतालाई सत्ताको चिन्ता, सत्ताधारीलाई कुर्सीको चिन्ता, कर्मचारीलाई बढुवा, सुविधाको चिन्ता, उद्योगपतिलाई उत्पादन र नाफाको चिन्ता, किसानलाई उब्जनी र बजारको चिन्ता, मजुदरलाई मजदुरी र ज्यालाको चिन्ता, खेलाडीलाई पदकको चिन्ता, व्यापारीलाई नाफाको चिन्ता, विद्यार्थीलाई परीक्षाको चिन्ता, आमाबुबालाई सन्तानको चिन्ता, शिक्षक, डाक्टर, इन्जिनियरलाई पेशाकै चिन्ता, पाइलटलाई आकाशको चिन्ता, आखिर चिन्ताबाटमुक्त कोही छैन । धनी या गरिब कोही पनि चिन्ताबाट मुक्त छैनन् । संसारमा कसैलाई व्यक्तित्व बनाउने चिन्ता छ, कसैलाई इज्जत प्रतिष्ठाको चिन्ता छ । भोकाएकालार्ई भोजनको चिन्ता छ भने कसैलाई भोगको चिन्ता छ । बिमारीलाई रोगको चिन्ता छ । उसलाई उपचारको चिन्ता, उपचारको लागि खर्चको चिन्ता, खर्च व्यवस्थापनको चिन्ता, ऋण लिनुपर्ने चिन्ता, लिएको ऋण तिर्ने चिन्ता, खेतबारी गुम्ने चिन्ता, छोराबुहारीले हेरविचार नगर्ने चिन्ता, इज्जत गुम्ने चिन्ता, आत्मासम्मान नपाउने चिन्ता, साथीभाईबाट हेला हुने चिन्ता, सुविधाको चिन्ता, सबैभन्दा त अपमानको चिन्ता छ । कसैलाई कमाउने चिन्ता, कसैलाई लुकाउने चिन्ता, कसैलाई हराउने चिन्ता, कसैलाई गुम्ने चिन्ता, कसैलाई जोडिने चिन्ता, कसैलाई छुट्टिने चिन्ता, कसैलाई सुरक्षाको चिन्ता, कसैलाई हार्ने चिन्ता, चिन्तै चिन्तामा मानिस रुमल्लिएको छ । आखिर मानव जीवन चिन्ताबाट मुक्त हुन्छ कहिले ? चिन्ता दुई किसिमले उत्पन्न हुन्छ । कुनै कार्य गर्नुभन्दा अगाडि उत्पन्न हुने चिन्ता र कार्यपछि परिणामको कारण उत्पन्न हुने चिन्ता हुन्छ । बुद्धिमानीले चिन्ता होइन्, चिन्तन गर्छन् किनभने चिन्तनले कार्यमा गुणस्तरीयता ल्याउँछ, सफलता मिल्छ । चिन्ता मानसिक तनाव हो, मनको पीडा हो, बेचैनी हो । मान्छेहरू आफ्नो काबू बाहिरको सोचले धेरै चिन्तित हुन्छन् । अरूले राम्रो भनिदियोस्, राम्रो मात्र गरिदियोस्, हाँसिदियोस् इत्यादि कल्पनामा डुब्ने गर्छन् । छोरा÷छोरीले मान, सम्मान देउन्, हेरविचार गरुन भन्ने आमाबुबाको आशा हुन्छ । आमाबुबाले आपल्नो इच्छा चाहना पूरा गरिदेउन् भन्ने छोरा÷छोरीको चाहना हुन्छ । सबै मानिस समाजले आफूलाई इज्जत देउन् भन्ने अपेक्षा राख्छन् । उनीहरू कसैबाट अनपेक्षित केही नहोस् भनेर कल्पना गर्छन् । यसो विचार गर्दा राम्रो होस् भनि सोच्नु ठिकै हो जस्तो लाग्छ तर यहीँबाट दुःखको प्रारम्भ हुन्छ । के आफ्नो इच्छा अनुसार अरूको व्यवहार हुन सम्भव छ ? निश्चय नै छैन अनि अपेक्षा अनुसारको