देउवा र ओलीबीच शक्तिराष्ट्रलाई कम्फर्टेबल बनाउने प्रतिष्पर्धा

2.4k Shares

काठमाडौं । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शक्तिराष्ट्रलाई नेपालमा कम्फर्टेबल बनाउने प्रतिष्पर्धा नै चलेको छ । उनीहरु देश हितमा पनि बाह्य शक्तिलाई खुशी पार्न र उनीहरुको हितको मार्ग खोल्न प्रतिष्पर्धा गरिरहेका छन् । यसले देशमा विदेशी चलखेल व्यापक बढेको छ । कुनैपनि बेला ठूलो दुर्घटनाको खतरा बढेको छ । 

यसै पनि नेपाली राजनीतिमा कम्फर्टेबल शब्द निकै विवाद र चर्चामा आयो । यो शब्द नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत वर्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्नु अघि कुनै देश विशेषका लागि पनि कम्फर्टेबल हुने गरी सरकारमा देशभित्रको एउटा शक्तिलाई समेट्ने कुरा गर्दा प्रयोग गरेका थिए । यो शब्द अझै पनि नेकपा एमालेका नेताहरुले वर्तमान सरकारको आलोचना गर्दा प्रयोग गर्छन् । 

वास्तवमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उत्तरी छिमेकी चीनलाई कम्फर्टेबल भएको खुलिसकेको छ । ओली स्वयंले चीनसँगको सम्झौता देखि उत्तरतिर बाटो र नाका खुलाउन आफ्नो पालामा काम भएको गर्वका साथ बताउने गरेका छन् । उनकै कार्यकालमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गरे । नेपालमा चिनियाँ कम्युनिस्ट पार्टीका प्रभावशाली अधिकारीहरुको दौडधूप निकै चल्यो । सैन्य तहमा पनि भ्रमण बाक्लो भयो । ओलीको कार्यकाल चिनियाँहरुका लागि सबैभन्दा सहज अवसर बन्यो । चीनले आफ्नो देशका निर्माण कम्पनीहरुलाई पनि नेपालमा ठेक्काहरु दिलाउन सफल भयो । माथिल्लो तामाकोशी, मेलम्ची, फाष्ट ट्रयाकलगायतको निर्माणको ठेक्का चिनियाँ कम्पनीले नै पाए । यसबाहेक कतिपय ठूलो आयोजनामा पनि चिनियाँ कम्पनी नेपाल आए । एकातर्फ, ओलीले भारतको आलोचना गरिरहे अर्कोतर्फ चीनका लागि कम्फर्टेबल अवस्था सृजना गरिदिए । नेपालमा चीनको प्रभाव ह्वात्तै बढ्यो । 

सत्ताबाट ओली हट्नुमा आन्तरिक र बाह्य कारण दुवै रहेको खुल्न थालिसकेको छ । उनले तत्कालीन नेकपाभित्रको विवाद व्यवस्थापन गर्न सकेनन् । शुरुमा प्रचण्ड र त्यसपछि माधवकुमार नेपाल फुटे । बहुमतको नेकपा फुटेर तीन टुक्रा भयो । कुनैपनि चिनियाँ कम्युनिस्ट पार्टीसँग संयुक्त प्रशिक्षण गर्ने नेपाल कम्युनिस्ट पार्टीको अस्तित्व नै रहेन । नेकपा नै खारेज भयो । पुरानै अवस्थाको एमाले र माओवादी केन्द्र ब्युँतियो । एमाले फुटेर नेकपा एकीकृत समाजवादी पार्टी बन्यो । नेकपा फुटेपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भाग्योदय भयो । ज्योतिषले ७ पटक प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेका भनिएका देउवा पाचौंपटक प्रधानमन्त्री बने । उनको कार्यकालमा अमेरिकी सक्रियता बढ्न थाल्यो । एमसीसी सदनबाट पारित गराउन अमेरिकी अधिकारी नेपाल आउन थाले । 

एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपाल आएर सदनबाट यो विकास परियोजना पारित गराउनेबारे छलफल गरिन् । त्यसपछि अमेरिकी उपमन्त्री डोनाल्ड लु नेपाल आएर यसै विषयमा छलफल गरे । उनले अमेरिकामै बसेर नेपाली नेताहरुमाथि टेलिफोन संवादमार्फत् दबाब दिएको विषय पनि खुल्यो । स्वयं माओवादी अध्यक्ष प्रचण्डले यसको खुलासा गरे । 

एमसीसीको विरोध गरिरहेका दलहरु नै यु टर्न भए । प्रचण्ड र माधवकुमार नेपाल यु टर्न भएर एमसीसी पारित गराउने कदमका सहयोगी बने । अमेरिकाले नेपाल मामलामा बाजी मा¥यो । देउवाले ठूलो राजनीतिक जीतको अनुभव गरे । अमेरिकी अधिकारीहरुको नेपाल भ्रमण बाक्लो हुन थाल्यो । अमेरिकी उपसहायकमन्त्री उज्रा जीया नेपाल आइन् । उनी भारत हुँदै नेपाल आएर शरणार्थी शिविरमा पुगिन् । यो घटनाले तरंग नै लयायो । अमेरिकी सांसदहरुको अहिलेसम्मकै ठूलो टोली नेपाल आयो । अमेरिकाको एशिया प्रशान्त क्षेत्र हेर्ने कमाण्डर जनरल माइक ए फ्लिन नेपाल भ्रमणमा आए । प्रधानसेनापति प्रभुराम शर्माको असारमा अमेरिका भ्रमण तय भएपछि फ्लिन नेपाल आएका हुन् । उनी भारत भ्रमण गरी नेपाल आएका थिए । कतिपयले यसलाई नेपाल हिन्द प्रशान्त सैन्य रणनीतिको छातामुनी अघोषित रुपमा पुगेको टिप्पणी पनि गरे । यी सबै देउवाको कार्यकालमा भए । उनी आफै अमेरिका भ्रमणमा जाने भएका छन् । यसरी देउवाको कार्यकालमा नेपाल मामलामा अमेरिकालाई कम्फर्टेबल भएको छ । ओलीको पालामा चीनलाई कम्फर्टेबल भए जस्तै देउवाको पालामा अमेरिकालाई भएको छ । उनीहरु यसका लागि कडा प्रतिष्पर्धामा छन् । 


सम्बन्धित समाचार