‘सफलता देख्नेहरू कहिल्यै प्र्रयास छोड्दैनन्, प्रयास गर्नेहरू कहिल्यै असफल हु“दैनन्’

3.6k Shares

हरिराम महर्जन ‘ठेचो’

दुःखलाई जान्यौँ । दुःखको कारण र दुःख निवारणको मार्ग पनि पहिचान भयो । अब त्यस मार्गमा निरन्तर अगाडि जानु छ । हामीले अगाडि बढ्नु छ । हामीसँग अर्को विकल्प छैन । निश्चिय नै मार्ग, राजमार्ग जस्तो सजिलो छैन र यस्तो हुँदैन । जीवनमा बाधाहरू छन् । मनलाई भ्रमित पार्ने थुप्रैथुप्रै मोडहरू छन् । कुनै कामका मोड, कुनै डरका मोड, कुनै सुविधाका मोड छन् । सबै खालका मोड भ्रमका मोड हुन् जसले मनमा कयौँ छालहरू उत्पन्न गर्ने प्रयास गर्छन् । हामीले अविचलित भई स्थिर बुद्धिविवेकले सिधा अगाडि बढ्नु छ । मानिस जतिजति पाइला सार्न सफल हुन्छ, उसलाई उतिउति सुखानुभूति हुन्छ । यसैलाई गौतम बुद्धले अष्टाङ्ग मार्ग भन्नुभयो । गीतामा कृष्णले स्थिर बुद्धि भन्नुभयो तर भन्न र लेख्न जति सजिलो छ, मार्ग त्यति सजिलो छैन । जीवनमा बाहिरी मार्ग भैदिएको भए जसरी पनि आफ्नो अनुकुल सजिलो बनाई हिँड्न सकिन्छ होला तर अन्तरमनको बाटोमा हिँड्नु निश्चिय नै कठिन छ । यो कठिन भएपनि असम्भव भने पक्कै छैन । यसैको कारण गौतम बुद्धले गृहस्थी त्याग गरी ध्यानमा लीन हुनुभयो र दुःखलाई जित्नुभयो । बाहिरी संसारमा न कुनै दुःख निरोध औषधि छ, न कुनै वरदानी भगवान छ, न कुनै तन्त्र छ न कुनै मन्त्र छ । जे छ आफूभित्रै छ, मनभित्रै छ । अतः अन्तर्मुखी भएर स्थिर बुद्धिले इन्द्रियहरूको प्रभावबाट मुक्त रहने निरन्तर प्रयास गर्ने बाहेक हामीसँग अर्को विकल्प छैन । मानिसमा आफूभित्रै दुःख छ, आफूभित्रै सुख छ । बाहिरी संसारमा न सुख छ न दुःख नै छ । अतः आफूभित्रको दुःखको कुवालाई खाली गरी त्यसमा सुखको अमृत भर्नुछ । हरपल सुखानुभूति, शान्त, स्थिर, आनन्दैआनन्द छ । यसको लागि प्रयास जरुरी छ । एकदिन, एकमहिना, एकवर्षको प्रयास प्रर्याप्त नहुन सक्छ । जीवनमा निरन्तर प्रयासको आवश्यकता हुन्छ । दार्शनिक सुकरात भन्नुहुन्छ, “सच्चा ज्ञान सम्भव छ, त्यसको लागि उचित प्रयासको जरुरत छ ।” प्रयास, निरन्तर प्रयास । प्रयासले जीवनमा अवश्य नै सफलता मिल्छ । यसै सन्दर्भमा केही वैज्ञानिकहरूको प्रसङ्गलाई यहाँ उल्लेख गर्न चाहन्छु ।