व्यवहार नपाउँदा मानिस दुःखी नै हुन्छ । आफूभित्रका अङ्गहरू, इन्द्रियहरू अनि आफैमा उत्पन्न हुने विचारलाई आफ्नो काबुमा राख्न असफल मानवले आफूभन्दा परको चिन्तामा डुबेर दुःखी हुनु के बुद्धिमानी हो ? अवश्य पनि होइन । त्यसैले आफ्नो सोच, व्यवहार राम्रो गर्नुस्, उचित कर्म गर्नुस् । अरूले जे गर्छ उसको बुद्धि, विवेकलाई छोड्नुस् । तपाईं परिणामको बारेमा चिन्ता गर्न छोड्नुस् । भनिन्छ, ‘शंकाले लंका जलाउँछ’ । चिन्ताले पाचन प्रक्रिया दुर्बल बनाउँछ । चिन्ताले मानसिक अस्थिरता ल्याउँछ, शरिरमा अस्वस्थता ल्याउँछ । अतः चिन्तालाई मानसिक एवं शारीरिक दुर्बलता मान्नुपर्छ । चिन्ताकै कारण मानसिक र शरिरका समस्याहरू उत्पन्न हुन्छन् । चिन्तित मानिस न कहिले हाँस्न सक्छ, न नाच्न सक्छ, रमाईलो गर्ने त धेरै टाढाको कुरा, समूहमा समेत रहन कठिन हुन्छ । वास्तवमा चिन्तित मानिस जीवनभर सुखी रहन सक्दैन, दुःखी नै रहन्छ । चिन्ताले निन्द्रा खान्छ, चिन्ताले भोक खान्छ । अतः चिन्ता दुःखको कारण हो । गौतम बुद्ध भन्नुहुन्छ, ‘बितेको समय गयो, त्यसको चिन्ता नगर, भविष्य त आउनै बाँकी छ, अहिले नै त्यसको विषयमा चिन्ता नगर् । मात्र वर्तमानको बारेमा सोच् र वर्तमानलाई राम्रो गर् । चिन्ता यस्तो रोग हो जसको कुनै उपचार छैन । चिन्ताले मानिसलाई भित्रभित्रै कमजोर बनाउँदैबनाउँदै समाप्त पार्छ । भनिन्छ ‘चिन्ताले चित्तामा पु¥याउँछ’ ।
यस विषयमा एउटा प्रसङ्ग उल्लेख गर्न चाहन्छुः दुईजना अत्यन्त मिल्ने साथीहरू जङ्गलको बाटो हिँड्दै थिए । दुबै जनालाई चर्को घामको कारण प्यास लाग्यो । उनीहरू एकछिन चौतारीमा आराम गरेर पानीको मुहान कतै पाइन्छ कि भनेर खोज्न थाले । चौतारीको मुन्तिर ढुङ्गेधारो रहेछ । दुबै जनाले एकएक गर्दै धारोमै हात थापेर पानी पिउन थाले । एक जना तृप्त भएपछि दोश्रोले पिउन थाले । पिउँदै गर्दा पहिलो साथीले ‘ए, ल ! तिमीले त सानो सर्प नै निलेछ । मैले ठ्याक्कै देखेँ, तिमीले देखेनौँ ?’ भनेर आश्चर्य व्यक्त गरेछ । वास्तवमा साथी जिस्किएको रहेछ । तर पानी पिउने साथीलाई वास्तवमै आफूले सर्प नै निलेछु, अब सर्पको विष लाग्ने भयो, के गर्ने होला ? भनेर चिन्ता लागेछ । ऊ धेरैपटक वाक्वाक् गर्न थाल्यो । उसले मलाई सञ्चो भएन, छिट्टो घर जाऊँ भनि साथीलाई अनुरोध ग¥यो । त्यति हुँदासम्म पनि साथीले वास्तविकता खोलेन, ऊ साथीलाई झुक्याउन सफल भएकोमा मख्ख पर्दै साथीलाई घरसम्म पु¥याई आफू घर गयो । चिन्तामा परेको साथीको बेलुकीदेखि