नेपाल र अमेरिकाविरुद्धको खेल टाई

काठमाडौं,जेठ २९ । अन्तिम ओभरमा अमेरिकालाई ६ बलमा ६ रन आवश्यक थियो । क्रिजमा थिए, आरोन जोन्स र राहुल जरिवाला । जोन्सले २४ बलमा २४ रन बनाएका थिए भने जरिवालाले १३ बलमा ८ रन बनाएका थिए । 

त्यस्तो अवस्थामा अमेरिका जित नजिक थियो । करण केसी र सोमपाल कामीको ओभर पनि बाँकी थियो । तर, कप्तान सन्दीपले डेब्यू गरेका आदिल अन्सारीलाई विश्वास गरे । अन्तिम ओभर आदिलले गरे । कप्तानको विश्वासलाई आदिलले सही सावित गरिदिए । डेब्यू गरेका आदिले नेपालका लागि यादगार ओभर बलिङ गरे । उनले पाँच रनमात्र दिएर दुई विकेट लिए । खेल बराबरीमा सकियो । हार नजिक रहेको नेपाल एक अंक खोस्न सफल भयो । 

आदिलले पहिलो तीन बलमा एक/एक रन दिए । चौथोमा ‘नो बल’ फाले । फेरी एक मात्र दिए । त्यसपछि पाँचौं र छैटौं बलमा लगातार विकेट लिएपछि नेपाल हारबाट जोगियो । 

आदिलले ९ ओभरमा ४५ रन दिएर तीन विकेट लिए । त्यसअघि उनले ब्याटिङतर्फ पनि २४ बलमा ३ चौका र दुई छक्कासहित ३६ रन बनाएका थिए । उनै आदिल ‘म्यान अफ द म्याच’ घोषित भए । 

अमेरिकामा टेक्ससको ह्युस्टनस्थित मुसा क्रिकेट मैदानमा आसिफ शेख, देब खनाल र रोहितकुमार पौडेलले अर्धशतक बनाएपछि नेपालले शनिबार राती आईसीसी क्रिकेट विश्वकप लिग–२ मा अमेरिकालाई जितका लागि २७५ रनको लक्ष्य पेश गरेको थियो । नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । त्यसपछि ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २७४ रन बनाएको हो । अमेरिकाले पनि ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन नै बनाएपछि खेल बराबरी भएको हो । 

खेल टाई भएपछि अमेरिकाले २२ खेलबाट २१ अंक जोडेको छ भने नेपालले १४ खेलबाट १३ अंक जोडेको छ । ३४ खेलबाट ४२ अंक जोडेको ओमान शीर्ष स्थानमा छ । अमेरिकामा जारी त्रिदेशीय शृंखलामा नेपाल पहिले खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो भने अमेरिकाले ओमानलाई ११४ रनले हराएको थियो । 

अमेरिकाका ओपनर स्टेभन टेलरले सबैभन्दा धेरै ११४ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । टेलरले पहिलो विकेटका लागि सुशान्त मोदानीसँग २६ र दोस्रो विकेटका लागि मोनांक पटेलसँग २०० रनको साझेदारी गरेका थिए । त्यस्तै टेलरले तेस्रो विकेटका लागि जोन्ससँग पनि ११ रनको साझेदारी गरे । 

मोदानीले १७ र पटेलले ८५ रन बनाए भने टेलरले १२३ बलमा ११ चौका र तीन छक्कासहित ११४ रन बनाएका थिए । जोन्सले २६ रन बनाए । जगानन्द सिंहले चार रन बनाए भने जरिवालाले १० रन जोडे । 

नेपालका आदिलले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीपले एक एक विकेट लिए । 

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालका लागि रोहितकुमारले सबैभन्दा धेरै ६२ रन बनाए । आसिफले ६१ रन बनाउँदा देबले ५४ रन बनाए । डेब्यू गरेका आदिल अन्सारीले ३६ रन बनाए । कुशल भुर्तेलले १९ रन बनाए । कप्तान सन्दीप लामिछानेले १० रन बनाए । आरिफ ८ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र सुशन भारीले एक रन बनाउँदा करण केसी शुन्यमा पवेलियन फर्किए । सुशन अविजित रहेका थिए । 

अमेरिकाका रुस्टी थेरोनले चार विकेट लिए । अली खान र सौरभ नेत्रभालकरले समान दुई विकेट लिए । निसार्ग पटेल र यासिर मोहम्मदको नाममा एक एक विकेट रह्यो । 


तपाइको प्रतिक्रिया दिनुहोस्