थोमस अल्भा एडिसन अहिलेसम्मकै सबैभन्दा बढि आविष्कार गर्ने वैज्ञानिक भनेर चिनिन्छन् । उनले ईलेक्ट्रिक बल्ब आविष्कारको लागि दश हजार पटकभन्दा धेरै प्रयास गरे । उनी दश हजार पटकभन्दा पनि बढि असफल भए तर उनले हरेक असफलतामा सफलताको सम्भावना देखे । उनी दश हजार बाटाहरू गलत भनेर प्रमाणित गर्न सफल भएकोमा खुसी हुन्थे । धेरै कठिन परिश्रमपछि एडिसनले बिजुलीबत्तिको आविष्कार गर्नमा सफलता हासिल गरे र दुनियाँलाई उज्यालो दिए । त्यस्तै विज्ञानका पिता भनेर चिनिने अल्बर्ट आईन्सटाइनले पनि सापेक्षतावादको सिद्धान्त ृभ् .ःऋद्दे पनि हजारौ पटकको असफलतापछि मात्र सफलता प्राप्त गरेका थिए । एकदिन उनका शिष्यहरूले निराश भएर ‘यति धेरै असफल भैसक्यो, सफल नहुने नै भयो, प्रयास नगरौँ’ कि भनेर साहस गरेर आइन्सटाइनलाई अनुरोध गर्न पुगे । शिष्यहरूको कुरा सुनेर आईन्सटाइन छक्क परे । ‘हरेक पटक हामी सफल भएका छौँ, कसरी तिमीहरूले असफल देख्यौ ? हामीले प्रयास गरेको अहिलेसम्मका सबै तरीकाहरू गलत साबित भए । अब नयाँ पुस्ताले यी हजारौँ तरीकाहरू अपनाउनु नपर्ने भयो । के यो सफलता होइन ?’ आइन्सटाईनको सकारात्मक सोचले शिष्यहरूको मन जित्यो र अन्तमा सफलता प्राप्त ग¥यो । स्टीफन हकिङ जसले न बोल्न सक्थे, न खान सक्थे, न चल्न सक्थे, न कुनै काम गर्न सक्थे तर एक्काइसौँ शताब्दीको अनौठो वैज्ञानिकको रूपमा चर्चित भए । त्यस्तै कालिदासलाई पत्नीले अपमान गरी घरबाट निकालेको घटना नकारात्मक थियो तर उनले पत्नीले आँखा खोलिदिइन भनेर सकारात्मक रूपमा लिए र कठोर परिश्रमपछि महाकवि बने । यी यथार्थ घटनाहरूले आत्मविश्वासका साथ परिणामप्रति सकरात्मक भई निरन्तर प्रयासबाट अवश्य पनि सफलता मिल्छ भन्ने सन्देश दिन्छ ।

हामी सबै बुद्ध बन्न नसकुँला, महावीर, कृष्ण, जीसस बन्न नसकुँला । हामी थोमस, अब्राहम लिङ्कन, आइन्सटाइन, स्टीफन हकिङ बन्न नसकौंला तर अन्तर्मुखी हुने प्रयास जरुर गर्न सकिन्छ । बुद्धले जस्तै गृहस्थी त्याग गर्नुपर्छ भन्ने छैन, महावीरले जस्तै वस्त्रत्याग गर्नुपर्छ भन्ने पनि छैन । सुकारातले जस्तै हेम्लक विष स्विकार गर्नु अनि जिससले जस्तै सुलीमा शरीर त्याग गर्नुपर्छ भन्ने पनि छैन । स्टीफन हकिङले जस्तै व्हिलचियरमा जीवन विताउनुपर्छ भन्ने पनि छैन । जीवनमा आईपर्ने घटनाहरुलाई सकारात्मक भई ग्रहण गर्ने प्रयास गर्न सकिन्छ । जीवनमा असफलताभित्र सफलता, प्रतिकुलतामा अनुकुलता खोज्न भने अवश्य सकिन्छ । सकारात्मक सोच सार्थक जीवनको एउटा बलियो पक्ष हो भने अर्को पक्ष भ्रममुक्त जागृत अवस्था हो । इन्द्रियहरूको माध्यमबाट उठ्ने अनेक तरङ्गहरुको कारण मन भ्रमित हुन्छ । भ्रमबाट मुक्त हुन एकाग्रता जरुरी हुन्छ । अतः केही समय बाहिरी संसारबाट मुक्त हुने प्रयास जरुर गर्न सकिन्छ । त्यसको लागि निश्चित समय छुट्याउनु अवश्य पनि जरुरी हुन्छ । कोशिस आवश्यक छ तर गर्ने कसरी ? प्रश्न उठ्छ । विद्वानहरू भन्नु हुन्छ, मनको एकाग्रताको अभ्यास सबैको लागि एउटै तरीका उपयुक्त नहुन पनि सक्छ । सबैले स्विकार गरेको सत्य चाँहि ध्यान हो । मनको स्थिरता कसैको लागि संगीत हुन सक्छ, कसैको लागि नृत्य हुन सक्छ, कसैको लागि चित्रकला, कसैको लागि कुनै तस्विर पनि हुन सक्छ । आफूलाई प्रिय लाग्ने कुनै वस्तु पनि मन एकाग्रताको माध्यम बन्नसक्छ । अहिलेसम्मकै सबैभन्दा उपयुक्त वैज्ञानिक तरीका ध्यान हो । मानिसले मन एकाग्रताको विषयमा थुप्रै तरीकाले प्रश्नहरू उठाउने गर्छन् । यो बिहानदेखि बेलुकीसम्मको मजदुरीले थकित भई घर फर्कने मजदुरको लागि कसरी सम्भव हुन सक्छ ? सम्पन्न वर्गको लागि मनको एकाग्रताको अभ्यास सम्भव हुनसक्छ । विपन्न वर्गको लागि यो अभ्यास कसरी सम्भव हुनसक्छ ? किसानका लागि साँझबिहान नभनेर दिनरात खेतबारीमा पसिना बगाउने कार्य कसरी सम्भव हुनसक्छ ? नोकरीमा जीवन बिताउने नोकरको लागि अनि व्यापार व्यवसायमा दिनरात खतिने व्यापारीको लागि कसरी सम्भव हुनसक्छ ? यति प्रश्नमा सिमित छैन । सबैभन्दा जटिल रूपमा देखापर्ने कुरा त अर्कै छ । मानिसको मनमा एकाग्रता आवश्यक छ । मानिसलाई परिवारको नाता सम्बन्धले बाधा पु¥यायो, सामाजिक सम्बन्धले बिगा¥यो । सांसारिक जीवन त्याग गर्न नसकेसम्म यो अभ्यासको नियमितता सम्भव छैन । यस प्रकारको विचार सबैभन्दा बढि हावी हुने विचार हो । यो सोच मनलाई सजिलै अस्थिर बनाउने बहिर्मुखी भ्रम हो । सिधा हेर्दा यो सोचमा वास्तविकता छ जस्तो लाग्छ तर यो सोच सही छैन, वास्तविकताबाट टाढा भाग्ने बहाना हो, आलस्यपन हो । दार्शनिक सुकरात भन्नुहुन्छ, ‘आलस्य भई जीवन बिताउनु आत्महत्या समान हो’। स्टीफन हकिङ भन्नुहुन्छ, ‘जीवन जति नै कष्टपूर्ण होस्, केही न केही गर्न सक्छन् र त्यसमा सफलता पनि पाउन सक्छन् ।’ ‘दुनियाँमा त्यस्तो कुनै काम छैन, जुन हामीले गर्न सक्दैन ।’ मानिसको मनमा जागरुकता चाहिन्छ, दृढसंकल्प चाहिन्छ । मानिसले भित्रदेखि उचित मानेर संकल्प गर्ने हो भने न कुनै सम्बन्धले रोक्नसक्छ, न कुनै व्यवहार या कामले छेक्नसक्छ । 