पेट पोल्न थाल्यो, शरीर काम्न थाल्यो । उसलाई लाग्यो, अब विषले असर देखाउन थालिसक्यो, अब म मरिने भयो । उसलाई न भोक लाग्यो न निन्द्रा नै लाग्यो । ऊ मानसिक रूपमा यतिसम्म कमजोर भयो कि निन्द्रामै मरिने पो हो कि भन्ने चिन्ताले निदाउन समेत सकेन । अर्को साथी भोलिपल्ट हालखबर बुझ्न साथीको घरमा आयो । साथीको मानसिक र शरीरको अवस्था चिन्ताजनक देखेर उसलाई आफूले ठिक नगरेको महसुस भयोे र साथीलाई वास्तविकता खोलिदियो तर बिरामीले साथीको कुरामा विश्वास गरेन । उसलाई मेरो मनोबल बढाउन मात्र साथीले यसो भनेको हो, वास्तवमा मैले सर्प निलेकै हुँ भन्ने विश्वास टुटेन । उसको मस्तिष्कमा सर्प निलेको कुराको यति गहिरो छाप बनिसकेको थियो कि त्यति सजिलै हट्ने अवस्थामै थिएन । ऊ दिनदिनै मानसिक र शारीरिक रूपमा कमजोर हुँदै जान थाल्यो । साथीको बाँच्ने अवस्था नै नदेखेपछि झुठो बोल्ने साथी पनि चिन्तित भयो । उसले साथीलाई बचाउन अनेक उपाय सोच्यो । एकदिन ऊ मरेको सानो सर्प लिएर बिरामी साथीको घरमा गयो । उसले साथीलाई कुराकानीकै क्रममा हाछ्युऊँ लाग्ने घाँस सुँघ्न दियो । बिरामी साथीले तुरुन्तै जोडजोडले हाछ्युउँ गर्न थाल्यो । त्यसै मौकामा उसले मरेको सानो सर्प नदेख्ने गरी साथीको अगाडि फाल्यो र साथीलाई देखाएर हर्षित हुँदै भन्यो ‘निस्कियो, निस्कियो तिमीले अस्ति निलेको सर्प त निस्कियो, हेर मरिसकेको रहेछ । अब तिमीलाई केही हुन्न ।’ खुसी व्यक्त गर्दै विश्वास दिलाउने कोशिस ग¥यो । बिरामी साथीले हट्पट साथीको हातमा हे¥यो । साँच्चैको मरेको सर्प देखेपछि उसलाई निलेको सर्प निस्केको विश्वास लाग्यो र आनन्दले लामो स्वास लियो । उसलाई अब पूर्ण विश्वास भयो कि अब मलाई केही हुन्न । उसको चिन्ता समाप्त भयो । उसलाई अब भोक लाग्न थाल्यो र निन्द्रा पनि लाग्न थाल्यो । ऊ बिस्तारै मानसिक र शारीरिक रूपमा तन्दुरुस्त हुन थाल्यो । मानिसलाई चिन्ताले चित्तामा पु¥याउँछ भनेको यहि हो ।
चिन्ता मानसिक बिकृति मात्र होइन । चिन्ताले शारीरिक स्वास्थ्यमा पनि उतिकै नकारात्मक असर पु¥याउँछ । स्वास्थ्य विज्ञान अनुसार धेर चिन्ता वा तनावमा रहने व्यक्तिलाई अल्सर हुने सम्भावना प्रबल हुन्छ । उच्च रक्तचाप, उच्च सुगर, थाइराइडजस्ता निको नहुने रोग त अनिवार्य नै हुन्छन् । मुटुको अवस्था स्थिर हुन सक्दैन । यति मात्र होइन, चिन्ताले कपाल फुल्ने, कम्मर दुख्ने, बुढो देखिने, दाँत कमजोर हुने समेत अनुसन्धानकर्ताहरूको भनाई छ । सबैभन्दा खतरनाक त डिप्रेसनको सम्भावना उच्च हुन्छ । चिन्ताको कारण शरीरभित्र हार्मोनको अवस्था असन्तुलन हुने भएकोले पाचन प्रक्रियामा सिधा नकारात्मक असर पु¥याउँछ जसले गर्दा पाचन शक्ति ह्रास हुन्छ ।
