समस्या छ र त समाधान पनि छ

हरिराम महर्जन ‘ठेचो’

दुःख निवारण ः समस्या छ र त समाधान पनि छ । समस्या छ र त समस्याको कारण पनि छ । तर धेरै मानिस समस्याको समाधान खोज्नमा व्यस्त हुन्छन । मानिस समस्याको कारण नखोज्ने भूल गर्छन, बिना कारण समस्या पैदा नै हुँदैन भने तथ्यलाई नजरअन्दाज गर्छन । मानिस जीवनभर समस्याबाट मुक्त हुन सक्दैन । समस्याको समाधान खोज्दाखोज्दै समय बितिसकेको हुन्छ । उनीहरू टाउको दुख्यो भनेर हतारहतार दुखाई निरोधक औषधी सेवन गर्छन् । टाउको दुख्नुका कैयौँ कारण हुनसक्छन् तर कारण जान्ने प्रयासै नगर्ने भूल गर्छन् जसले गर्दा गलत उपचार गलत हुन्छ । गलत उपचारले पैसाको नोक्सान भएर औषधिको नकारात्मक असरले गर्दा समयको बर्बादी र समस्या झन जटिल बन्न सक्छ । 

दुःखको कारण इच्छा, कामना, आशक्तिको धेरै प्रभाव हो भने त्यसको नियन्त्रण नै दुःख निवारण हो । दुःखको कारण विभेदयुक्त सामाजिक ब्यवहार पनि हो भने उच्च मानविय ब्यवहारले पनि दुःख निवारणमा सहयोग पुग्न सक्छ । दुःख छ, दुःखको कारण पनि छ भने निश्चय नै दुःखको निवारण पनि छ । संसारमा दुःख छ, दुःखको कारण छ, कारणको निवारण छ र निवारणको उपाय छ । सर्व दुःखं, दुःख समुदाय, दुःख निरोध, दुःख निरोध मार्ग । यो संसारले स्विकार गरेको बुद्धको ‘चार आर्य सत्य’ हो । इच्छाका द्वार इन्द्रिय हुन्, यसैबाट काम, क्रोध, लोभ, मोह, अहंकार, भय, चिन्ता, ईष्र्या जस्ता विकारहरूको धेरै प्रभावको कारण मन भ्रमित हुन्छ र तरङ्गित भई अस्थिर हुन्छ । अस्थिरता अविश्वासको कारण उत्पन्न हुन्छ । विश्वास स्थिरता हो । यदि मानिस आफ्नो कर्मप्रतिको उत्तरदायी आफूलाई मान्छ भने उ स्वतन्त्र हुन्छ । यदि मानिस अरूलाई उत्तरदायी मान्छ भने ऊ परनिर्भर हुन्छ । परनिर्भर मानिसको लागि सुखको अनुभूति प्रायः असम्भव नै हुन्छ । हामीलाई क्षणक्षणमा भ्रमित पार्ने र भ्रमकै बाटोमा दोहो¥याउने तत्वहरू काम, क्रोध, लोभ, मोह, अहंकार नै हुन् । यी तत्वहरूले सधैँसधैँ नै हामीमाथि राज गर्ने प्रयास गरिरहेका हुन्छन् । कहिले कुनको प्रभाव सबल हुन्छ भने कहिले कुनको हुन्छ । यदि कोही आफ्नो दुःखको कारण अरू कसैलाई मात्र देख्छ र राम्ररी सोच्दैन भने उ कसरी दुःखबाट मुक्त हुनसक्छ ? किनभने अरूको परिवर्तन उसको वशमा छैन तर आफ्नो दुःखलाई हटाउन सकिन्छ । मानिसले केवल आफूलाई परिवर्तन गर्न सम्भव छ । वास्तवमा सम्पूर्ण दासत्वबाट मुक्तिको बाटो जागरुकता हो । जागरुकताले स्थिरता पैदा गर्छ । स्थिरता नै वास्तवमा दुःखबाट मुक्ति हो । गौतम बुद्धका अनुसार दुःखबाट मुक्तिको अवस्था ‘निर्वाण’ होे । 