’जहाँ इच्छा त्यहाँ उपाय’ । यदि आफ्नो लागि, आफ्नो मनको एकाग्रताको लागि, सार्थक जीवनको लागि, सार्थक जीवनको लागि आफैले आफ्नै समयको व्यवस्थापन गर्न नसक्ने व्यक्तिले जीवनको व्यवस्थापन कसरी गर्न सम्भव हुन्छ ? यदि समयको व्यवस्थापन गर्न सक्नुभएन भने सुखको आशा पनि छोड्नुपर्छ र दुःखको गुनासो पनि छोड्नुपर्छ । सार्थक जीवनको कल्पना पनि त्याग्नुपर्छ । यदि यसो होइन भने हरेक दिनको केही समय आफ्नो लागि व्यवस्थापन गर्नैपर्छ र आफ्नो विचारलाई सकारात्मक बनाउनै पर्छ । मनको एकाग्रताको निरन्तर अभ्यास गर्दै जानुपर्छ । यही नै भ्रममुक्त जीवनको मार्ग हो, मनको एकाग्रताको मार्ग हो, सार्थक जीवनको मार्ग हो । आफू मात्र भ्रममुक्त भई जिउने सङ्कीर्ण सोच मुख्य बाधा हुन् । त्यसैले हामीले आफू सँगसँगै समाजलाई भ्रममुक्त बनाउने कार्यभार पनि लिनैपर्छ । जबसम्म समाज भ्रममुक्त रहँदैन तबसम्म सुखी जीवनको कल्पना गर्न अवश्य मुश्किल पर्छ । समाजलाई राजनीतिक रूपमा, धार्मिक रूपमा, सामाजिक रूपमा भ्रममुक्त गर्नैपर्छ । हामीसँग अर्को विकल्प छैन । 

छिनमा सुख छिनमै छ दुःख

यो त केवल मनको तरङ्ग

कहिले घाम त कहिले पानी

यहि त हो हाम्रो जिन्दगानी

स्थर छ बुद्धि स्थिर छ मन

शुद्ध छ चित्त स्वस्थ छ तन

न त वेग न त कुनै आवेग

न बन्धन न त कुने संवेग

श्रेष्ठ छ ज्ञान प्रज्ञा विज्ञान

मार्ग छ उत्तम अन्तरज्ञान

ज्योती बल्छ अशुर गमन

शून्य हृदय आनन्द जीवन 

क्रमश ः 

 
सम्बन्धित समाचार