‘नर्स एउटा भगवानको रुप हो’

जिन्नी महर्जन, नर्सिङ डाइरेक्टर, सुमेरु अस्पताल, धापाखेल

दुई दशक अगाडिदेखि नर्सिङ पेशामा लाग्नुभएकी जिन्नी महर्जन सुमेरु अस्पताल, धापाखेलमा स्थापना कालदेखि नर्सिङ पेशा अंगाल्दै हाल नर्सिङ डाइरेक्टरको सफलतापूर्वक भूमिका निर्वाह गरिरहनुभएको छ ।

सानै उमेरदेखि आफूलाई नर्सिङ क्षेत्र मनपर्ने र आफू पनि नर्स बन्ने चाहना अनुसार परिवारको सहयोगले आफू नर्सिङ पेश अंगाल्न सफल भएको महर्जन बताउनुहुन्छ । 


अशक्त विरामीहरुको नर्सहरुले सेवा गरेको देख्दा आफू पनि नर्स भई अशक्त विरामीहरुको सेवा गर्न पाए हुन्थ्यो भन्ने आफ्नो भित्री चाहना भएकै कारण आफूले नर्सिङ पेशालाई रोजी नर्स बन्ने सपनालाई पूरा गरी असहाय विरामीहरुको सेवामा लाग्ने प्रण गर्दै नर्सिङ पेशालाई निरन्तरता दिइरहेको जिन्नी महर्जन बताउनुहुन्छ ।  अहिले आएर आफ्नो चाहना अनुसार आफूले देखेको सपना पूरा हुनुका साथै सक्षम नर्स हुन पाएकोमा आफूलाई साह्रै नै सन्तुष्टि मिल्नुका साथै खुसी र गर्व महसुस भएको महर्जन बताउनु हुन्छ ।


वास्तवमा अस्पतालमा एउटा विरामी उपचारको लागि आउँदा अस्पतालका डाक्टर, नर्सलगायतका टिमहरुको एउटा उद्देश्य भनेको विरामीको रोग पत्ता लगाई विरामीलाई कसरी हुन्छ छिटो निको पारी घर पठाउने भनेर लागि परिरहेका हुन्छन् । अशक्त विरामी अस्पतालका सबै टिमको मेहनतबाट निको भई हामीले गरेको कामलाई प्रशंसा गर्दै विरामी घर फर्किनुहुन्छ त्यो बेलाको क्षण सबैभन्दा खुसीको क्षण भएको मलाई अनुभूति हुन्छ । सोही कारणले गर्दा पनि हामीहरुलाई जस्तो सुकै सिरियस विरामी उपचारका लागि अस्पताल आएपछि उपचारमा खटिन, सेवा दिन झन् उर्जा मिल्नुका साथै विरामीको निरन्तर सेवामा लागिरहन प्रेरणा मिल्ने र आफूले गरेको कार्य सफल भएकोमा आत्मसन्तुष्टि पनि मिल्ने गरेको जिन्नी बताउनुहुन्छ । 


स्थापनाकालदेखि नै सुमेरु अस्पताल धापाखेलमा कार्यरत रहँदै गर्दा आफूलाई आत्मसन्तुष्टि मिलेको नर्सिङ डाइरेक्टर जिन्नी महर्जन बताउनुहुन्छ, ‘यस अस्पतालमा कार्य गर्ने क्रममा मैले अस्पतालमा एक प्रकारको पारिवारिक वातावरणमा काम गर्ने अवसर पाइरहेको र काम गर्ने वातावरण भएकोले  सन्तुष्टि मिलेको छ ।’ पारिवारिक वातावरणमै काम गर्ने माहोल भएकै कारणले पनि लामो समयदेखि डायलासिस सेवाका लागि अस्पताल आइरहने विरामीहरुलाई भेटिरहँदा आफूलाई परिवारको एक सदस्य भेटे झैं लाग्ने महर्जन बताउनुहुन्छ । 


वास्तवमा नर्सिङ पेशामा लाग्नेहरुको आफ्नो व्यक्तिगत जीवन भने खासै नहुने र परिवारलाई समेत समय दिन नसक्ने पेशा भएको महर्जन बताउनुहुन्छ । नर्सको बढी समय आफ्नो घर परिवारसँग भन्दा पनि अस्पतालमा उपचारका लागि आएका बिरामीको सेवामा वितिरहेको हुन्छ । विरामीको सेवाका लागि नर्सलाई चाहिने हरेक कुराको दक्षता र अनुभव बटुल्नुपर्ने हुन्छ । नर्सले जस्तोसुकै इमरजेन्सी अवस्थामा आएका विरामीलाई ह्यान्डलिङ गरी विरामीलाई सेवा दिनुपर्ने हुन्छ । त्यसैले इमरजेन्सीमा आएको विरामीलाई व्यवस्थित गर्नुका साथै जेनरल वार्डका विरामी र कुरुवासँग बसेर कसरी सेवा दिने, आईसीयुमा उपचार गराइरहेका अशक्त विरामीलाई कसरी हेरचाह गर्ने, ओटीमा चोटपटकदेखि लिएर शल्यक्रियाका लागि आएका विरामीको उपचारमा कसरी व्यवस्थापन गर्ने आदि कुरामा नर्स दक्ष हुनुपर्ने हुन्छ ।