चिन्ता कसरी उत्पन्न हुन्छ ? चिन्ता भय, ईष्र्या र भविष्यप्रतिको शंकाको कारण उत्पन्न हुन्छ । यसो भएमा के गर्ने ? उसो भएमा के गर्ने ? सिद्धिने भयो । कुटिने भयो, मारिने भयो, डुब्ने भयो, डुबाउने भयो जस्ता भययुक्त सोचले चिन्ता जन्माउँछ । मेरोभन्दा उसको राम्रो हुने भयो, उसले जित्ने भयो, उसले पाउने भयो, ऊ सफल हुने भयो । मानिसमा म त उसको सामू नराम्रो हुने भएँ, हार्ने भएँ, बेइज्जतै हुने भएँ, मेरो त गुम्ने भएँ, खतमै हुने भएँ जस्ता चिन्तन उत्पन्न हुनु राम्रो होइन । ईष्र्याको परिणाम चिन्ता हो । आफूले गरेको कुनै कार्य सफल होला कि नहोला, राम्रो भन्ला कि नभन्ला, सोचे अनुसारको परिणाम आउला कि नआउला जस्ता कमजोर सोच नै चिन्ता हो । त्यसैले विद्वानहरूको भनाइ छ ‘चिन्ताले आत्मविश्वास कमजोर बनाउँछ । कमजोर आत्मविश्वासले साहस हराउँछ । कसैले मेरो शरीरप्रति खिसी गर्छन् कि, नराम्रो भन्छन् कि, आफ्नो पहिरन कसैलाई मन पर्दैन कि, राम्रो लाग्दैन कि भन्ने सोचले ग्रस्त भयो भने समाजमा घुलमिल हुने साहस हराउँछ, घरबाट बाहिर निस्कन डराउँछ । मानिस पास फेलको परिणामको चिन्ताले त परीक्षामै सामेल हुने आँटै हराउँछ । ऊ परीक्षामै सामेल नभएपछि पास फेलको टन्टै साफ हुन्छ । चिन्ता कमजोर मनोवृत्ति हो जसका कारण मानिस भोग्दैभोग्दै अन्त हुन्छ । व्यापारीले व्यापारमा लाग्नु अगाडि नै सफल हुँदैन कि, डुब्छ कि भन्ने चिन्तामा पर्न थाल्यो भने व्यापार गर्ने आँट कसरी पैदा हुन्छ ? केही गर्नु पहिले नै परिणाम बिग्रियो भने के गर्ने ? म त बर्बादै हुन्छु, जस्ता कमजोर मानसिकताले प्रगतिको सम्भावनै रहँदैन । मानिसले होशियार हुनु, सम्भावित नकारात्मकता परिणामलाई विचार गर्नु नराम्रो होइन तर अगाडि बढ्न आँट नगर्नु खराब हो । नकारात्मकताले मात्र चिन्ता उत्पन्न हुने होइन, सकारात्मकता पनि चिन्ताकै उपज हो । जस्तो विदेश वा टाढा यात्रामा जानुअघि शुभकामना दिनु अशुभ हुने चिन्ताको उपज हो । त्यस्तै नयाँ घरमा प्रवेश गर्नु अघि शुभमुर्हुतमा पूजापाठ गर्नु, अशुभ हुने चिन्ताको उपज नै हो । परीक्षामा सामेल हुनुपूर्व सफल होस् भनि सगुन दिनु पनि परीक्षामा असफल हुने चिन्ता नै हो । हरेक अवस्थामा चिन्ता, हरेक चिन्तामा दुःख छ । अतः चिन्ता दुःखको कारण हो । क्रमशः