फागुन १ देखि पशुपतिनाथको मन्दिर खुलाउने तयारी

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले आउँदो फागुन १ गतेदेखि पशुपतिनाथको मन्दिर खुलाउने तयारी गरेको छ ।

कोरोना संक्रमणदर घट्दै गएकाले मूल मन्दिरसहित अरू मन्दिरहरू भक्तजनलाई पूजाआजाका लागि खुला गरिने कोषले जनाएको छ ।

कोषका प्रवक्ता रेवतीरमण अधिकारीले फागुन १ देखि मन्दिर खुलाउने तयारी गरिएको जानकारी दिए । ‘‘नेपाल सरकारकै आदेशबमोजिम मन्दिर बन्द गरिएको थियो । फागुन १ गतेबाट विद्यालय, होटेल, रेस्टुराँहरू खुल्दै छन् । सोही क्रममा सरकारकै आदेशबमोजिम मन्दिर पनि खुला हुन्छ,” उनले भने ।

शिवरात्रि पर्व नजिकिएकाले त्यसको तयारी पनि सुरु गरिने कोषले जनाएको छ । कोरोना संक्रमण तीव्र गतिमा बढेसँगै गएको माघ ५ गते पशुपतिनाथ, गुह्वेश्वरी, चन्द्रविनायकलगायत मन्दिरमा नित्य पूजा मात्र गर्ने गरी भक्तजनका लागि बन्द गरिएको थियो ।


तपाइको प्रतिक्रिया दिनुहोस्