मानिस सामाजिक प्राणी हो त्यसैले मानिसको व्यवहार समाजसँग जोडिएको हुन्छ, राज्यसँग जोडिएको हुन्छ । यदि समाज विभेदपूर्ण छ भने, राज्य प्रणाली अत्याचारी छ भने निश्चिय नै अमानविय परिस्थितिलाई स्विकार गर्न सकिन्न, उचित पनि हुन्न । यस किसिमको परिस्थितिले दुःख हुनु स्वभाविक हुन्छ । मानविय व्यवहार दुःख निवारणको उपाय हो । तसर्थ समाजमा परिवर्तन अनिवार्य छ । परिवर्तन आफूबाटै शुरु गर्नु पर्छ र समाज परिवर्तनको लागि पनि भूमिका खेल्नैपर्छ । चिन्तन गरौँ, भ्रममुक्त बनौँ, रूपान्तरणको लागि निरन्तर प्रयास गरौँ ।

चिन्तन ः चिन्तालाई चिन्तनमा बदल्नुस् । चिन्ताबाट मुक्त हुने उपाय भनेकै चिन्तालाई चिन्तनमा बदल्नु हो । परिणामलाई स्विकार गर्ने आँट गर्नु नै चिन्ताबाट मुक्ति हो । परिणाम सकारात्मक या नकारात्मक जे पनि हुनसक्छ । यसको परिणाम सकारात्मक भयो त ठिकै भयो, नकारात्मक परिणाममा पनि अझ प्रयासको आँट गर्नु, चिन्तालाई जित्नुपर्छ । गीतामा कृष्ण भन्नुहुन्छ, ‘कर्म गर फलको आशा नगर’ । कर्म अनुसारको फल, बिउ अनुसारको वृक्ष । सहि कर्म गर फल पनि सही नै हुन्छ, चिन्ता लिनुको कुनै अर्थ छैन । गौतम बुद्ध भन्नुहुन्छ, बितेको समय त गइसक्यो, त्यसको चिन्ता नगर । भविष्य त आउनै बाँकी छ, अहिले नै त्यसको विषयमा चिन्ता नगर । मात्र वर्तमानको बारेमा बिचार गर र वर्तमानलाई राम्रो गर ।’