दक्ष अनुभवी भएको नर्सले इमरजेन्सीदेखि लिएर अन्य अवस्थाका विरामीहरुको पनि व्यवस्थापन गर्न सक्ने आत्मविश्वास  हुनुका साथै दक्ष र आत्मविश्वाससहितको नर्स हुन्छ । नर्सिङ पेशा अप्नाएका नर्सहरुले आफ्नो क्षमता वृद्धिविकासका लागि पढाईमा पनि निरन्तरता दिनुपर्ने महर्जन सुझाव दिनुहुन्छ । 

नर्सको कार्य भनेको जुनसुकै समयमा विरामीलाई प्रत्यक्ष निगरानी डाक्टरको सल्लाह अनुसार समय—समयमा औषधी खुवाउनेदेखि लिएर विरामीको हरेक गतिविधिमा नर्स संलग्न हुनुपर्ने हुन्छ । अस्पतालमा भर्ना भएका विरामीको प्रत्यक्ष निगरानी नर्ससँगै हुने भएका कारण विरामीलाई कसरी छिटो निको पार्ने डाक्टरदेखि लिएर नर्सको पनि त्यतिकै भरपर्ने हुन्छ ।

झण्डै २५ वर्षको नर्सिङ पेशाको यात्रामा धेरै नै गम्भीर खालका विरामीहरुको उपचारका क्रममा थुपै्र चुनौतिको पनि सामनाहरु आफूले गर्नुपरेको अनुभव जिन्नीले खोजतलासलाई बताउनुभएको छ ।

मानिस जिउनका लागि मुटुको जति आवश्यक छ त्यति नै अस्पताल संचालनको लागि नर्सको त्यति आवश्यकता पर्छ । नर्स बिना अस्पताल सञ्चालनको कल्पना पनि गर्न नसकिने जिन्नी बताउनुहुन्छ ।

समाजमा नर्सिङ पेसाप्रतिको सम्मान उच्च छ । संवेदनशील पेसा भएका कारण नर्सको जिम्मेवारी धेरै ठूलो छ । ठूलो जिम्मेवारी बहन गर्ने नर्सहरू स्वयम् कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहिरहेको अवस्थामा पनि परिवारको र आफ्नो ज्यानको परवाह समेत नगरी विरामीहरुको सेवामा समर्पित रहिरहे । कोरोना भाइरसको पहिलो र दोस्रो लहरमा दैनिक सयौं मानिसहरुले ज्यान गुमाइरहेको अवस्थामा पनि आफ्नो घर परिवारलाई बिर्सेर ज्यानको समेत परवाह नगरी विरामीको सेवामा निरन्तर लागिरहेका थिए । त्यसबाट के प्रमाणित हुन्छ भने नर्स साँच्चैकै एक भगवानको रुप हो भनेर । 

दैनिक हजारौं कोरोना भाइरस संक्रमण बढिरहेको र सयौं कोरोना भाइरस संक्रमितको मृत्यु भइरहेको अवस्थामा पनि कोभिडका बिरामीको डाक्टरको सल्लाह अनुसार रेखदेखदेखि औषधि उपचारको जिम्मेवारी बहन गरिरहेका थिए नर्सहरुले । नर्स पनि त मानिस नै हो नि, कोरोना भाइरसका कारण कति स्वास्थ्यकर्मीसमेतले ज्यान गुमाइरहेको र अस्पताल नै छिर्नसमेत नसक्ने अवस्थामा मृत्युसँगसमेत नडराई नर्सहरुले धेरै कोभिडका विरामीहरुलाई बचाएको नर्स डाइरेक्टर महर्जन बताउनुहुन्छ । 

समाजमा नर्सिङ पेशालाई जति पनि सम्मान गरिन्छ, त्यो अनुसार नेपालमा सेवा सुविधा नभएकै कारण सक्षम नर्सहरु बाध्य भएर विदेशिएका छन् । विदेशमा नर्सिङ पेशालाई सम्मानका साथै प्रयाप्तरुपमा सेवा सुविधा हुने भएकै कारण पनि आफ्नो भविष्य सुनिश्चितताको लागि विदेशमा नेपाली नर्सहरु पलायन हुने गरेका छन् । नेपालमा दक्ष नर्सहरुले रातदिन नभनी विरामीको सेवामा लागिरहे पनि उनीहरुले खटे अनुसार र योग्यता अनुसार पारिश्रमिकदेखि लिएर सेवा सुविधाबाट समेत बञ्चित हुने गरेकै कारण दक्ष, अनुभवी नर्सहरु विदेशिन बाध्य भइरहेको महर्जन बताउनुहुन्छ । 

लामो समय नर्सिङ पेशा अंगाल्दै आइरहनु भएकी जिन्नी महर्जनलाई आफूले विरामीलाई सेवा गरिरहेको अवस्थामा विरामी घर फर्काउन नसकीे मृत्यु भएको अवस्था र आफूले नर्सिङ क्षेत्रमा जानेका कुराहरु सिकाई सक्षम नर्स बनाई आफूसँगै काम गरिरहेका नर्स बहिनीहरुसँग हुने विछोडमा आफूलाई निक्कै नै दुःख लाग्ने गरेको अनुभव सुनाउनुहुन्छ । 



तपाइको प्रतिक्रिया दिनुहोस्