सुर्खेत, ४ बैशाख । र्खेत वीरेन्द्रनगर नगरपालिकाको विमानस्थल नजिकै सडकमा काम गर्ने रमिता बुढालाई स्थानीय तह निर्वाचनका विषयमा कुनै जानकारी छैन । उनी विहान ७ बजे सडकको काम गर्न विहानै धुलाम्य सडकमा पुग्छिन् । बेलुकी अबेर सडकबाट कोठामा पुग्छिन् । उनीसँग न त कुनै सञ्चारका माध्यम छ न समाचार सुनाइदिने कोही छन् ।
तीन छोरी र एक छोराकी आमा रमिता उज्यालो हुँदा काममा पुगिसक्छिन र अध्यारो भएपछि मात्रै कोठामा पुग्छिन् । काम गरिरहेको सडक हुँदै पार्टीका झण्डा राखेका यातायातका साधन गुडेको देखे पनि उनीहरूले उडाएको धुँवा धूलोबाहेक अन्य केही नदेखेको उनी बताउँछिन् ।
नेता पनि खास कार्यकर्ताहरूको घरमा बसेर योजना बनाएको र खासखुस गरेको मात्र देखिन्छ । तर खास मतदातासम्म नेताहरू नपुगेको उनको भनाइ छ । कुन दलले के गरेको उनलाई थाहा छैन, थाहा छ त राजा फाल्दा आन्दोलनमा गएको मात्र ।
उनी जस्तै जाजरकोट भेरी नगरपालिका–२ की काली पुनको दैनिक गिटी कुट्दैमा बित्छ । उनलाई भोट खसाल्नेभन्दा पनि विहान र बेलुकीको छाक कसरी टार्ने भन्ने ठूलो चिन्ता छ ।
छोराछोरी पढाउने र शारीरिक रुपमा अशक्त श्रीमान दलबहादुर पुनलाई पेटभरी खाना, शरीर भरी कपडा कसरी पुर्याउने भन्ने चिन्ता छ । पाँच छोराछोरीकी आमा एक्लै कमाउने र घरधन्दा गर्नुपर्ने बाध्यता छ ।
अहिले विपन्न तथा निम्न वर्गका सर्वसधारणलाई चुनावभन्दा पनि जीवन कसरी पाल्ने भन्ने मुख्य कुरा भएको स्थानीयवासी बताउँछन् । ‘हामीहरूलाई दलको रंग दिँदा मनमा पीडा हुन्छ हामी कसैका पनि होइनौँ,’ स्थानीय सेतो कुलालले भने, ‘हामीलाई रोजीरोटी चिन्ता छ, भोट त तपसिलका कुरा हुन्न ।,’
कर्णाली प्रदेशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा मिडियाको पहुँच कम हुनुको साथै सञ्चारसम्पर्क समेत न्युन भएका कारण तोकिएकै समयमा सूचना पाउन मुस्किल छ ।
गरिबको नाममा मुठीभरीका व्यक्तिको रजाइ गर्दा आम नागरिक मर्कामा परेको छन् । स्थानीय तहको निर्वाचनमा समेत तिनै मुठीभरीका व्यक्ति परिचालित भएर सर्वसाधारणको आँखामा छारो हालिरहेको पीडितहरूको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्