हेर्दा चिन्ता र चिन्तन उस्तैउस्तै जस्तो देखिन्छ । चिन्ता र चिन्तनमा धेरै फरक छ । समाधानमुखी विचार चिन्तन हो । चिन्तन उर्जाशील हुन्छ, सृजनशील हुन्छ, जीवन्त हुन्छ । हार वा असफलताको डरयुक्त सोच चिन्ता हो । चिन्ता उर्जाविहिन हुन्छ । चिन्ता भ्रम हो, अज्ञान हो, दुविधा हो । वास्तवमा भ्रममुक्त अवस्थामा चिन्ता हुँदैन, चिन्तन हुन्छ । यसलाई उदाहरणबाट बुझ्ने प्रयास गरौँ । जागीरको लागि आवेदन गरेर जवाफको प्रतिक्षामा रहेको युवाको हातमा छनौटको पत्र पाउँदा स्वभाविक रूपमा प्रारम्भमा खुशी हुन्छन् । तर केही दिनपछि अन्तर्वार्ताको सामना गर्नुपर्ने परिस्थितिले चिन्तित बनाउँछ । अन्तरवार्ता कस्तो होला ? सामना गर्न सक्छ कि सक्दैन ? कस्तो खालको प्रश्न आउने होला ? बोल्नै नसक्ने पो हुन्छु कि, अन्तरवार्तामा सफल भएन भने परिवारले के भन्ला ? साथीहरूले के भन्लान् ? अनेक चिन्ताले डर उत्पन्न हुन्छ । डरले आत्मविश्वास हराउँछ । कमजोर आत्मविश्वासले निश्चय नै अन्तरवार्ता कमजोर बन्छ र असफल हुने सम्भावना प्रबल हुन्छ तर अन्तरवार्ताको लागि उत्कृष्ट तयारी कसरी गर्ने ? केके गर्न बाँकी छन् ? सम्भावित प्रश्नहरूको सामना गर्ने तरीका के हुनसक्छ ? कसो गर्दा सफलता मिल्छ ? अस्पष्ट विषयवस्तु केके छन् ? आदि चिन्तनले निश्चय नै मानिसको मनोबल उच्च बनाउँछ, आत्मविश्वास बढाउँछ । यस कार्यले अन्तरवार्ताको तयारी उत्कृष्ट बन्छ । उच्च आत्मविश्वासले अन्तरवार्ताको सजिलै सामना पनि हुन्छ र सफलताको ढोका खुल्छ । परीक्षामा जानुअघि नै परीक्षादेखि डराउनेले कसरी परीक्षाको सामना गर्न सक्छ ? केही गरी असफल भयो भने त खतमै भयो, नसक्ने भयो, डुब्ने भयो भनि चिन्ताले ग्रस्त विचार लिनु शून्य उपलब्धि हो । तर आफू असफल कसरी भएँ ? केके कमजोरी हुन गयो ? के चाहिँ सिक्न बाँकी रहेछ ? कहाँनिर गल्ती भयो ? भन्ने चिन्तन गर्न सक्यो भने अवश्य सफलता प्राप्त हुन्छ । कुनै बेला संकटको आभास हुँदा भय उत्पन्न हुन्छ । त्यतिबेला लौ बर्बाद हुने भयो, सकिने भयो भनेर थरथर कामेर लुरुक्क पर्नु चिन्ता हो । तर शंका किन आयो ? कोबाट आयो ? कहाँबाट आयो ? कसरी आयो ? कस्तो खालको संकट हो ? यसको सामना कसरी गर्न सकिन्छ ? भनेर मनन् गर्नु चिन्तन हो । चिन्ता जति ग¥यो, उति बढ्दै जान्छ, यो बढ्दैबढ्दै पुरा शक्तिहिन बनाउँछ । ‘चिन्ता उपचारविहिन रोग हो ।’ त्यसैले भनिन्छ, ‘चिन्ता चित्ता समान हुन्छ ।’ कुनै चिज गुम्यो, चाहेको प्राप्त भएन, कमाइ पुगेन, नाता सम्बन्ध तोड्यो, असफल भयो । किन ? कारण खोज्नुस् । आफूमा के कमजोरी रह्यो खोतल्नुस् । अरूसँग के चाहिँ फरक गुण रह्यो जुन आफूसँग छैन र जसको कारण अरूलाई सफलता मिल्यो । मनन् गर्नुस् अनि आफ्नो भूमिका निर्धारण गर्नुस् । यसैलाई चिन्तन भनिन्छ । हरेक नकारात्मकभित्र सकारात्मकता खोज्नु नै चिन्तालाई चिन्तनमा बदल्ने तरीका हो । त्यसैले विद्वानहरू भन्नुहुन्छ,‘असफलता नै सफलताको संकेत हो ।’ चिन्ता दुःख हो भने चिन्तन सुख हो । चिन्ता बर्बादी हो भने चिन्तन आबादी हो । चिन्ता शंका हो भने चिन्तन विश्वास हो । अतः दुःख निवारणको लागि मानव चिन्ताबाट मुक्त हुनैपर्छ । ‘चिन्तालाई चिन्तनमा बदल्नुछ, जीवनलाई सार्थक बनाउँनुछ ।’

(किन ? पुस्तकबाट साभार) क्रमशः



तपाइको प्रतिक्रिया दिनुहोस्