धार्मिक सम्पदाको संरक्षण गरिँदै

पाल्पा । पूराना धार्मिक सम्पदा मास्ने क्रम बढीरहेको छ । आधुनिक खालका भवन धमाधम बन्दै छन् । ऐतिहासिक महत्व बोकेका धार्मिक सम्पदाको संरक्षण नहुँदा लोप हुने अवस्था छ । 

ऐतिहासिकता झल्काउने धार्मिक सम्पदा अस्तित्व नै नरहने गरी हटाउन थालिएको छ । पाल्पाको रामपुरमा रहेको ऐतिहासिक लक्ष्मीनारायण धर्मशाला (गुठी) को भवनलाई संरक्षण गर्दै पूरानै शैलीमा पुनःनिर्माण थालिएको छ ।

कालीगण्डकी बेँसीको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको धर्मशालामा २०७२ सालको भूकम्पबाट क्षति पुगेको थियो । त्यसको पौराणिक अस्तित्व बचाइ राख्न अहिले पूरानै शैलीमा पुनः निर्माणको काम धमाधम भइरहेको छ ।  लक्ष्मीनारायण गुठी सञ्चालन संस्थाको स्वामित्वमा धर्मशाला (गुठी) का रुपमा सञ्चालन हुँदै आएको थियो । पुरातत्व विभागको विशेष पहलमा करिब रु तीन करोड ६ लाख ५३ हजारको लागतमा पुनः निर्माणको काम चलिरहेको छ ।

पूरानो धर्मशाला भुइँतलासहित तीनतले ६ कोठा, दायाँ र बायाँ एक÷एक वटा बालापालीको थियो भने छानो झिँगटीको थियो । सोही स्वरुपमा नै श्री धर्म एस निर्माण सेवा प्रालिले २०७८ असार १६ गते ठेक्का सम्झौता गरी गत भदौदेखि निर्माण भइरहेको छ । विसं २०८० असारमा  निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

अहिले भवनको दोस्रो तलाको काम चलिरहेको छ भने हालसम्म करिव ३० प्रतिशत काम सम्पन्न भएको लक्ष्मीनारायण गुठी सञ्चालन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पूरानै ऐतिहासिकता झल्काउने बहुमुल्य काठका सामग्रीबाट भवन निर्माण भइरहेको छ, काठमाडौँदेखि निर्माण सामग्री ल्याएर काम गरिरहेका छौँ, पूरानै शैलीमा भवन बनाउनुपर्ने भएको हुँदा अनुभवी कामदार परिचालन गरिएको छ” ।

भवन निर्माण सकिएपछि यसलाई संग्रहालयका रुपमा विकास गरिने रेग्मीले बताउनुभयो । गाउँघरमा पहिले चलनचल्तीमा आएका पूराना काठजन्य वस्तुलाई संरक्षण गर्दै संग्रहालयमा राखिने भएको छ । पौराणिक समयमा धार्मिक तीर्थस्थलका नामले परिचित रामपुरको लक्ष्मीनारायण धर्मशाला (गुठी) तत्कालीन समयमा राजदरबारकै रुपमा चिनिने गरिन्थ्यो । हाल धर्मशाला जीर्ण अवस्थामा थियो ।

विसं १८७९ मा साविक रामपुर गाविस– ८ का समाजसेवी तुल्सीराम रेग्मीले गुठी निर्माण गर्नुभएको थियो । तत्कालीन समयमा यस क्षेत्रमा भित्रिने विशिष्ठ व्यक्तिको स्वागत, बसोबास र धर्मशालाका रुपमा गुठी निर्माण गरिएको हो । तत्कालीन समयमा बाटोमा हिँड्दा बटुवाका लागि बास बस्ने प्रयोजनका लागि गुठीको निर्माण गरी सोहीअन्तर्गत धर्मशाला बनाइएको थियो । टाढाको गन्तव्य तय गर्ने र दिनहुँ हिँड्नुपर्दा बीचमा बास बस्ने  व्यवस्था नहुँदा यही धर्मशालामा रात बिताउने र भोलिपल्ट आफ्नो गन्तव्यतर्फ लाग्ने गर्दथे ।

पछिल्ला वर्षमा सडक सुविधा, घर बस्ती बढेसँगै धर्मशाला प्रयोगविहीन भएपछि संरक्षणमा कसैको ध्यान जान सकेको थिएन । विसं २०७२ को भूकम्पले यसलाई क्षति गरेपछि यो जीर्ण थियो । पूरानै शैलीमा निर्माण गरिँदा नयाँ पुस्ताले पूराना कुरा सिक्ने र बुझ्ने अवसर मिल्ने बताउनुहुन्छ, स्थानीय विनोद पँंगेनी । “पूराना संरचना हटाउँदा इतिहास नै मेटिने हुँदा ऐतिहासिक महत्व बोकेका धार्मिक धरोधरलाई संरक्षण गर्न सकेमा यसैबाट आयआर्जन गर्न सकिने प्रशस्त सम्भावना छ” उहाँले भन्नुभयो ।

स्थानीयको जोडबलमा धर्मशालालाई पूरानै शैलीमा निर्माण गर्न थालिएको हो । धर्मशाला रामपुर नगरपालिका–४ खोप्टारस्थित राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको आडैमा रहेको छ । त्यसैले यहाँ संग्रहालयका रुपमा प्रयोग गरिँदा आयआर्जन समेत गर्न सकिनेछ । पूराना सांस्कृतिक, धार्मिक सम्पदाले नगरको पहिचान बनाउने र परिचालन राम्रोसंँग गर्न सकियो भने उत्कृष्ट धार्मिक पर्यटकीय स्थलका रुपमा चिनाउन सकिने हुँदा पुनः निर्माणमा जोड दिइएको रामपुर नगरपालिका– ४ का वडाध्यक्ष एकबहादुर नेपाली बताउनुहुन्छ । धर्मशालासँगै त्यस आसपासमा लक्ष्मीनारायण गुठी सञ्चालन समितिको नाममा झण्डै दश रोपनी जग्गा छ । रेग्मी परिवारका सदस्यबाट मात्रै सञ्चालन हुँदै आएको यस लक्ष्मीनारायण गुठी समुदायलाई हस्तान्तरण गरेपछि पनि पछिल्ला वर्षमा संरक्षणविहीन हुन पुगेको हो ।

गुठीमा पहिले टाढाका बटुवा तथा तीर्थयात्री दैनिक ३० जनाभन्दा बढी बास बस्ने गरेको यहाँका स्थानीयवासी बताउँछन् । ठूला शहर, भारतमा रोजगारी, अध्ययन या अन्य कुनै कामले यसतर्फ जाने रात परेपछि यहीँ बास बस्ने गर्दथे । बटौली (हालको बुटवल) बजारमा सामान लिन जानेका लागि पनि यही धर्मशाला बास बस्ने ठाउँ थियो । यहाँ बास बस्नेलाई खाना र बासको राम्रो प्रबन्ध थियो ।


तपाइको प्रतिक्रिया दिनुहोस्