जुम्ला, १२ जेठ । आयुर्वेद स्वास्थ्य केन्द्र जुम्ला पाँच महिनादेखि कार्यालय प्रमुखविहीन बनेको छ । तत्कालिन कार्यालय प्रमुख देवेन्द्र ठाकुरको सरुवा भएसँगै गत पुसदेखि केन्द्र प्रमुखविहीन भएको हो ।
पाँच महिनादेखि कार्यालय प्रमुख नहँुदा केन्द्रले नियमित रुपमा दिँदै आएका सबै सेवा प्रभावित भएको छ । ठाकुर पुसमा सरुवा भएर जाजरकोट गएका थिए । आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटले उनलाई हाजिरी हुन नदिएपछि फेरि १ चैतसम्म जुम्लामै हाजिर गरे । जुम्लामा हाजिर गरे पनि रमना लिइसकेकाले तलब नपाएपछि उनी सुर्खेत गएका थिए ।
केन्द्रका वैद्य गोर्खबहादुर रावतका अनुसार प्रमुख नहँुदा करारका कर्मचारीले पाँच महिनादेखि तलब समेत पाएका छैनन् । उनले भने ‘केन्द्रमा १५ जना कर्मचारी छन् । जसमध्ये १३ जना करार कर्मचारी छन् ।’
उनी अहिले कार्यालय प्रमुख पठाइदिन भन्दै कर्णाली प्रदेशको राजधानी सुर्खेत धाइरहेको बाताए । तर कार्यालय प्रमुख पठाउने बारे सुनुवाइ नभएका उनको भनाइ छ । उनले भने, ‘सामाजिक विकास मन्त्रालय सहितका सरोकारवाला निकायमा कार्यालय प्रमुख व्यवस्था गरिदिन सात पटक पत्र समेत पठाए । पत्रमार्फत सुनुवाइ नभएपछि आफै प्रदेश राजधानी पुगेँ । प्रमुख नपठाउँदा आयुर्वेदका सबै काम प्रभावित छन् । सेवाग्राहीलाई औषधि तथा आवश्यक सामग्री दिन सकेको छैन ।’
वैद्य रावतका अनुसार मन्त्रालयले केही सयमअघि एउटा पत्र दिएको थियो । उक्त पत्रअनुसार तलबभत्ता, पोषाक, घरभाडा, बत्ती, बिजुली महशुल शीर्षकमा खर्च गर्न सकिनेछ । तर करारका कर्मचारीलाई भने तलब दिन नपाउने व्यहोरा उल्लेख छ ।
गत आर्थिक बर्ष पनि कार्यालय प्रमुखकै कारण काम गर्न नसकेर १२ लाख फ्रिज भएको थियो । कार्यालय प्रमुख नहुँदा आयुर्वेद स्वास्थ्य केन्द्र धरापमा पर्ने अवस्थामा पुगेको स्थानीयवासीको चिन्ता छ । स्थानीय राजुशरण न्यौपानेले ठूलो उद्देश्यका साथ स्थापना भएको संस्था कर्मचारीकै कारण जीर्ण बन्ने अवस्थामा पुग्नु दुखद् भएको बताए ।
सामाजिक विकास मन्त्रालयका आयुर्वेद चिकित्सक लक्ष्मी नारायण तिवारीका अनुसार चाडैनै समस्या सामाधान हुने आशा गरेको बताए । मन्त्रालयका सचिवलाई समस्या बारे जानकारी गराएको उनको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईका अनुसार आयुर्वेद अस्पताल पहिलादेखिनै अस्तव्यवस्त रहेकोले व्यवस्थि त गर्न प्रदेश सरकारलाई जाकारी गरेको बताइन । उनले भनिन्, ‘अरु काम पूरा हुने सम्भावना त न्युन छ तर करारका कर्मचारीको तलबको बिषयमा कुरा भएको छ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्